काठमाडौं, १४ मंसिर । नेपाल अप्थाल्मिक सोसाइटीको २६ औं वार्षिक सम्मेलन सुरु भएको छ । सम्मेलनको मूल नारा सेलिब्रेटिङ एण्ड अनफोल्डिङ द साइन्स अफ अप्थाल्मोलोजी भन्ने रहेको छ ।
राजधानीको याक एण्ड यति होटलमा शुक्रवारबाट सुरु भएको सम्मेलनको नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुषालले उद्घाटन गरेका छन् । उद्घाटनसत्रमा विशेष अतिथिका रुपमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्र बस्नेत लगायत सहभागी भएका थिए ।
नेपाल अप्थाल्मिक सोसाइटीको वार्षिक सम्मेलनको यसवर्षको आयोजक समितिको अध्यक्षमा प्रा.डा. मीनु चौधरी र सोसाइटीका महासचिव डा. पुरुषोत्तम जोशी सचिव रहनुभएको छ । सम्मेलनमा विश्वका विभिन्न देशका करिब ४० जना आँखा विशेषज्ञहरुको सहभागिता रहेको छ । नेपालका र विदेशबाट आएका करिब ७० जना चिकित्सकले सम्मेलनका विभिन्न सत्रहरुमा आँखा उपचारका क्षेत्रमा भएका नविनतम प्रयोग, आविष्कार र उपलब्धिहरुका बारेमा प्रस्तुति दिने र छलफल गर्ने कार्यसूचि रहेको छ ।
कार्यक्रमको उद्घाटनसत्रमा सोसाइटीले प्रा.डा. सुरज शमसेर जंग बहादुर राणा, प्रा.डा. रीता गुरुङ, प्रा.डा. संजयकुमार सिंह तथा सह प्रा.डा. बसन्तराज शर्मालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२४ द्वारा सम्मान गरिएको छ ।
त्यस्तै सोसाइटीले अष्ट्रेलियाका प्रा.डा. स्टेफेनी वाट्सनलाई मदन प्रसाद उपाध्याय लेक्चरर अवार्ड २०२४ प्रदान गरेको छ । त्यस्तै प्रा.डा. रामप्रसाद पोखरेल बेस्ट रेजिडेन्ट अवार्ड २०२४ न्याम्सका डा. प्रकाश बम, केयुएसएमएसका डा. पारामंगना थेवे, वीपीकेआईएचसका डा. रिना साह र त्रिभूवन विश्वविद्यालयका डा। प्रियांका सिंहलाई प्रदान गरिएको छ । त्यस्तै, बेस्ट रेजिडेन्ट अवार्ड २०२३ बाट न्याम्सकी डा. सीमा भण्डारी, केयुएसएमएसका डा. रोजी मानन्धर, वीपीकेआईएचसका डा. पुष्पा उपाध्याय, त्रिभूवन विश्वविद्यालयकी डा. दिक्षा बोहरालाई सम्मान गरिएको छ ।
सम्मेलनको दोश्रो दिन सोसाइटीको वार्षिक साधारण सभा हुने कार्यतालिका रहेको छ । यस साधारण सभाले नयाँ नेतृत्व चयनका साथै वार्षिक प्रगति समिक्षा गर्नेछ । अधिवेशनमा संस्थामा रहेका ५ सयजनाभन्दा धेरै चिकित्सकले नेतृत्व परिवर्तनका लागि मतदान गर्नेछन् । अधिवेशनले सोसाइटीको १९ औं कार्यसमिति चयन गर्नेछ । निर्वाचन तालिका अनुसार शनिवार हुने निर्वाचन अगावै ३ जना पदाधिकारी आउँदो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । सोसाइटीका वर्तमान कोषाध्यक्ष डा. तेजसु सिंह मल्ल आउँदो कार्यकालका लागि महासचिवमा, डा. कौशल पोखरेल कोषाध्यक्षमा र डा. रवीन्द्र सिंह ठकुरी सहसचिवमा सर्वसम्मत चयन हुनुभएको छ । शनिवार हुने निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, सह कोषाध्यक्ष र सदस्यहरुका लागि मतदान हुनेछ । पदाधिकारीहरुको कार्यकाल २ वर्षको रहने सोसाइटीको विधानमा व्यवस्था छ ।
सोसाइटीको हालको कार्यसमितिले गएको दुईवर्षमा नियमित कार्यका अलावा विभिन्न रचनात्मक क्रियाकलाप सम्पन्न गरेको छ । डा. मिनु चौधरीको नेतृत्वमा यस कार्यकालमा संस्थाले एशिया प्यासिफिक एकेडेमी अफ अप्थाल्मोलोजी (अपाओ) लिडरसिप डेभलपमेन्ट प्रोग्रामको मास्टरक्लास सर्वप्रथम नेपालमा आयोजना गरेको छ । जसमा नेपाल र विदेशका विभिन्न देशबाट प्रशिक्षार्थी र शिक्षकहरु सहभागी भएका थिए । त्यस्तै, सोसाइटीले यसबीचमा प्रतिष्ठित संस्था इन्टरनेशनल एजेन्सी फर प्रिभेन्सन ब्लाइन्डनेश (आइएपिबी) को सदस्यता लिन सफल भएको छ । त्यस्तै नेपाल सरकारको स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखासँग मिलेर आँखा स्वास्थ्य सम्बन्धी कार्यविधि (विद्यालय नर्सको लागि)पनि निर्माण गरेको छ । सोसाइटीले हाल नेपाल सरकारको बीमा कार्यक्रममा नसमेटिएको आँखा उपचारलाई बीमा प्याकेजमा समावेश गर्न पहल गरेको छ ।
नेपाल अप्थाल्मिक सोसाइटी सन् १९८५ मा सुरु भएको आँखा विशेषज्ञहरुको एकमात्र छाता संगठन हो । यसले प्रत्येक वर्ष राष्ट्रिय सम्मेलन गर्दै आएको छ । साथै यस संस्थाले आँखा चिकित्सकहरुको हकहित प्रवद्र्धन र नीतिगत सुधारका लागि सरकारसमक्ष पहल गर्दै आएको छ ।