नयाँदिल्ली । भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ले गर्भमै रहेको शिशुको मेरुदण्डको गम्भीर जन्मजात समस्या शल्यक्रियामार्फत उपचार गरेर चिकित्सा क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेको छ। भारतमा पहिलोपटक गर्भमै रहेको शिशुको मेरुदण्डको यस्तो जटिल शल्यक्रिया गरिएको हो।
नोभेम्बर १२ मा एम्सका चिकित्सकहरूले २५ हप्ताको गर्भमा रहेको शिशुको ‘लुम्बोसाक्रल माइलोमेनिङ्गोसेल’ समस्याको खुला भ्रूण शल्यक्रिया गरेका हुन्। पाँच सातासम्मको तयारीपछि ३० जनाभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागितामा गरिएको शल्यक्रिया सम्पन्न गर्न करिब ६ घण्टा लागेको थियो।
माइलोमेनिङ्गोसेल स्पाइना बिफिडाको सबैभन्दा गम्भीर प्रकार हो। यस अवस्थामा भ्रूणको मेरुदण्डको हड्डी पूर्ण रूपमा बन्द नहुँदा मेरुदण्ड र त्यसलाई ढाक्ने झिल्ली बाहिर निस्कन्छ। यसले शिशुमा पक्षाघात, मस्तिष्कमा पानी जम्ने समस्या (हाइड्रोसेफलस) तथा जीवनभर स्नायु प्रणालीसम्बन्धी जटिलता निम्त्याउन सक्छ।
यो समस्या गर्भधारण भएको पहिलो महिनामै विकास हुन्छ। सामान्य अवस्थामा भ्रूणको मस्तिष्क र मेरुदण्ड बन्ने न्युरल ट्युब गर्भावस्थाको करिब २८ दिनमा बन्द हुनुपर्छ। तर, कुनै कारणले यो प्रक्रिया पूरा हुन नसक्दा स्पाइना बिफिडाजस्ता जन्मजात समस्या देखिन्छन्।
सामान्यतया यस्तो समस्याको उपचार शिशु जन्मिएपछि शल्यक्रिया गरेर गरिन्छ। तर, गर्भमै शल्यक्रिया गर्दा जन्मनुअघि नै मेरुदण्डमा थप क्षति पुग्ने जोखिम कम गर्न सकिने चिकित्सकहरूको विश्वास छ। उपयुक्त अवस्था भएका गर्भवतीमा २४ देखि २६ साताको गर्भावस्थाभित्र यस्तो शल्यक्रिया गर्न सकिन्छ।
शल्यक्रियाको नेतृत्व गरेका एम्सका न्युरोसर्जन डा. दीपक गुप्ताले गर्भमै गरिने शल्यक्रियालाई पूर्ण उपचारका रूपमा बुझ्न नहुने बताएका छन्। उनका अनुसार यस्तो शल्यक्रियापछि पनि शिशुलाई जन्मपश्चात् लामो समयसम्म न्युरोसर्जरी, पिसाब तथा मूत्र प्रणालीसम्बन्धी उपचार, हाडजोर्नी उपचार र पुनर्स्थापना सेवाको आवश्यकता पर्न सक्छ।
यद्यपि, अन्तर्राष्ट्रिय अध्ययनहरूले उपयुक्त रूपमा छनोट गरिएका गर्भमा जन्मनुअघि नै शल्यक्रिया गर्दा मस्तिष्कमा पानी जम्ने समस्याको उपचारका लागि गरिने शल्यक्रियाको आवश्यकता घट्ने र शिशुको प्रारम्भिक शारीरिक तथा मोटर विकासमा सुधार आउने देखाएका छन्।

सन् २०१२ मा प्रकाशित चर्चित ‘म्यानेजमेन्ट अफ माइलोमेनिङ्गोसेल स्टडी’ (एमओएमएस) ले पनि यसको प्रभावकारिता देखाएको थियो। उक्त अध्ययनअनुसार गर्भमै शल्यक्रिया गरिएका शिशुमध्ये १२ महिनाको उमेरसम्म ४० प्रतिशतलाई मात्रै मस्तिष्कमा जमेको पानी निकाल्न स्याम्ट राख्नुपर्ने अवस्था आएको थियो। जन्मपछि शल्यक्रिया गरिएका शिशुमा भने यस्तो अवस्था ८२ प्रतिशतमा देखिएको थियो।
त्यस्तै, गर्भमै शल्यक्रिया गर्दा शिशुको मोटर क्षमतामा सुधार आउनुका साथै चियारी टाइप–२ विकृतिसँग सम्बन्धित मस्तिष्कको पछिल्लो भाग तल सर्ने समस्या (हाइन्डब्रेन हर्निएसन) को जोखिमसमेत कम हुने अध्ययनले देखाएको छ।
एम्सको न्युरोसर्जरी विभागका प्रमुख प्रा. पीएस चन्द्रले भ्रूण अवस्थामै शल्यक्रिया गर्नुको महत्त्व औँल्याउँदै जन्मनुअघि नै समस्या नियन्त्रण गर्न सके हाइड्रोसेफलस र चियारी विकृतिको जोखिम घटाउन सकिने बताएका छन्।
एम्समा शल्यक्रिया गर्नुअघि पाँच सातासम्म विस्तृत तयारी गरिएको थियो। यस अवधिमा भ्रूणको विस्तृत इमेजिङ, अभिभावकलाई परामर्श, एनेस्थेसियासम्बन्धी तयारी र शल्यक्रियाको अभ्यास गरिएको थियो।
डा. गुप्ताका अनुसार भ्रूण शल्यक्रियालाई सामान्य शल्यक्रियाका रूपमा मात्रै हेर्न मिल्दैन। यसका लागि गर्भवती महिला र भ्रूण दुवैको सुरक्षा सुनिश्चित गर्ने समग्र स्वास्थ्य सेवा प्रणाली आवश्यक हुन्छ।
उनले उपयुक्त बिरामी छनोट, अभिभावकलाई निष्पक्ष परामर्श, नैतिक मापदण्डको पालना, स्पष्ट कार्यविधि, आकस्मिक अवस्थाको पूर्वतयारी तथा दीर्घकालीन उपचार र अनुगमनको व्यवस्था अनिवार्य हुने बताए।
शल्यक्रियामा न्युरोसर्जरी, मातृ तथा भ्रूण चिकित्सा, प्रसूति तथा स्त्रीरोग, एनेस्थेसिया, प्लास्टिक सर्जरी, रेडियोलोजी र नवजात शिशु उपचार विभागका विशेषज्ञ सहभागी थिए। एम्सको न्युरोसाइन्स सेन्टरमा उच्च क्षमताको माइक्रोस्कोप र निरन्तर अल्ट्रासाउन्ड प्रविधिको सहयोगमा शल्यक्रिया गरिएको थियो।

मातृ तथा भ्रूण चिकित्सा र प्रसूति व्यवस्थापनको नेतृत्व प्रा. डा. नीना मल्होत्रा र डा. के. अपर्णा शर्माले गरेका थिए।
गर्भमै शल्यक्रिया गर्दा शिशुलाई सम्भावित फाइदा भए पनि गर्भवती आमाका लागि विभिन्न जोखिम रहन्छन्। यस्तो प्रक्रियाले समयअगावै प्रसूति हुने सम्भावना बढाउन सक्छ। शल्यक्रियापछि पाठेघरमा दाग बस्ने भएकाले भविष्यमा हुने गर्भधारण र प्रसूति पनि जटिल बन्न सक्छ।
त्यसैले यो शल्यक्रिया सबै गर्भवतीका लागि उपयुक्त हुँदैन। विस्तृत परीक्षण र जोखिम मूल्याङ्कनपछि निश्चित मापदण्ड पूरा गर्ने गर्भवतीमा मात्रै यस्तो विधि अपनाइन्छ।
डा. गुप्ताका अनुसार भारतमा प्रत्येक वर्ष करिब एक लाख २० हजार शिशु न्युरल ट्युबसम्बन्धी जन्मजात समस्यासहित जन्मिने अनुमान छ। तीमध्ये २० देखि ३० हजार शिशुमा खुला जन्मजात विकृति हुने गर्छ।
सन् २०२४ मा भारतमा गरिएका २७ वटा अध्ययनको समीक्षाले प्रति एक हजार जन्ममा औसत ९.४६ जनामा न्युरल ट्युब डिफेक्ट देखिने उल्लेख गरेको थियो। उक्त समीक्षाले यस्ता समस्याको वास्तविक अवस्था पहिचान गर्न राष्ट्रियस्तरमा निगरानी प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औँल्याएको थियो।
चिकित्सकहरूका अनुसार न्युरल ट्युब गर्भधारण भएको करिब २८ दिनमा बन्द हुने भएकाले धेरै महिलालाई आफू गर्भवती भएको जानकारी हुनुअघि नै यसको विकास प्रक्रिया पूरा भइसकेको हुन्छ।
त्यसैले गर्भधारण गर्नुअघि र गर्भावस्थाको सुरुवाती समयमा फोलिक एसिड सेवन गर्नु महत्त्वपूर्ण हुन्छ। त्यस्तै, खाद्य पदार्थमा फोलिक एसिडको मात्रा बढाउने (फोर्टिफिकेसन) उपायले पनि यस्ता जन्मजात समस्याको जोखिम घटाउन सहयोग पुर्याउँछ।
डा. गुप्ताका अनुसार भारतका अन्य सरकारी अस्पतालमा समेत यस्तो शल्यक्रिया गर्न सकिन्छ। तर, त्यसका लागि विशेष सुविधासम्पन्न तृतीयस्तरका रेफरल अस्पताल आवश्यक पर्छन्।
यस्ता अस्पतालमा मातृ तथा भ्रूण चिकित्सा विशेषज्ञ, बाल न्युरोसर्जन, विशेष तालिमप्राप्त एनेस्थेसिया टोली, नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), आकस्मिक प्रसूति सेवा र दीर्घकालीन पुनर्स्थापना सेवाको व्यवस्था हुनुपर्छ।
उनले भ्रूण शल्यक्रियालाई कहिलेकाहीँ गरिने छुट्टै प्रक्रियाका रूपमा नभई व्यवस्थित स्वास्थ्य सेवा कार्यक्रमका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
एम्सले यस क्षेत्रमा विशेषज्ञ जनशक्ति उत्पादन, शल्यक्रियाको अभ्यास, नैतिक मापदण्डको पालना तथा राष्ट्रियस्तरको रेफरल र उपचारपछिको अनुगमन प्रणाली विकास गर्न नेतृत्वदायी भूमिका खेल्न सक्ने उनको भनाइ छ।
सन् २०१२ मा एम्समा भ्रूण शल्यक्रियाको छुट्टै कार्यक्रम विकास गर्ने अवधारणा अघि सारिएको थियो। त्यसको १४ वर्षपछि भारतमा पहिलोपटक यस्तो जटिल शल्यक्रिया सम्पन्न हुनुलाई लामो प्रयासको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
भारत सरकारको ‘जननी शिशु सुरक्षा कार्यक्रम’ अन्तर्गत उक्त शल्यक्रिया निःशुल्क गरिएको थियो। यसले भारतको सार्वजनिक स्वास्थ्य प्रणालीमा जन्मजात मेरुदण्डसम्बन्धी गम्भीर समस्या उपचारका लागि नयाँ सम्भावना खोलेको चिकित्सकहरूको विश्वास छ।







