काठमाडौं । आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। मधुमेह रोगबारे जनचेतना फैलाउने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा सर्वसाधारणको पहुँच बढाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार पछिल्लो एक दशकमा उच्च आय भएका देशको तुलनामा न्यून तथा मध्यम आय भएका देशमा मधुमेहको समस्या तीव्र रूपमा बढिरहेको छ। बढी तौल र मोटोपना मधुमेह बढ्नुका प्रमुख कारणमध्ये रहेका छन्।

मधुमेहका कारण आँखाको ज्योति गुम्ने, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थासमेत आउन सक्छ। तर स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम र सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहँदा विशेषगरी टाइप–२ मधुमेहको जोखिम कम गर्न सकिने चिकित्सकहरू बताउँछन्।

मधुमेहको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण र उचित औषधोपचारले यसबाट उत्पन्न हुन सक्ने जटिलता रोक्न तथा न्यूनीकरण गर्न सकिन्छ। मधुमेह नियन्त्रणका लागि नियमित उपचारसँगै दैनिक जीवनशैलीमा सुधार गर्नुपर्ने मधुमेह रोग विशेषज्ञ डा. विनय भट्टराईले बताएका छन्।
टाइप–१ मधुमेह छिटो विकसित हुन सक्छ भने टाइप–२ मधुमेह बिस्तारै विकसित हुने गर्छ। सुरुवाती अवस्थामा स्पष्ट लक्षण नदेखिन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक हुन्छ।
डा. भट्टराईका अनुसार मोटोपना भएका, परिवारमा मधुमेहको इतिहास रहेका र कोलेस्ट्रोलको मात्रा बढी भएका व्यक्तिले नियमित रूपमा मधुमेह परीक्षण गराउनुपर्छ। ३५ वर्ष उमेर पुगेका सबैले पनि नियमित स्वास्थ्य परीक्षणमार्फत मधुमेहको अवस्था जाँच गराउनु उपयुक्त हुने उनको सुझाव छ।







