

धनुषा- धनुषाको ढल्केबरमा स्थापना गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने सरकारको निर्णयविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन्। निर्णयको विरोधमा ढल्केबर बजारमा आइतबार साँझ मशाल जुलुस निकालिएको छ।
‘ट्रमा सेन्टर संरक्षण संघर्ष समिति’को आह्वानमा निकालिएको जुलुसमा स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो। प्रदर्शनकारीले ढल्केबर बजार परिक्रमा गर्दै ट्रमा सेन्टर अन्यत्र सार्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका थिए।
उनीहरूले सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयविरुद्ध नाराबाजी गर्दै ट्रमा सेन्टर ढल्केबरमै सञ्चालन गर्नुपर्ने बताएका छन्। स्थानीयको आवश्यकता र लामो समयदेखिको पहललाई बेवास्ता गर्दै मन्त्रालयले ट्रमा सेन्टर सार्ने निर्णय गरेको भन्दै आन्दोलनकारीले असन्तुष्टि जनाएका छन्।
प्रदर्शनकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको राजीनामासमेत माग गरेका छन्। संघर्ष समितिले सरकार आफ्ना मागप्रति गम्भीर नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएको छ।
ट्रमा सेन्टर ढल्केबरमै कायम गराउन सरकारमाथि दबाब दिने उद्देश्यले सोमबार पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा बन्द गर्ने संघर्ष समितिले घोषणा गरेको छ।



