बागलुङ । संविधानसभा सदस्य हरिबहादुर खड्काको सडक दुर्घटनामा घाइते भएपछि उपचारका क्रममा निधन भएको घटनाले बागलुङस्थित धौलागिरि अस्पतालमा ट्रमा सेन्टर स्थापनाको आवश्यकता औँल्याएको थियो । तर, उनको निधन भएको एक दशकभन्दा बढी समय बितिसक्दा पनि अस्पतालमा प्रस्तावित ‘हरि खड्का ट्रमा सेन्टर’ सञ्चालनमा आउन सकेको छैन ।
२०७१ मंसिर २१ गते बागलुङ बजारनजिकै सडक दुर्घटनामा परी गम्भीर घाइते भएका खड्कालाई टाउकोको चोटको उपचारका लागि काठमाडौं लैजानुपरेको थियो । धौलागिरि अस्पतालमा त्यस्तो उपचारको व्यवस्था नहुँदा उनलाई समयमै उपचार दिन सम्भव भएन । उपचारकै क्रममा काठमाडौंमा उनको निधन भएपछि अस्पतालमा ट्रमा सेन्टर स्थापना गर्ने विषयले चर्चा पाएको थियो ।
त्यसपछि सरकारले २०७२ सालको नीति तथा कार्यक्रममा हरि खड्का ट्रमा सेन्टर स्थापना गर्ने योजना समेट्यो । अस्पतालले पछिल्लो १०–११ वर्षदेखि ट्रमा युनिटमार्फत चोटपटकका बिरामीको उपचार गर्दै आए पनि छुट्टै सेन्टर सञ्चालन गर्ने योजना भने कार्यान्वयन हुन सकेको छैन । अस्पतालको दीर्घकालीन योजनामा अझै पनि ‘हरि खड्का ट्रमा सेन्टर’ समावेश छ ।

अस्पतालमा रहेका तीनवटा भवनले सबै सेवा सञ्चालन गर्न पर्याप्त नभएपछि अस्पताल व्यवस्थापन समितिले थप पूर्वाधार निर्माणको तयारी अघि बढाएको छ । डी र ई ब्लक निर्माणका लागि भवन डिभिजन कार्यालयमार्फत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी सम्बन्धित विभागमा बजेट माग गरिएको अस्पतालका अध्यक्ष श्रीप्रसाद शर्माले बताए । उनका अनुसार ट्रमा सेन्टरका लागि आवश्यक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापनसमेत भइसकेको छ ।
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि सडक दुर्घटनामा परेका बिरामीको चाप बढ्दै गएको छ । यसले धौलागिरि अस्पतालमा ट्रमा सेन्टरको आवश्यकता थप बढाएको अस्पताल प्रशासनको भनाइ छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किरण तिवारीका अनुसार दैनिकजसो टाउकोलगायतका चोटपटक लागेका बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालको तथ्यांकअनुसार मासिक १५० भन्दा बढी बिरामी टाउकोलगायतका चोटका कारण उपचारका लागि पुग्छन् । अन्य प्रकारका चोटपटकका बिरामीको संख्या भने यसको दोब्बरभन्दा बढी छ ।

अस्पतालमा सिटी स्क्यान मेसिन जडान भइसकेको छ भने ट्रमा उपचारका लागि आवश्यक अन्य उपकरण र सामग्री पनि जुटाइएको छ । ठूला सहरी अस्पतालमा मात्र उपलब्ध हुने खालका शल्यक्रिया सेवा धौलागिरि अस्पतालमै भइरहेको उल्लेख गर्दै डा. तिवारीले आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापन गर्न सके ट्रमा सेन्टर सञ्चालन गर्न कठिन नहुने बताए ।
‘एकजना एमजिडिपी डाक्टरसहित विभाग बनाउन सकियो भने सेन्टर सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘हालको भवन अभावले पनि कठिनाइ भएको छ ।’
गण्डकी प्रदेश सरकारले विनियोजन गरेको १० करोड रुपैयाँमध्येबाट सिटी स्क्यान मेसिन ल्याइएको हो । ट्रमाका लागि दक्ष चिकित्सक र अन्य उपकरण तथा सामग्री पनि खरिद गरिएको छ । अस्पतालमा अन्य विशेषज्ञ चिकित्सक उपलब्ध भए पनि एमजिडिपी चिकित्सकको अभाव रहेको डा. तिवारीले बताए । उनका अनुसार एमजिडिपी चिकित्सक भए अन्य विशेषज्ञ चिकित्सक अनुपस्थित हुँदा पनि शल्यक्रिया सेवा सञ्चालन गर्न सहज हुनेछ ।
आर्थिक वर्ष २०७६/७७ देखि गण्डकी प्रदेश सरकारले ट्रमा सेन्टरका लागि हरेक वर्ष ५० लाख रुपैयाँ विनियोजन गर्दै आएको छ । उक्त रकम पर्याप्त नभए पनि उपलब्ध जनशक्तिबाट सेवा सञ्चालन गर्न सकिने अवस्था रहेको अस्पतालको भनाइ छ । अहिले मुख्य समस्या चिकित्सकको दरबन्दी र आवश्यक कोठाको अभाव रहेको डा. तिवारीले बताए । अस्पतालमा दुई जना रेडियोलोजिस्टको व्यवस्थापन भइसकेको पनि उनले जानकारी दिए ।
‘अब हामीलाई दिगो रूपमा चलाउने चुनौती र नियमित दक्ष जनशक्ति राख्ने चुनौती छ,’ उनले भने, ‘दरबन्दीमा मिलाउन सकियो भने नियमित हुने अवस्था बन्छ ।’
अस्पताल व्यवस्थापन समितिका अनुसार अन्य शल्यक्रिया सेवाका बिरामीलाई समेत राख्नुपर्ने भएकाले कम्तीमा १० बेडको आईसीयू सञ्चालन गर्न सके ट्रमा सेन्टरको अवधारणा पूरा गर्न सहज हुनेछ । अहिले अस्पतालमा चारवटा आईसीयू बेड रहे पनि आवश्यक व्यवस्थापन गर्न सके ६ बेडसम्म उपयोग गर्न सकिने अवस्था छ । ट्रमा सेन्टर पूर्ण रूपमा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण गरी दरबन्दी, उपकरण र प्रविधिबारे प्रतिवेदन तयार गर्नुपर्ने कानुनी व्यवस्था छ ।







