

-डा. पुरुषोत्तम अधिकारी
मानिसको जीवनशैली परिवर्तन भएसँगै विभिन्न किसिमका तनाव वा चिन्ता पनि बढीरहेको हुन्छ । यसले मानसिक समस्या निम्त्याउने सम्भावना बढी हुन्छ । विशेषगरी मानसिक समस्यामा एन्जाइटी र डिप्रेशन पर्दछन् ।
एन्जाइटीमा मनमा डर, चिन्ता, तनाव हुने, मुटु ढुकढुक हुने, आत्तिने हुन्छ । भने, डिप्रेशनमा मन उदास हुने, निरास हुने, निन्द्रा नलाग्ने, आत्महत्या गर्नेजस्ता सोच आउने हुन्छ ।
एन्जाइटीमा विशेषगरी डर लाग्ने, मन आत्तिने, सासफेर्न गाह्रो हुने, छिटोछिटो सास फेरेको जस्तो हुने, मुटु ढुकढुक हुने हातखुट्टा काम्ने, घाटीमा केही अड्केको जस्तो हुने, पेट पोलेको जस्तो हुने, हात खुट्टा झमझमाउने, चक्कर लागेको जस्तो हुने जस्ता लक्षण देखिन्छन् ।
डिप्रेशनमा भने मन उदास हुने, केही कुरा गर्न जाँगर नलाग्ने, एक्लै बस्न मन लाग्ने, नकारात्मक सोच आउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने जस्ता लक्षणहरू देखिन्छन् ।
एन्जाइटी हुने कारणमा कुनै घटना हुनु वा नहुन पनि सक्छ । तर, डिप्रेशन हुने कारणमा घरायसी तनाव, आफ्नो नजिकैको मान्छेको निधन, धन सम्पत्तिको क्षति, सम्बन्धमा मनमुटाव जस्ता घटनाहरू पर्न सक्छन् ।
एन्जाइटी पनि विभिन्न प्रकारका हुन्छन् । जसमध्ये एउटा जेनलाइज इन्जाइटी छ । स–साना कुरामा पनि एन्जाइटी हुनु, जस्तै गाडीमा चड्दा गाडी दुर्घटना हुन्छ कि जस्तो लाग्ने, मैले गरेको काममा कसैले केही भन्छ कि जस्तो लाग्ने हुन्छ ।
अर्को प्रकार सामाजिक एन्जाइटी हाे । जसमा समाजिक रूपमा घुलमिल हुन गाह्रो हुने, मलाई कसैले नराम्रो भन्छ कि, मेरो प्रस्तुती राम्रो नहुने हो कि जस्तो लाग्ने हुन्छ । अर्को एक प्रकारलाई फोबिया भनिन्छ । यसमा कुनै निश्चित कुरादेखि डर लाग्ने हुन्छ । जस्तै कुकुरदेखि डर लाग्ने, उचाइदेखि डर लाग्ने हुन्छ ।
डिप्रेशन अहिले सोसल मिडियाले गर्दा पनि बढीरहेको छ । किन भने त्यसमा सबै व्यक्ति खुसी र सुखी देखिन्छन् । त्यसले गर्दा व्यक्तिमा मलाई मात्रै दुःख हुने रहेछ भन्ने भावनाको विकास हुन्छ ।
एन्जाइटी र डिप्रेशन निदान गर्न साइकोथेरापी वा काउन्सिलिङ र औषधिको प्रयोग गरि दुई तरिकाका उपचार विधि अपनाइन्छ ।
सामान्य अवस्थामा थेरापी वा काउन्सिलिङ गरिन्छ । यो एकपटक गरेर हुने प्रकृया होइन यसलाई निरन्तरता दिनुपर्छ । हप्ताहप्ता दिनमा काउन्सिलिङ थेरापीको लागि जानुपर्ने हुन्छ । आजकोभोलि नै यसको असर नदेखिन सक्छ ।
अर्को प्रकृया भनेको औषधि प्रयोग गर्ने हो । यसमा एन्जाइटीलाई कम गर्ने खालको औषधि लगायतका अन्य आवश्यक औषधि प्रयोग गरिन्छ । यो औषधि कम्तिमा ६ महिना सेवन गर्नुपर्ने हुन्छ । त्यसपछि डाक्टरको सल्लाह अनुसार घटाउनुपर्ने हुन्छ । अहिले दुई महिना खाने आफूलाई ठिक भएपछि आफुखुसी खान छोड्ने गर्छन् । तर यसो गर्दा समस्या झन् कडा रूपम देखापर्छ ।
योगा वा ध्यान पनि एन्जाइटी वा डिप्रेशनको सहयोगी प्रकृया हो । विभिन्न अध्यनका अनुसार यसले केही हदसम्म मानसिक समस्याको समाधान गर्न सक्छ । रुटिन बनाएर सुत्ने, शारीरिक व्यायम गर्ने कार्यले पनि सुधार ल्याउँछ । तर मुलभूत रुपमा यसले ठिक गर्नसक्छ भन्ने होइन ।
अहिले नेपाली समाजमा डिप्रेशन तथा एन्जाइटी जस्ता मानसिक समस्यालाई हेर्ने नजर फरक छ । यसलाई पागलपनाको घानमा हालेर हेर्ने गरिन्छ । यो नितान्त गलत हो । तर, मलाई खुसी लाग्छ, अहिलेका युवाको जमातमा यो विषयमा जानकारी बढ्दैछ ।
जोसुकैलाई पनि मानसिक समस्या आउन सक्छ । यसबाट कोहीपनि अछुतो छैनौं । यो गरिब, धनी जसलाई पनि हुनसक्छ । यसलाई समयमै पहिल्याएर उचित उपचार गर्न सकियो भने यसको निदान सम्भव छ । यसका लागि हामी आफै अग्रसर हुनुपर्छ भन्ने कुराको बिस्तारै विकास भएको छ ।
(डा अधिकारी मानसिक रोग विशेषज्ञ हुन् )


