
काठमाडौं । वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले वर्तमान सरकारसँग आफ्नो निकटता रहेको भन्ने दाबी अस्वीकार गरेका छन्। स्वास्थ्य डायरीसँगको अन्तर्वार्तामा उनले आफू लामो समयदेखि राजनीतिक दलबाट टाढा रहेर काम गर्दै आएको र आगामी दिनमा पनि त्यही बाटोमा रहने बताएका हुन्।
वर्तमान सरकारमा उनीनिकट व्यक्तिहरू रहेको भन्ने प्रश्नमा रुइतले उक्त बुझाइ गलत भएको स्पष्ट पारे। ‘यो सरकारको नजिक पनि कहीँ छैन म,’ उनले भने। आफ्नो करिब चार दशकको व्यावसायिक यात्रामा कुनै पनि राजनीतिक दलसँग नजिक नभएको उनको भनाइ थियो।

अन्तर्वार्तामा रुइतले नेपालको आँखा उपचार सेवाले पहुँच, गुणस्तर र आर्थिक दिगोपनमा उल्लेखनीय प्रगति गरेको बताए। गैरसरकारी क्षेत्रको सक्रियताबाट देशका विभिन्न स्थानमा सेवा विस्तार भएको उल्लेख गर्दै उनले नेपालको यो अभ्यास विश्वका लागि पनि अनुकरणीय रहेको धारणा राखे।
तिलगंगाले शुल्क तिर्न सक्ने बिरामीबाट प्राप्त आम्दानीले आर्थिक रूपमा कमजोर बिरामीको उपचारमा सहयोग पुर्याउने ‘क्रस सब्सिडी’ पद्धति अपनाएको उनले बताए। आर्थिक अभावका कारण मोतिबिन्दुको उपचारबाट वञ्चित भएका व्यक्तिबारे जानकारी दिनसमेत उनले आग्रह गरे।
‘कोही पनि मोतिबिन्दु भएको मान्छेले आर्थिक पहुँच नभएर सेवा पाउँदैन भने हामीलाई भन्नुहोला,’ रुइतले भने।

नेपाल आँखामा प्रत्यारोपण गरिने कृत्रिम लेन्स उत्पादनमा आत्मनिर्भर बनेको र विदेशमा समेत निर्यात भइरहेको उनले बताए। उनका अनुसार पछिल्ला तीन दशकमा तिलगंगाले ७० लाखभन्दा बढी लेन्स विश्वका ५० भन्दा बढी स्थानमा पठाइसकेको छ।
लेन्स उत्पादनको क्षमता विस्तार गर्न नयाँ उत्पादन संरचना निर्माण भइरहेको जानकारी दिँदै उनले यस क्षेत्रमा सरकारले पर्याप्त ध्यान नदिएको गुनासो गरे। अघिल्ला तथा वर्तमान सरकारसमक्ष विषय उठाए पनि अपेक्षित सहयोग नपाएको उनको भनाइ थियो।
नेपालमै उच्च प्रविधियुक्त चिकित्सा सामग्री उत्पादन र निर्यातको सम्भावना रहेको उल्लेख गर्दै रुइतले सरकारले त्यसका लागि अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिए।






