काठमाडौँ । क्रिटिकल केयर नर्सेस एसोसिएसन नेपाल (सीसीएनएएन) को अध्यक्षमा बरुणा पौडेल निर्वाचित भएकी छन्। निर्वाचनबाट चयन भएको पौडेल नेतृत्वको नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ।
पौडेलको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो। कार्यसमितिको उपाध्यक्षमा प्रभा गौतम, महासचिवमा समिना अमात्य, सहसचिवमा मेनुका कार्की, कोषाध्यक्षमा गायत्री पौडेल र सहकोषाध्यक्षमा निशा भण्डारी चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा रोशनी श्रेष्ठ, सबिता कार्की, एलिसा गुभाजु र बिना भट्टराई रहेका छन्।

एसोसिएसनमा देशभरका चार सय नर्स आबद्ध छन्। नर्सिङ क्षेत्रमा २९ वर्षदेखि कार्यरत पौडेल हाल मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा नर्सिङ निर्देशकका रूपमा कार्यरत छिन्। उनले यसअघि नेपाली सेना, नेपाल मेडिसिटी अस्पताल र काठमाडौँको ह्याम्स अस्पतालमा समेत विभिन्न जिम्मेवारी सम्हालिसकेकी छन्।
नवनिर्वाचित अध्यक्ष पौडेलका अनुसार एसोसिएसनले क्रिटिकल केयर नर्सिङमा संलग्न जनशक्तिको दक्षता विकास, व्यावसायिक क्षमता अभिवृद्धि र सघन उपचार सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै आएको छ।
गम्भीर अवस्थाका बिरामीको उपचारमा क्रिटिकल केयर नर्सहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले यस क्षेत्रमा कार्यरत जनशक्तिलाई समयअनुसार आवश्यक ज्ञान र सीप प्रदान गर्नु आफ्नो प्रमुख जिम्मेवारी रहेको पौडेलले बताएकी छन्।








