

काठमाडौं – जापानी इन्सेफ्लाइटिस (जेई) संक्रमणबाट पछिल्लो एक महिनामै नेपालमा कम्तीमा नौ जनाको मृत्यु भएको छ। संक्रमणका कारण थप ३७ जना अस्पतालमा उपचाररत छन्।
पछिल्ला केही सातामा कोशी प्रदेशमा ६, मधेशमा दुई र लुम्बिनी प्रदेशमा एक जनाको जेई संक्रमणबाट मृत्यु भएको हो। जेईको उच्च जोखिमको मौसम अझै सुरु हुन बाँकी रहेकाले आगामी दिनमा संक्रमण र मृत्युदर थप बढ्न सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार वर्षायाममा जेई संक्रमण बढ्ने भएकाले अहिले विशेष सावधानी आवश्यक छ। ‘पानी परिरहेकाले आउने दिनमा जेई संक्रमण अझ बढ्न सक्छ,’ उनले भने, ‘लामखुट्टेको टोकाइबाट बच्ने र घरवरिपरिको वातावरण सफा राख्ने उपाय अपनाउनुपर्छ।’
जापानी इन्सेफ्लाइटिस एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रका केही भागमा देखिने भाइरल मस्तिष्क संक्रमण हो। संक्रमित क्युलेक्स जातका लामखुट्टेको टोकाइबाट मानिसमा भाइरस सर्छ। सुँगुर र हाँसलाई भाइरसको मुख्य स्रोत मानिन्छ। सुँगुर पाल्ने तथा धानखेत आसपास बसोबास गर्ने मानिस संक्रमणको उच्च जोखिममा हुन्छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार जेई संक्रमणबाट गम्भीर बिरामी हुनेमध्ये करिब एकतिहाइको मृत्यु हुन सक्छ भने बाँचेकामध्ये करिब आधामा दीर्घकालीन स्नायु तथा मानसिक समस्या वा अपांगता देखिन सक्छ।
नेपालमा जेई संक्रमणबाट हुने मृत्यु पछिल्ला वर्षमा पुनः चिन्ताको विषय बनेको छ। गत वर्ष मात्रै १४१ जना संक्रमित हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको थियो। संक्रमण ४५ भन्दा बढी जिल्लाका ११७ भन्दा बढी स्थानीय तहमा फैलिएको थियो। त्यतिबेला मृत्युदर करिब २३ प्रतिशत थियो।
त्यसअघि २०८१ मा काठमाडौं उपत्यकाका एक जनासहित २३ जनाको जेई संक्रमणबाट मृत्यु भएको थियो भने कम्तीमा ८० जना संक्रमित भएका थिए। यस वर्ष पनि हालसम्म संक्रमितमध्ये करिब २० प्रतिशतको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूको तथ्यांक छ।
नेपालमा करिब एक करोड २५ लाख मानिस जेई संक्रमणको उच्च जोखिममा रहेको अनुमान छ। गत वर्षको तथ्यांकअनुसार जेईबाट मृत्यु भएकामध्ये ७६ प्रतिशत ४० वर्षभन्दा माथिका थिए। संक्रमितमध्ये करिब ७० प्रतिशत १५ वर्षभन्दा माथिका रहेको तथ्यांकले बालबालिकासँगै वयस्कमा पनि जोखिम उच्च रहेको देखाउँछ।
पश्चिम नवलपरासीमा पनि जेई संक्रमणबाट एक जनाको मृत्यु भएको छ। केही महिनाअघि मात्रै जिल्लामा जेईविरुद्ध खोप अभियान सञ्चालन गरिएको थियो। स्वास्थ्य अधिकारीका अनुसार अभियानमा ७७ प्रतिशत नागरिकले मात्रै खोप लगाएका थिए। मृत्यु भएका व्यक्तिले खोप नलगाएको बताइएको छ।
खोप विज्ञहरूका अनुसार जेईविरुद्ध खोप नलगाएका मानिस संक्रमणपछि गम्भीर बिरामी हुने र मृत्यु हुने उच्च जोखिममा हुन्छन्। जेई संक्रमणले मस्तिष्क तथा स्नायु प्रणालीमा दीर्घकालीन क्षति पुर्याउन सक्छ। संक्रमणको कुनै विशेष औषधि नभएकाले हाल लक्षणअनुसार उपचार गरिँदै आएको छ।
राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य तथा खोप विज्ञहरूले जेई खोप नलगाएका सबैलाई कम्तीमा एक मात्रा खोप लगाउन सिफारिस गरेका छन्। उनीहरूका अनुसार खोप संक्रमण, गम्भीर बिरामी र मृत्युबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय हो।
गत वर्ष ४१ जनाको मृत्यु हुँदासमेत सरकारले जेई नियन्त्रणका लागि पर्याप्त खोप अभियान सञ्चालन गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ। स्वास्थ्य अधिकारीहरू भने जोखिममा रहेका सबै जनसंख्यालाई एकैपटक खोप लगाउन पर्याप्त स्रोत उपलब्ध नभएको बताउँछन्।
खोप शाखाका प्रमुख डा. गौतमका अनुसार जेईबाट हुने मृत्यु र दीर्घकालीन अपांगता रोक्न खोप प्रभावकारी भए पनि स्रोत अभावका कारण लक्षित जनसंख्यालाई मात्र खोप अभियानमा समेट्नुपरेको छ। संक्रमण बढी देखिएका नवलपरासी पूर्व र चितवनका केही वडामा मात्रै अभियान सञ्चालन गर्न सकिएको उनले बताए।
सरकारले यस वर्ष जेईको उच्च जोखिममा रहेका ११ जिल्लामा खोप अभियान सञ्चालन गर्न ४६ करोड रुपैयाँ विनियोजन गरेको छ। चितवन, कैलाली, तनहुँ, दाङ, झापा, कपिलवस्तु, मोरङ, रूपन्देही, सुनसरी, रौतहट र सर्लाहीलाई अभियानका लागि छनोट गरिएको छ।
तर खोप खरिद र आपूर्ति प्रक्रियामा समय लाग्ने भएकाले अभियान आगामी वैशाखअघि सुरु नहुने स्वास्थ्य अधिकारीहरूले बताएका छन्। औषधि पसलबाट जेई खोप खरिद गर्न सकिए पनि महँगो पर्ने भएकाले जोखिममा रहेका सबैले आफ्नै खर्चमा खोप लगाउन सक्ने अवस्था नरहेको विज्ञहरूको भनाइ छ।
नेपालमा जेई संक्रमण नयाँ भने होइन। केही दशकअघि यसले ठूलो जनधनको क्षति गराएको थियो। सन् २००५ मा मात्रै नेपालमा जेई संक्रमणबाट करिब दुई हजार जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमध्ये अधिकांश तराई क्षेत्रका बालबालिका थिए।
उच्च संक्रमण र मृत्युदरका कारण विश्व स्वास्थ्य संगठनले खोपलाई औपचारिक रूपमा प्रिक्वालिफिकेसन प्रमाणपत्र दिनुभन्दा आठ वर्षअघि नै नेपालले सन् २००६ देखि जेईविरुद्ध खोप अभियान सुरु गरेको थियो। पछि दाता तथा विश्वव्यापी स्वास्थ्य साझेदारको सहयोगमा अभियान विस्तार गरियो।
हाल नेपालले जेईविरुद्धको खोपलाई नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको छ। सरकारी स्वास्थ्य संस्थामार्फत बालबालिकालाई यो खोप निःशुल्क उपलब्ध गराइँदै आएको छ।
तर पछिल्ला वर्षमा वयस्कमा समेत संक्रमण र मृत्यु बढ्दै जानुले नियमित खोपको पहुँचभन्दा बाहिर रहेका जनसंख्यालाई कसरी सुरक्षित गर्ने भन्ने प्रश्न फेरि उठेको छ। पछिल्लो एक महिनामै नौ जनाको मृत्यु र ३७ जना संक्रमित भएको तथ्यांकले जेई नियन्त्रणका लागि खोपसँगै लामखुट्टे नियन्त्रण र जनचेतनामूलक अभियानलाई समेत प्रभावकारी बनाउनुपर्ने देखाएको छ।



