काठमाडौं, २७ मंसिर । मुटु, नशा र फोक्सोमा विशिष्ट सेवा दिँदै आइरहेको त्रिभूवन विश्वविद्यालय अन्तर्गतको मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरले स्थान अभावका कारण सेवा विस्तार गर्न नसकेको जनाएको छ ।
मनमोहन सेन्टरका कार्यकारी निर्देशक डा. रत्नमणि गजुरेलले मनमोहन सेन्टरले निकट भविष्यमै न्युक्लियर कार्डियोलोजीको सेवा सुरु गर्न लागेको र त्यसका लागि यथेष्ट स्थानको अभाव भएको बताए । न्युक्लियर कार्डियोलोजी भनेको पछिल्लो समय विकास भएको मुटु परीक्षण र उपचारको प्रविधि हो । यसअघि एनेक्स भवन बनाएपनि त्यसमा ओपिडी र अपरेशन थियटरहरु बनाइएको छ । विस्तारित भवनबाट पनि थप सेवा दिन नसकेपछि थप स्थानको खोजी भइरहेकेो डा. गजुरेलले स्वास्थ्य डायरीलाई बताए ।
सेन्टरले अघिल्लो वर्ष करिब ३ हजार शल्यक्रिया सम्पन्न गरेको छ । मुटु, रक्तनली र फोक्सोको विशिष्टिकृत सेवा अन्तर्गत ती शल्यक्रिया भएको हो । सेन्टरमा प्रत्येक दिन ४ सयभन्दा धेरैले ओपिडी सेवा लिने गरेका छन् । अस्पतालमा बढिजसो रिफर भएर आउने बिरामी हुन्छन् । जसमध्ये सबैभन्दा धेरै सँगै रहेको त्रिवि शिक्षण अस्पतालबाट बिरामी रेफर भएर आउने गरेका छन् ।
मनमोहन सेन्टरलाई विश्वविद्यालयको अस्पताल भएपनि धेरैले सरकारी अस्पतालका रुपमा बुझेको हुँदा यसलाई सरकारीझैं मानिसले अपनत्व लिनेगरि कामहरु भैरहेको छ । डा. गजुरेल भन्छन्ः ‘हामी विश्वविद्यालयको अस्पताल हौं तैपनि हामीलाई सरकारी भनेर धेरै मानिसले बुझ्ने भएकाले त्यहि अनुसार काम गरिरहेका छौं ।’
अस्पतालमा नेपाल सरकारले तोकेका विभिन्न विधामा निःशुल्क र सहुलियत उपचारहरु पनि हुने गरेका छन् । मनमोहन सेन्टरमा १५ वर्षमुनी र ७५ वर्षमाथिका बिरामीको निःशुल्क मुटुको भल्भ फेर्ने सेवा उपलब्ध रहेको छ । त्यस्तै, गरिब तथा विपन्नलाई मुटु उपचारमा दिइने एकलाख सहुलियतपनि अस्पतालमा उपलब्ध छ । अस्पतालमा रहेको सामाजिक सेवा इकाईबाट यस्ता सेवा दावी गर्नसकिने अस्पतालका प्रशासकीय प्रमखु कृष्णदेव पन्तले स्वास्थ्य डायरीलाई बताए ।
अस्पतालमा त्रिभूवन विश्वविद्यालयले उपलब्ध गराएका केही जनशक्ति भएपनि धेरै जनशक्ति अस्पतालले आफै व्यवस्थापन गरेको छ । सेवाग्राहीबाट उठाएकै पैसाले मनमोहन सेन्टर आत्मनिर्भर सार्वजनिक संस्थाका रुपमा विकास भएको निर्देशक डा. गजुरेलले बताए ।
हेरौं डा. गजुरेलसँग गरिएको कुराकानीको भिडियो