
बागलुङ- बदलिँदो जीवनशैली, अस्वस्थकर खानपानलगायत कारणले स्वास्थ्य समस्या बढ्दै छन् । समस्या समाधानका लागि मानिसले उपचारका लागि सुविधा सम्पन्न अस्पताल धाइरहेकै छन् ।
पछिल्लो समय भने आयुर्वेद चिकित्सातर्फ पनि चासो बढ्न थालेको छ । धौलागिरि आयुर्वेद अस्पताल बागलुङमा उपचारका लागि आउने बिरामीको सङ्ख्याले यस्तै देखाउँछ । पछिल्लो तथ्याङ्कअनुसार आयुर्वेद उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा अस्पतालमा ११ हजार ४५५ बिरामीले सेवा लिन आएकामा आर्थिक वर्ष २०८१/८२ मा उक्त सङ्ख्या बढेर १७ हजार ५४८ पुगेको धौलागिरि आयुर्वेद अस्पतालका प्रमुख डा शरद् पन्थीले जानकारी दिए । उनका अनुसार अस्पताल र अन्य आयुर्वेद उपचार केन्द्रमा आएको बिरामीको सङ्ख्यालाई हेर्दा बर्सेनि बिरामीको सङ्ख्यामा वृद्धि भएको पाइएको र आयुर्वेद शिक्षा बढाउन आवश्यक रहेको छ ।
गत आर्थिक वर्षमा जिल्लाभर रहेका नौ वटा आयुर्वेद सेवा केन्द्र र आयुर्वेद अस्पतालमा बिरामीको सङ्ख्या ३० हजार ४७८ रहेकामा आव २०८१/८२ मा ३६ हजार ४९५ पुगेको छ ।
आयुर्वेद शिक्षाका लागि नागरिक आरोग्य अभियान चलाइएको, आयुर्वेद अस्पतालमा तीन जना डाक्टरले सेवा दिइराखेको र आयुर्वेद औषधि उपचारमा नागरिकको भरोसा बढ्दै गएका कारण बिरामीको सङ्ख्यामा वृद्धि भएको पन्थीको भनाइ छ ।
“हामीले अपनाएको खानपान र जीवनशैलीले गर्दा धेरै रोगको निम्त्याइरहेको छौँ । खानपान र जीवनशैलीमा सुधार ल्याउन सकेको खण्डमा आफूलाई स्वस्थ बनाउन सक्छौँ । शरीरका लागि आवश्यक पर्ने पौष्टिक तत्त्वको मात्रा हेरेर खानपान गर्न सकेमा स्वास्थ्य बलियो हुन्छ, आयुर्वेद उपचार पद्धति रोगको जरासम्म पुग्ने उपचार पद्धति रहेकाले नागरिकको भरोसा बढ्दै गएको छ ।”


