हरेक हिन्दु धर्मावबलम्बीहरुले आ आफ्नो घरमा मठ र गमलामा तुलसी रोप्ने गर्छन् । तुलसीलाई भगवान विष्णुको वनस्पति अवतारका रुपमा पनि बुझिन्छ । तुलसी धार्मिक रुपमामात्र नभई जडिबुटीका रुपमा पनि प्रयोग गरिन्छ । आयुर्वेदमा तुलसीलाई एक बहुउपयोगी औषधि मानिन्छ, जति यसको धार्मिक महत्व छ । गुणै गुणले भरिएको तुलसीलाई पुजा गर्नेदेखि आफूलाई स्वस्थ राख्नलाई यसको प्रयोग गर्ने गरिन्छ । तुलसीले जाडो मौसममा मात्रै नभई गर्मीको समयमा हुने विभिन्न रोगको संक्रमणबाट पनि मानिसलाई जोगाउँछ ।
आयुर्वेद डा. सविन दवाडीका अनुसार यस्ता छन् तुलसीका फाइदाः
- तुलसीको हरियो पातको रसमा ज्वानोको धुलो मिसाएर खाएमा पेटको जुका मर्दछन् ।
- तुलसीका ९–१० पात र आधा गिलास मनतातो पानी राखी त्यसमा मह मिसाएर दिनको ३–४ पटक पिएमा रुघाखोकी निको हुन्छ ।
- तुलसीको रसलाई सफा कपडाले छानेर दुई थोपा कानमा राखेमा कानको दुखाई ठीक हुन्छ ।
- माकुरा र मुसाले टोकेको ठाउँमा तुलसीको पातको रस लगाएमा तत्काल आराम मिल्छ ।
- तुलसीको दाना ९बिऊ०वा पात पिंधेर गाईको दूधसँग मिसाएर खाएमा पखाला लागेको रोकिन्छ ।
- तुलसीको १५–२० वटा पातलाई पानीमा राखेर उमाली त्यसमा थोरै विरेनुन राखेर खाँदा पेट ढुस्स परेको र अपच भएको निको हुन्छ ।
- तुलसीको रसले कुल्ला गरेमा दाँतबाट रगत बग्न रोकिन्छ र डाइरियामा लाभ गर्छ । बच्चाको पेट दुखेमा तुलसीको रस मनतातो बनाएर दुई चम्चा दिनको २ पटक खानेगरेमा पेट दुख्न बन्द हुन्छ । हुन त तुलसीको पातले विभिन्न किशिमका स्वास्थ्य समस्याहरुलाई निर्मुल पार्ने गर्दछ
आयुर्वेदमा पनि तुलसीको महत्वका बारेमा निकै चर्चा गरिएको छ । करिब–करिब सबै नेपालीको घरमा तुलसीको पात राखिएको हुन्छ भन्दा अतियूक्ती नहोला । तुलसीको पूजा गर्नुका साथै यसको डाँढ तथा पातलाई औषधिको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । तर धेरैलाई थाहा नहुन पनि सक्दछ की तुलसीको पातले साइड इफेक्क पनि गर्छ । बहुगुणी तुलसीको पात कुन अवस्थामा कस्ले सेवन गर्दा बेफाइदा हुन्छ त आउनुहोस् जानौं ।
गर्भवती महिलाका लागि ठीक हुदैंन
तुलसीको पातले गर्भवती महिलाको स्वास्थ्यसँगै पेटमा हुर्किरहेको बच्चालाई पनि नोक्सान पुर्याउन सक्दछ । यतिसम्म कि कुनै–कुनै अवस्थामा त गर्भपात अर्थात गर्भ नै तुहिनेसम्म हुन सक्दछ । तुलसीको पातमा ऐस्ट्रागल नामक एक तत्व रहने गर्दछ जसले गर्भासयमा असर पुर्याउने गर्दछ ।
मधुमेहका बिरामीले खानु हुँदैन
विभिन्न किशिमका अध्ययनहरुका अनुसार तुलसीको पातहरुको सेवनले रगतमा चिनीको मात्रा कम हुन जानछ । मधुमेहका बिरामी जो औषधि सेवन गरिरहेका छन् भने तुलसीको पात खानु निकै हानिकारक बन्न सक्दछ । औषधिको साथै तुलसीको पातले रगतमा चिनीको मात्रा ह्वात्तै घट्दा समस्या आउन सक्दछ ।
प्रजननमा समस्या
हुनत यस विषयमा गहिरो गरी अध्ययन हुन बाँकी रहेपनि यसको सेवनले सन्तान उत्पादन गर्ने उमेरका पुरुष तथा महिलाहरुमा उनीहरुको सन्तान उत्पादन क्षमतामा ह्रास ल्याइदिन सक्छ । तुलसीमा प्रजनन सम्बन्धि हर्मोन कम गर्ने क्षमता रहने हुँदा पनि फर्टिलिटीमा समस्या आउन सक्दछ ।
रगत पातलो गर्दछ
तुलसीको पात सेवनले शरीरमा रहेको रगत पातलो गर्न मद्दत गर्दछ । यदि कसैले रगत पातलो गर्ने औषधि लिइरहेको अवस्थामा तुलसीको पात पनि सेवन गरेमा दुवैको मिसावटले मानिसलाई नराम्रो असर पार्न सक्दछ । यसकारण तुलसीको पात वा अन्य औषधिमध्ये एउटा मात्र सेवन गर्नुपर्दछ ।
कलेजोलाई असर पर्न सक्छ
डब्लुएचओका अनुसार हामीले दुखाई कम गर्ने औषधि सेवन गरिरहेको बेला तुलसीको पात खानु हुँदैन् । यी दुवै चिज एकै पटक वा एकै समयमा नियमित खाएमा यसले कलेजोको कार्यप्रणालीमा गम्भीर असर पार्न सक्दछ ।
दाँतमा धब्बा पर्न सक्दछ
तुलसीको पातलाई चपाएर भन्दा सिधै निल्न चिकित्सकहरुले सुझाव दिने गर्दछन् । किने भने तुलसीमा रहेको एक प्रकारको तत्वले मानिसको दाँतमा कालो दाग वा धब्बा बनाइदिन सक्दछ । यसकारण दाँतको प्राकृतिक चमक हराउन नदिन पनि तुलसीको पात चबाएर खानु राम्रो हुँदैन ।