
सुर्खेत- कर्णाली प्रदेशमा अझै पनि ३५ प्रतिशत महिलाहरू सुत्केरी हुँदा अस्पताल पुग्दैनन् । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार, प्रदेशभर झण्डै एकतिहाइ महिलाले घरमै सुत्केरी गर्ने गरेका छन् । यसरी घरमै सुत्केरी गर्ने प्रवृत्तिले आमा र बच्चाको जीवनलाई गम्भीर जोखिममा पुर्याइरहेको छ । परिणामस्वरूप, कर्णालीमा प्रति एक लाख जीवित जन्ममध्ये मातृमृत्युदर १७२ रहेको छ, जुन अन्य प्रदेशको तुलनामा निकै उच्च हो ।
गर्भावस्थादेखि सुत्केरी भएको ४२ दिनसम्म हुने मृत्युलाई मातृमृत्यु भनिन्छ । त्यस्तै, जनगणना २०७८ का अनुसार कर्णालीमा बालमृत्युदर पनि उच्च छ। प्रतिहजार जीवित जन्ममध्ये ३८ शिशुको मृत्यु हुन्छ । स्वास्थ्यकर्मीको सहयोगबिनै असुरक्षित तरिकाले घरमै सुत्केरी गराउँदा आमा र नवजात दुवैका जीवनमा संकट थपिने देखिन्छ ।
सरकारले सुत्केरी आमालाई स्वास्थ्य संस्थासम्म पुर्याउने विभिन्न योजना अघि सारे पनि कर्णालीमा ठूलो संख्यामा महिला अझै पनि अस्पतालको पहुँचबाहिर छन् । भौगोलिक विकटता, स्वास्थ्य संस्थाको कमी र चेतनाको अभाव यसका प्रमुख कारण मानिन्छ । यसले महिलालाई केवल शारीरिक स्वास्थ्यको मात्र नभई सामाजिक–आर्थिक असरसमेत बेहोर्नुपर्ने बाध्यता ल्याएको छ ।
कर्णालीको कुल जनसंख्या १६ लाख ८८ हजार ४१२ छ । यसमध्ये महिलाको जनसंख्या ५१.२१ प्रतिशत अर्थात् आधाभन्दा बढी छ । तर पनि यहाँ महिलाको सामाजिक अवस्था कमजोर देखिन्छ । प्रदेशमा अझै पनि बालविवाहदर ३७.९ प्रतिशत छ । सरकारी तथ्यांकअनुसार, ३७ प्रतिशत महिलाले १८ देखि २० वर्षमै विवाह गर्छन्, जुन कानुनी उमेर (२० वर्ष) भन्दा कम हो ।
कम उमेरमै विवाह र गर्भधारण हुँदा मातृमृत्यु, गर्भपतन, नवजात शिशुको मृत्यु र कुपोषणको सम्भावना उच्च हुने स्वास्थ्य विशेषज्ञहरूले चेतावनी दिएका छन् । तर कर्णालीमा यस समस्याप्रति आवश्यक ध्यान अझै दिन सकिएको छैन ।
यस्तै, महिलाको आर्थिक अवस्था हेर्दा पनि अन्तर देखिन्छ । प्रदेशका कुल परिवारमध्ये १२.५ प्रतिशतमा मात्र महिलाको नाममा घर वा जग्गा छ भने ६.२ प्रतिशत परिवारमा महिलाको नाममा कुनै सम्पत्ति छैन ।
श्रम तथा रोजगारीतर्फ हेर्दा, कर्णालीका ३३ प्रतिशत महिला घरायसी काममार्फत पारिवारिक योगदान गर्छन् । २५.७ प्रतिशत आंशिक काममा, ३२.४ प्रतिशत विभिन्न पेसा–व्यवसायमा संलग्न छन् । तिनमध्ये ४१ प्रतिशत औपचारिक, ५८ प्रतिशत अनौपचारिक, ८२ प्रतिशत कृषि क्षेत्रमा कार्यरत छन् भने ८.६ प्रतिशत महिलाले रोजगारदाता बनेर आर्थिक योगदान दिइरहेका छन् ।
साक्षरताको हिसाबले कर्णालीका महिलाको दर ६९.४ प्रतिशत छ । तर सुत्केरी स्वास्थ्य सेवा, बालविवाह र सम्पत्तिमाथि अधिकार जस्ता आधारभूत मुद्दामा अझै सुधारको खाँचो रहेको तथ्यांकले देखाउँछ ।


