

काठमाडौं– विश्वभरि मार्च २० मा मनाइने विश्व मुख तथा दन्त स्वास्थ्य दिवस २०२५ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। सोही अवसरमा ‘ह्याप्पी माउथ इज अ ह्याप्पी माइन्ड’ भन्ने नाराका साथ कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर तथा कान्तिपुर स्कुल अफ डेन्टिस्ट्रीको संयुक्त आयोजनामा दिवस विशेष कार्यक्रमसहित मनाइएको छ ।
यस अवसरमा बिहीबार बिहान मुख तथा दन्त स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन र्याली आयोजना गरिएको थियो । साथै, ‘सामुदायिक मुख स्वास्थ्य कार्यक्रम प्रतिवेदन’ विमोचन तथा निःशुल्क दन्त परीक्षण कार्यक्रमसमेत गरिएको छ ।

कान्तिपुर डेन्टल कलेजले हालसम्म ६३ भन्दा बढी जिल्लामा पुगेर निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । साथै, विद्यालय दन्त स्वास्थ्य शिक्षा कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, सांसद, मातृ शिशु कार्यकर्ता तथा हेल्थपोस्ट प्रमुखहरूलाई अभिमुखीकरण तालिम प्रदान गर्दै आएको छ ।
कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले मुख तथा दन्त स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्न आग्रह गरेका छन्। दन्त स्वास्थ्यको पहुँच विस्तार गर्न सरकारले ठोस नीति ल्याउनुपर्नेमा उनको विशेष जोड छ । ‘हाम्रो कलेज तथा शिक्षण अस्पतालले निरन्तरता दिइरहेको यस कार्यमा सरकारी तवरबाट नै सहयोग पाउन सके यस कार्यलाई अझै सुदृढ रुपमा देशभर सञ्चालन गर्न सकिन्थ्यो । तसर्थ यसै अवसरमा नेपालको स्वास्थ्य नीति पूर्ननिर्माण गर्दा मुख स्वास्थ्यलाई समेत ध्यान दिनको लागी अनुरोध गर्न चाहान्छु’ उनले भने ।
नेपालमा दन्त स्वास्थ्य समस्या व्यापक रहेको र अधिकांश नेपालीले दन्त उपचार सेवा नपाइरहेको तथ्यांकहरूले देखाएका छन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार संसारभरि सबैभन्दा बढी समस्या मुख तथा दन्त स्वास्थ्यको रहेको छ । नेपालमा ३५–४४ वर्ष उमेर समूहमा पाइरियाका कारण दाँत झर्ने समस्या सामान्य बनिसकेको छ । साथै, दाँतमा किरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सरजस्ता समस्याबाट पीडित व्यक्तिको संख्या दिनप्रतिदिन बढ्दैछ ।

मुख तथा दन्त स्वास्थ्यको समस्या मुटु रोग, मधुमेह र गर्भवती महिलामा जटिलतासमेत निम्त्याउने भएकाले गर्भ जाँचका क्रममा दन्त स्वास्थ्य परीक्षण अनिवार्य गरिनुपर्ने चिकित्सकहरू बताउँछन् । नेपालमा हाल ७० प्रतिशतभन्दा बढी जनसंख्याले दन्त उपचार सेवा पाउन सकेका छैनन् ।

नेपाल मेडिकल काउन्सिलमा ४ हजार ८८३ जना दन्त चिकित्सक दर्ता भएको भए पनि त्यसमध्ये ६० प्रतिशत चिकित्सक मात्रै नेपालमै कार्यरत छन्, जसले गर्दा देशभरका करिब ३ करोड जनसंख्यालाई सेवा प्रदान गर्न चुनौतीपूर्ण भइरहेको छ । यसकारण नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा दन्त चिकित्सकको दरबन्दी सिर्जना गर्नुका साथै सबै हेल्थ पोस्टमा डेन्टल हाइजेनिस्टहरूको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको छ ।
हेरौं भिडियो