काठमाडौं । कारण नखुली तौल घट्ने, खाना नरुच्ने, जन्डिस हुने र विशेषगरी मध्य तथा बढी उमेरमा नयाँ मधुमेह देखिएमा प्यान्क्रियासको क्यान्सरको सम्भावनाबारे चिकित्सकीय मूल्यांकन गराउनुपर्ने प्रा. डा. प्रवीण विक्रम थापाले बताएका छन्।
काठमाडौं मेडिकल कलेजका सर्जरीका प्राध्यापक तथा कन्सल्टेन्ट लिभर एन्ड प्यान्क्रियास सर्जन थापाले स्वास्थ्य डायरीसँगको कुराकानीमा सुरुमा स्पष्ट लक्षण नदेखिँदा धेरै बिरामीमा यो क्यान्सर ढिलो पहिचान हुने गरेको जानकारी दिएका छन्।
उनका अनुसार, प्यान्क्रियास अर्थात् अग्न्याशयले खाना पचाउन आवश्यक पाचक रस उत्पादन गर्छ। यसले इन्सुलिन र ग्लुकागनजस्ता हर्मोन उत्पादन गरी रगतमा चिनीको मात्रा सन्तुलनमा राख्नसमेत मद्दत गर्छ। यही अंगमा हुने क्यान्सरलाई प्यान्क्रियाटिक क्यान्सर भनिन्छ।
डा. थापाले जन्डिससँगै शरीर चिलाउने, दिसाको रङ फिक्का वा माटोजस्तो हुने र पिसाब गाढा पहेँलो देखिने लक्षण आएमा छिट्टै चिकित्सकलाई देखाउनुपर्ने बताएका छन्। खाना नरुच्ने र अनपेक्षित रूपमा तौल घट्ने समस्या भएमा पनि कारण पत्ता लगाउन जाँच आवश्यक हुने उनको भनाइ छ।

उमेर बढेसँगै यसको जोखिम बढ्ने भए पनि कम उमेरका व्यक्तिमा समेत यो क्यान्सर देखिन सक्ने उनले जानकारी दिए। परिवारमा प्यान्क्रियासको क्यान्सर भएको इतिहास, दीर्घकालीन तथा वंशानुगत प्यान्क्रियाटाइटिस र प्यूट्ज–जेगर्स सिन्ड्रोमजस्ता आनुवंशिक अवस्थाले जोखिम बढाउन सक्छन्। धूमपान र मोटोपना पनि यसका जोखिम कारक हुन्।
कुन परीक्षण गरिन्छ?
स्वास्थ्य डायरीसँग कुरा गर्दै डा. थापाले क्यान्सरको शंका लागेमा बिरामीको अवस्था हेरेर रगतको परीक्षण, लिभर फङ्सन टेस्ट, सीटी स्क्यान र एमआरआई गरिने जानकारी दिए। यी परीक्षणले पित्तनलीमा अवरोध, प्यान्क्रियासमा गाँठो तथा रोगको फैलावट मूल्यांकन गर्न मद्दत गर्छन्।रगतमा जाँचिने ट्युमर मार्कर CA 19-9 ले पनि मूल्यांकनमा सहयोग गर्छ। यसको नतिजालाई अन्य परीक्षणसँग मिलाएर व्याख्या गरिन्छ। क्यान्सरको अन्तिम पुष्टिका लागि बायोप्सी वा शल्यक्रियाबाट निकालिएको तन्तुको परीक्षण गरिन्छ।

रोगको अवस्थाअनुसार उपचार
डा. थापाका अनुसार, ट्युमर शल्यक्रियाबाट पूर्ण रूपमा हटाउन सकिने अवस्थामा सर्जरी उपचारको महत्त्वपूर्ण विकल्प हुन्छ। उपचारको योजना बनाउँदा रोगको फैलावट, मुख्य रक्तनलीसँग ट्युमरको सम्बन्ध र बिरामीको समग्र स्वास्थ्य अवस्था हेरिन्छ।
तत्काल शल्यक्रिया गर्न कठिन तर उपचारपछि हटाउन सकिने सम्भावना भएका ‘बोर्डरलाइन रिसेक्टेबल’ बिरामीमा पहिले केमोथेरापी दिइने उनले बताए। त्यसपछि पुनः मूल्यांकन गरी शल्यक्रिया सम्भव भए अघि बढाइन्छ। शल्यक्रियापछि पनि केमोथेरापी आवश्यक पर्न सक्ने उनले जानकारी दिए।
रोग धेरै फैलिएको अवस्थामा केमोथेरापी तथा आवश्यकताअनुसार रेडियोथेरापी र लक्षण कम गर्ने उपचार अपनाइन्छ। निश्चित जीन परिवर्तन वा अन्य बायोमार्कर भेटिएका केही बिरामीमा टार्गेटेड थेरापी तथा इम्युनोथेरापी पनि उपचारका विकल्प हुन सक्छन्।
जटिल शल्यक्रियामा बढ्दो अनुभव
डा. थापाले प्यान्क्रियासको शल्यक्रिया जटिल भए पनि विशेषज्ञता र अनुभव बढेसँगै नतिजामा सुधार आएको बताएका छन्। स्वास्थ्य डायरीसँगको कुराकानीमा उनले आफ्नो टोलीले वर्षमा करिब ४० देखि ५० वटा प्यान्क्रियाटिक क्यान्सरका शल्यक्रिया गर्दै आएको जानकारी दिए।
प्यान्क्रियासको शल्यक्रियामा विशेषज्ञता र अनुभव बढेसँगै मृत्युदर घटेको डा. थापाले बताएका छन्। उनका अनुसार, विगतमा शल्यक्रियासँग सम्बन्धित मृत्युदर १० देखि १५ प्रतिशतसम्म हुने गरेकोमा उनको टोलीको अनुभवमा अहिले करिब १ देखि २ प्रतिशतमा झरेको छ।लक्षण देखिएपछि समयमै जाँच गराई रोगको अवस्थाअनुसार विशेषज्ञ टोलीको परामर्शमा उपचार अघि बढाउनुपर्ने उनले बताएका छन्।







