काठमाडौं । स्पष्ट लक्षण नदेखिए पनि मधुमेह हुन सक्ने भएकाले समयमै परीक्षण र उपचारमा ध्यान दिनुपर्ने ह्याम्स अस्पतालको इन्डोक्राइनोलोजी तथा मेटाबोलिज्म विभागका कन्सल्टेन्ट डा. विनय भट्टराईले बताएका छन्। लक्षण देखिएपछि मात्रै जाँच गराउने बानीले रोगको पहिचान ढिलो हुन सक्ने उनको भनाइ छ।
विश्व मधुमेह दिवसका सन्दर्भमा कुराकानी गर्दै डा. भट्टराईले अत्यधिक तिर्खा लाग्नु, बारम्बार पिसाब लाग्नु, धेरै भोक लाग्नु, अनायास तौल घट्नु र घाउ निको हुन समय लाग्नु मधुमेहका सम्भावित लक्षण भएको बताए। पुरुषमा लिङ्ग उत्तेजित हुन वा उत्तेजना कायम राख्न कठिनाइ हुने समस्या पनि मधुमेहसँग सम्बन्धित हुन सक्ने उनले उल्लेख गरे।
डा. भट्टराईका अनुसार कतिपय व्यक्तिमा स्पष्ट लक्षण नदेखिई मधुमेह हुन सक्छ। मुटु वा अन्य स्वास्थ्य समस्याको परीक्षण गर्दा मात्रै रगतमा चिनीको मात्रा बढी भएको पत्ता लाग्न सक्ने भएकाले लक्षणको प्रतीक्षा गरेर बस्न नहुने उनले बताए।
उनले विशेषगरी मोटोपना भएका, परिवारमा मधुमेहको इतिहास रहेका, गर्भावस्थामा मधुमेह देखिएका तथा उच्च रक्तचाप र कोलेस्ट्रोलको समस्या भएका व्यक्तिलाई नियमित परीक्षणमा ध्यान दिन सुझाव दिए। साथै, ३५ वर्षमाथिका व्यक्तिले मधुमेह परीक्षणबारे चिकित्सकसँग परामर्श लिनुपर्नेमा जोड दिए।
मधुमेह समयमै नियन्त्रण नगर्दा शरीरका विभिन्न अंगमा असर पुग्न सक्ने डा. भट्टराईले बताए। उनका अनुसार यसले हृदयघात, पक्षघात, मिर्गौलामा समस्या, आँखाको दृष्टिमा असर र खुट्टामा घाउ हुने जोखिम बढाउन सक्छ। खुट्टाको घाउ गम्भीर भएमा अंग काट्नुपर्ने अवस्थासमेत आउन सक्ने भएकाले उपचार र नियमित अनुगमन आवश्यक रहेको उनको भनाइ छ।

डा. भट्टराईले मधुमेह व्यवस्थापनमा सन्तुलित खानपान, नियमित व्यायाम, तनाव व्यवस्थापन र स्वस्थ तौल कायम राख्नु महत्त्वपूर्ण हुने बताए। यी बानीसँगै आवश्यक औषधि उपचारलाई निरन्तरता दिएर मधुमेहका जटिलताको जोखिम घटाउन सकिने उनको भनाइ छ।
खानपानमा ‘डायबेटिक प्लेट’को अवधारणा अपनाउन उनले सुझाव दिए। उनका अनुसार प्लेटको आधा भागमा सागपात तथा कम स्टार्च भएका तरकारी, एक चौथाइमा प्रोटिनयुक्त खानेकुरा र बाँकी एक चौथाइमा भात, रोटी वा अन्य अन्न राखेर भोजनको मात्रा सन्तुलित बनाउन सकिन्छ।
भात छोडेर रोटी वा ढिँडो खाँदैमा जति पनि खान मिल्छ भन्ने बुझाइ सही नभएको डा. भट्टराईले स्पष्ट पारे। रोटी र ढिँडो पनि अन्न भएकाले तिनको मात्रा मिलाउनुपर्ने र चिनी मिसाइएका पेयपदार्थबाट टाढा रहनुपर्ने उनको सुझाव छ।
आफ्नो शारीरिक क्षमताअनुसार नियमित हिँडडुल वा व्यायाम गर्न, तनाव कम गर्न र तौल बढी भए व्यवस्थापनमा ध्यान दिन आग्रह गरे। स्वस्थ जीवनशैलीले टाइप–२ मधुमेहको जोखिम घटाउन तथा मधुमेह भइसकेका व्यक्तिमा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग पुर्याउने उनले बताए।मधुमेह पहिचान भएपछि डराउनुभन्दा चिकित्सकीय सल्लाहअनुसार उपचार, नियमित परीक्षण र जीवनशैली व्यवस्थापनमा ध्यान दिनुपर्नेमा डा. भट्टराईले जोड दिए।








