

काठमाडौं, १५ मंसिर । नेपाल अप्थाल्मिक सोसाइटीको २६ औं सम्मेलन शुक्रवार सुरु भएको छ । सम्मेलनका क्रममा देशभरका आँखाका चिकित्सक र विदेशी चिकित्सकहरु राजधानीमा जम्मा भएका छन् । यस सम्मेलनमा आँखाका क्षेत्रमा भएका नयाँ चिकित्सकीय विषयमा छलफल भइरहेको छ ।
यस सोसाइटीको यो संस्करणको सम्मेलनमा भने नेतृत्व परिवर्तन गर्ने अधिवेशपनि हुँदैछ । २ वर्षको कार्यकाल रहने कार्यसमितिको कार्यकाल पुरा भएकाले यस सम्मेलनकै क्रममा हुने अधिवेशन र मतदान प्रकृयाले नयाँ नेतृत्व चयन गर्नेछ ।
यसपालीको अधिवेशनमा महासचिव, कोषाध्यक्ष र सहसचिव निर्विरोध चयन भएका छन् भने बाँकीका लागि शनिवार बिहानदेखि मतदान सुरु भएको छ । यसपटक सोसाइटीको अध्यक्षमा दुईजना पदाधिकारीले मनोनयन गरेका छन् । सोसाइटीको उपाध्यक्ष रहेकी तिलगंगाकी डा. रवा थापा र महासचिव डा. पुरुषोत्तम जोशी अध्यक्षको दौडमा रहेका छन् । महासचिव र उपाध्यक्ष नै अध्यक्षमा भिडेपछि दुईजनाको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।
डा. थापा र डा. जोशी दुवैजना त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थानका उत्पादन हुन् । डा. रवा तिलगंगा अस्पतालमा आँखा विशेषज्ञ (भेट्रियो रेटिनल सर्जन)का रुपमा कार्यरत छिन् भने डा. जोशी मेची आँखा अस्पतालमा बाल आँखा विशेषज्ञ र भेट्रियो रेटिनल सर्जनका रुपमा कार्यरत छन् । डा. जोशी र थापा दुवैजना प्राज्ञिक ज्ञान भएका व्यक्ति हुन् । डा. जोशी बायोलोजीका नेपाल टपर हुन् । मेची आँखा अस्पतालमा जोशीले व्यवस्थापनका पक्ष पनि सम्हालिरहेका छन् ।
नेपाल अप्थाल्मिक सोसाइटीमा युवा चिकित्सक र महिला चिकित्सकका विविध विषय बहसको विषय हुने गरेको छ । यसका लागि दुवैजना चिकित्सकले महिला अप्थाल्मोलोजी सोसाइटी बनाउने, युवाहरुको सोसाइटीलाई थप प्रोत्साहन गर्ने लगायतका विषय उठाएका छन् । सरकारी तवरबाट आँखा विशेषज्ञको दरबन्दी थप र अस्पताल सेवा थप जस्ता विषयलाई उठाउनेगरि दुवैजनाले प्रचार गरिरहेका छन् । सोसाइटीमा महिला बढि भएकाले र क्षमतावान व्यक्ति भएकाले डा. थापा बलियो उम्मेदवारका रुपमा देखापरेकी छिन् भने डा. पुरुषोत्तमको पनि आफ्नै विशेषता र सम्बन्ध छ । ५ सय ४ जना सदस्य रहेको संस्थाको पूर्णसदस्यहरुले अनलाईनबाटै मत दिने भएकाले धेरै मत खस्ने र साँझ ५ बजे परिणाम आउने बताइएको छ ।
अब निर्वाचित हुने अध्यक्षले आउँदो दुईवर्षका लागि सोसाइटीको नेतृत्व गर्नेछ भने प्रत्येक वर्ष हुने आँखाको सम्मेलनको नेतृत्व गर्नेछ । नेपाल अप्थाल्मिक सोसाइटी सन् १९८५ मा सुरु भएको आँखा चिकित्सकहरुको छाता संगठन हो ।