

धनुषा – धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर सोही स्थानमा निर्माण गर्नुपर्ने माग गर्दै स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा जारी आन्दोलनअन्तर्गत सोमबार स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले बिहान ११ बजेदेखि ११ः३० बजेसम्म राजमार्गमा चक्काजाम गरेका हुन्। उनीहरूले ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।
गत शुक्रबार संघर्ष समितिले प्रस्तावित स्थानमै ट्रमा सेन्टर निर्माण हुनुपर्ने माग राख्दै चरणबद्ध आन्दोलन घोषणा गरेको थियो। स्वास्थ्य मन्त्री निशा मेहताले सदनमा ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी दिएपछि ढल्केबर क्षेत्रमा विरोध चर्किएको हो।
संघर्ष समितिका संयोजक तथा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोका अनुसार ट्रमा सेन्टर निर्माणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको छ। उनका अनुसार प्रस्तावित स्थानको जग्गाको लालपुर्जा बनिसकेको अवस्थामा योजना अन्यत्र सार्न खोजिएको भन्दै स्थानीयवासी असन्तुष्ट छन्।
मिथिला नगरपालिका–७, साविक ढल्केवर गाविस वडा नं. २‘क’ स्थित कित्ता नं. १६९ को करिब चार बिघा ऐलानी जग्गालाई आधार बनाएर संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा ट्रमा सेन्टर निर्माणका लागि पहिलोपटक रकम विनियोजन गरेको थियो।
योजना शिलान्यासको तयारीमा रहेको अवस्थामा ट्रमा सेन्टर अन्यत्र सार्ने विषयले विवाद निम्त्याएको संघर्ष समितिको भनाइ छ।
समितिका अनुसार मंगलबार बिहान ११ बजेदेखि १२ बजेसम्म र साउन २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पनि चक्काजाम गर्ने कार्यक्रम तय गरिएको छ।



