

जेनेभा- नर्वेमा कार्यरत नेपाली चिकित्सक प्रा.डा. सुरजबहादुर थापा ‘नेपाली स्वास्थ्यकर्मी अफ द इयर २०२६’ अवार्डबाट सम्मानित भएका छन्।
स्विट्जरल्यान्डको जेनेभामा शनिबार आयोजित सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपको दोस्रो स्वास्थ्य सम्मेलनमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
सोसाइटीका अध्यक्ष डा. विनय श्रेष्ठ, स्विट्जरल्यान्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी र नेप्लिज डक्टर्स एसोसिएसन यूकेकी अध्यक्ष डा. आरती थापाले संयुक्त रूपमा उनलाई ताम्रपत्र र दोसल्लासहित सम्मान गरेका थिए।
युरोपमा नेपाली स्वास्थ्यकर्मीको प्रतिनिधित्व गर्दै स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान, शैक्षिक तथा व्यावसायिक उपलब्धि र मानसिक स्वास्थ्य तथा मनोचिकित्साको क्षेत्रमा गरेको अनुसन्धानलाई मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको सोसाइटीका अध्यक्ष डा. श्रेष्ठले बताए।
यो सम्मान पाउने प्रा.डा. थापा दोस्रो नेपाली स्वास्थ्यकर्मी हुन्। सोसाइटीले गत वर्ष पहिलोपटक उक्त सम्मान प्रा.डा. गणेश आचार्यलाई प्रदान गरेको थियो।
काठमाडौंको धापासीमा हुर्किएका प्रा.डा. थापाले बाल्यकालमै दुई वर्षीया बहिनीलाई समयमै उपचार नपाउँदा गुमाएपछि चिकित्सक बन्ने अठोट गरेका थिए। त्रिभुवन विश्वविद्यालयबाट एमबीबीएस पूरा गरेपछि उनले मानसिक स्वास्थ्यलाई आफ्नो विशेष रुचिको क्षेत्र बनाउँदै अनुसन्धानमा सक्रियता बढाएका हुन्।
उच्च शिक्षाका लागि सन् १९९९ मा नर्वे पुगेका थापाले सन् २००६ मा चिकित्सा शास्त्रमा विद्यावारिधि (पीएचडी) पूरा गरेका थिए। उनी हाल नर्वेको ओस्लो युनिभर्सिटी हस्पिटलमा प्रोफेसरका रूपमा कार्यरत छन्। सन् २०२० देखि उनले अस्पतालको मेन्टल हेल्थ डिभिजनको अनुसन्धान प्रमुखको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्।
मानसिक स्वास्थ्य, मनोचिकित्सा, युद्ध, बसाइँसराइ, शरणार्थी जीवन तथा मानसिक आघातलगायतका विषयमा उनका ५० भन्दा बढी अनुसन्धान अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भइसकेका छन्।
सम्मान ग्रहणपछि प्रा.डा. थापाले नर्वेमा हासिल गरेको ज्ञान, अनुभव र अनुसन्धानलाई नेपालमा उपयोग गर्ने आफ्नो इच्छा व्यक्त गरे। विशेषगरी मानसिक स्वास्थ्यसम्बन्धी अनुसन्धान, अध्यापन तथा सेवा विस्तारका साथै ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्य सेवाको पहुँच सुधारमा योगदान गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए।
‘नेपालमा मानसिक स्वास्थ्य अहिले पनि ठूलो समस्या हो। यस क्षेत्रमा अझ धेरै काम गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘मैले नर्वेमा अनुसन्धान, अध्यापन र स्वास्थ्य सेवाका क्रममा जे सिकेको छु, त्यसलाई नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा अब अझ बढी काम गर्न चाहन्छु।’



