धनगढी, ६ जेठ । धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डा. प्रशन्ना शाहको मृत्युप्रकरणमा नयाँ तथ्य बाहिर आएको छ ।
बिहीवार घरमै मृत अवस्थामा फेला परेपछि प्रहरीले उनको अस्वभाविक मृत्युलाई लिएर अनुसन्धान अघि बढाएको थियो । प्रहरीले आत्महत्या दुरुत्साहन अन्तर्गत उनका पूर्वप्रेमी भनिएका स्थानीय विकल केसी र सोही अस्पतालमा कार्यरत चिकित्सक डा. सन्दीप भट्टराईलाई पक्राउ गरेको हो ।
केही महिनाअघि मात्रै भारतबाट एमबीबीएस सकाएर सो अस्पतालमा कार्यरत रहेकी शाह फेरी एमडी अध्ययन गर्न जाने सोचमा रहेको बुझिएको छ । स्थानीय विकल केसीसँग प्रेमसम्बन्धमा रहेकी शाह र केसीबीच विवाह गर्ने विषयमा मतभेद हुँदा तनाव बढेको पारिवारिक स्रोतले जनाएको छ । तनावकै बीचमा अस्पतालका चिकित्सक सन्दीप भट्टराई र शाहबीच निकटता बढेको थियो । भट्टराईले उनलाई पछिल्लो समय मानिसक रुपमा तनाव दिने तथा केसीसँग निकट हुन नदिने गर्दा शाह तनावमा थिइन् ।
भट्टराईले दिएको मानसिक दबावका कारण र केसीसँग विवाह हुननसक्दा शाहले मृत्युको बाटो रोजेको हुनसक्ने अस्पतालका कर्मचारीहरुको दावी छ ।
अनुसन्धानका लागि सुरुमा पूर्वप्रेमी केसीलाईमात्र पक्राउ गरेको प्रहरीले परिवारको दवावपछि डा. भट्टराईलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।