काठमाडौं । कोभिड–१९ को नयाँ स्वरूप पीजे.२.१ विश्वका विभिन्न देशमा फैलिन थालेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०२६ नोभेम्बर ९ मा जारी गरेको चेतावनीअनुसार यसका लक्षण सामान्य रुघाखोकी र फ्लुसँग मिल्दोजुल्दो छन्। लक्षणका आधारमा मात्रै कोभिड संक्रमण हो वा अन्य श्वासप्रश्वाससम्बन्धी भाइरसको संक्रमण हो भनेर छुट्याउन कठिन हुने संगठनले जनाएको छ।
अमेरिकामा गरिएको फोहोरपानी निगरानीका क्रममा पीजे.२.१ तीव्र गतिमा फैलिरहेका नयाँ भेरियन्टमध्ये एक देखिएको छ। नेपाल र भारतमा भने अहिलेसम्म यो स्वरूपको संक्रमण पुष्टि भएको छैन। यद्यपि, स्वास्थ्य विज्ञहरूले सम्भावित जोखिमबाट बच्न सतर्कता र परीक्षणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
पीजे.२.१ सार्स–कोभ–२ भाइरसको नयाँ भेरियन्ट हो। अनुसन्धानकर्ताहरूले यसलाई ‘साल्टेसन भेरियन्ट’ नाम दिएका छन्। सामान्यतया भाइरसमा क्रमिक रूपमा एक वा दुईवटा आनुवंशिक परिवर्तन हुँदै नयाँ स्वरूप विकास हुने गर्छ। तर साल्टेसन भेरियन्टमा एकैपटक धेरै आनुवंशिक परिवर्तन देखिन्छन्। विशेषगरी भाइरसको स्पाइक प्रोटिनमा एकैपटक धेरै उत्परिवर्तन हुन सक्छन्।
यो भेरियन्ट मूलतः एमसी.१०.१.७ बाट विकसित भएको हो, जुन जेएन.१ वंशको सन्तान हो। पीजे.२.१ को पहिलो नमुना सन् २०२६ मे २ मा क्यानडाको ओन्टारियोमा पहिचान भएको थियो। त्यसपछि क्यानडाका अल्बर्टा, ब्रिटिस कोलम्बिया र न्यू ब्रन्सविकलगायतका क्षेत्रमा फैलिएको थियो।
अमेरिकामा यसको पहिलो संक्रमण सन् २०२६ जुन ३० मा न्युयोर्कमा भेटिएको थियो। त्यसपछि क्यालिफोर्निया, एरिजोना, न्युजर्सी, भर्जिनिया, नर्थ क्यारोलाइना, मिसौरी, ओक्लाहोमा, कोलोराडो र फ्लोरिडालगायतका राज्यमा पनि यसको उपस्थिति देखिएको छ।

यो भेरियन्ट उत्तर अमेरिकामा मात्र सीमित छैन। सिंगापुर, अस्ट्रेलिया, न्युजिल्यान्ड, इजरायल, फ्रान्स र स्पेनमा समेत यसको संक्रमण पुष्टि भएको छ। स्पेनका कातालोनिया, बास्क क्षेत्र र म्याड्रिडमा स्थानीय स्तरमै संक्रमण फैलिएको संकेत देखिएको छ।
क्यानडाको सार्वजनिक स्वास्थ्य निकाय ओन्टारियोको तथ्यांकअनुसार सन् २०२६ सेप्टेम्बर २० देखि अक्टोबर १७ सम्म आनुवंशिक परीक्षण गरिएका नमुनामध्ये २५.२ प्रतिशतमा पीजे.२.१ भेटिएको थियो। अघिल्लो चार साताको तुलनामा यसको हिस्सेदारी १६.९ प्रतिशतले बढेको थियो।
नयाँ भेरियन्ट तीव्र गतिमा फैलिनुको एउटा कारण यसले खोप वा यसअघि संक्रमण भएर बनेको प्रतिरक्षा प्रणालीलाई छल्न सक्ने क्षमता पनि हो। तर सन् २०२६ अक्टोबरमा ‘जर्नल अफ इन्फेक्सन’ मा प्रकाशित अध्ययनले यसको तीव्र फैलावटको मुख्य कारण प्रतिरक्षा प्रणाली छल्ने क्षमता नभई मानव कोषमा प्रवेश गर्ने क्षमता बढ्नु रहेको देखाएको छ।
अध्ययनअनुसार पीजे.२.१ मा एसीई–२ रिसेप्टरसँग जोडिने क्षमता पहिलेका स्वरूपको तुलनामा बढी छ। एसीई–२ मानव शरीरका कोषको सतहमा पाइने रिसेप्टर हो, जसलाई कोरोना भाइरसले कोषभित्र प्रवेश गर्ने माध्यमका रूपमा प्रयोग गर्छ। यसले मानव कोषमा प्रवेश गर्ने क्षमता बढाउँदा संक्रमण फैलिने सम्भावना पनि बढ्न सक्ने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।
लक्षण सामान्य रुघाखोकी र फ्लुसँग मिल्दोजुल्दो
विश्व स्वास्थ्य संगठनका अनुसार पीजे.२.१ बाट संक्रमित हुँदा घाँटी दुख्ने वा खसखसाउने, थकान र कमजोरी महसुस हुने, रुघाखोकी लाग्ने, ज्वरो आउने तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्छन्।

केही विज्ञले यसबाट संक्रमित व्यक्तिमा घाँटीमा अत्यधिक दुखाइ हुने र लामो समयसम्म थकान कायम रहने समस्या तुलनात्मक रूपमा बढी देखिएको बताएका छन्। यद्यपि, यसबारे थप अनुसन्धान आवश्यक छ।
कोभिड र फ्लुका लक्षण धेरै मिल्दोजुल्दो हुने भएकाले लक्षणकै आधारमा संक्रमण पहिचान गर्न नसकिने विश्व स्वास्थ्य संगठनले स्पष्ट पारेको छ। संक्रमण छुट्याउन आरटी–पीसीआर वा द्रुत परीक्षण आवश्यक पर्न सक्छ।
पहिलेका भेरियन्टभन्दा बढी घातक भएको प्रमाण छैन
अहिलेसम्म उपलब्ध तथ्यांकले पीजे.२.१ ले पहिलेका भेरियन्टभन्दा गम्भीर रोग निम्त्याउने, अस्पताल भर्ना हुने दर बढाउने वा मृत्युको जोखिम वृद्धि गर्ने कुनै ठोस प्रमाण देखाएको छैन।
बेलारुसको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनअनुसार यसका कारण निमोनिया, गम्भीर श्वासप्रश्वास समस्या वा श्वासप्रश्वास प्रणालीले काम गर्न छाड्ने अवस्थासमेत बढेको पाइएको छैन। रुसको स्वास्थ्य नियामक निकाय रोस्पोट्रेब्नादजोरले पनि यो भेरियन्टका कारण गम्भीर बिरामी हुने वा अस्पताल भर्ना हुनेको संख्या बढेको प्रमाण नभेटिएको जनाएको छ।
संयुक्त अरब इमिरेट्सको सारजाहस्थित एनएमसी रोयल अस्पतालका आकस्मिक चिकित्सा विशेषज्ञ डा. आशेर जमालका अनुसार नयाँ भेरियन्ट देखिइरहनु सामान्य भए पनि पछिल्ला स्वरूपले गम्भीर रोग बढाएको वा छुट्टै उपचार आवश्यक बनाएको ठोस प्रमाण छैन। उनका अनुसार नयाँ स्वरूपबारे निगरानी आवश्यक भए पनि अनावश्यक डर र त्रास फैलाउनु उचित हुँदैन।
विश्व स्वास्थ्य संगठनको सुझाव के छ ?
विश्व स्वास्थ्य संगठनले कोभिड र अन्य श्वासप्रश्वाससम्बन्धी भाइरसको संक्रमण छुट्याउन आवश्यकताअनुसार परीक्षण गराउन सुझाव दिएको छ। विशेषगरी उपचारको निर्णय वा सार्वजनिक स्वास्थ्यसम्बन्धी उपाय परीक्षणको नतिजामा निर्भर हुने अवस्थामा परीक्षण गराउनुपर्ने संगठनको भनाइ छ।
संगठनको प्राविधिक सल्लाहकार समूहले पीजे.२.१ लगायतका नयाँ भेरियन्टको अध्ययन गरिरहेको छ। सन् २०२६ अक्टोबर २७ मा जारी विज्ञप्तिमा समूहले अनुसन्धानकर्ता तथा खोप उत्पादकहरूलाई नयाँ भेरियन्टको आनुवंशिक विकास, प्रतिजनसम्बन्धी विशेषता र हाल प्रयोगमा रहेका खोपले प्रदान गर्ने सुरक्षासम्बन्धी तथ्यांक उपलब्ध गराउन आग्रह गरेको थियो।
उक्त तथ्यांक सन् २०२६ डिसेम्बरमा हुने बैठकमा प्रयोग गरिनेछ। बैठकमा आगामी दिनमा प्रयोग हुने कोभिड खोपको संरचना अद्यावधिक गर्ने विषयमा छलफल हुने बताइएको छ।







