काठमाडाैं । सामान्य रुघाखोकी, घाँटी दुख्ने वा ज्वरो आउनेबित्तिकै चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्ने प्रवृत्तिले औषधी प्रतिरोधको जोखिम बढ्दै गएको छ। आवश्यकताबिना एन्टिबायोटिक प्रयोग गर्ने र चिकित्सकले तोकेको पूरा मात्रा सेवन नगर्ने बानीले भविष्यमा सामान्य सङ्क्रमणको उपचारसमेत कठिन बन्न सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्।
सामान्य रुघाखोकी तथा भाइरल सङ्क्रमणमा एन्टिबायोटिकले काम गर्दैन। तर यस्ता समस्यामा समेत यसको जथाभाबी प्रयोग गर्दा जीवाणुमा औषधी प्रतिरोध गर्ने क्षमता विकास हुन सक्ने जोखिम रहन्छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२२ मा सातै प्रदेश समेटेर गरेको अध्ययनले पनि एन्टिबायोटिकको अनियन्त्रित प्रयोगको अवस्था उजागर गरेको छ। अध्ययनअनुसार ४३.४ प्रतिशत औषधी वितरकले चिकित्सकको सिफारिसबिना नै एन्टिबायोटिक बिक्री गर्ने गरेका छन्।
त्यस्तै, बहिरङ्ग सेवामा आएका करिब एक तिहाइ बिरामीले चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक खरिद गरेको पाइएको थियो। करिब एक चौथाइ बिरामीले चिकित्सकले तोकेको पूरा मात्रा सेवन नगरेको पनि अध्ययनले देखाएको छ। नेपालका आठ जिल्लामा गरिएको अध्ययनमा ७९ प्रतिशत उत्तरदाताले चिकित्सकको सिफारिसबिना औषधी पसलबाट एन्टिबायोटिक खरिद गर्ने गरेको पाइएको थियो। यी तथ्यांकले एन्टिबायोटिक प्रयोगबारे जनचेतना र औषधी बिक्रीको नियमन दुवै कमजोर रहेको देखाउँछन्।
औषधी प्रतिरोधसम्बन्धी विशेषज्ञ डा. सन्तोष दुलालका अनुसार एन्टिबायोटिकको जथाभाबी प्रयोगले जीवाणुमा औषधीविरुद्ध प्रतिरोध गर्ने क्षमता विकास हुन्छ। यसले गर्दा सामान्य सङ्क्रमणमा प्रयोग हुँदै आएका औषधीले समेत काम नगर्ने अवस्था आउन सक्छ।
उनले विश्व स्वास्थ्य सङ्गठनले औषधी प्रतिरोधलाई विश्वव्यापी जनस्वास्थ्य चुनौतीका रूपमा लिएको उल्लेख गर्दै चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्ने, आफैँ मात्रा घटाउने र स्वास्थ्यमा सुधार भएको भन्दै बीचमै औषधी छाड्ने प्रवृत्ति रोक्नुपर्ने बताए।

एन्टिबायोटिकको अनावश्यक प्रयोग नियन्त्रण गर्न सरकारले नियमनका उपायसमेत अघि बढाएको छ। विश्व स्वास्थ्य सङ्गठनको सन् २०२३ सेप्टेम्बरको सिफारिसपछि औषधी व्यवस्था विभागले सिफारिस नगरिएका १०३ प्रकारका एन्टिबायोटिक औषधीको दर्ता, नवीकरण, आयात तथा उत्पादनमा प्रतिबन्ध लगाएको थियो।
औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईका अनुसार मेरोपेनेम, पोलिमिक्सिन बी, पाइपेरासिलिन प्लस टाजोब्याक्टम, भ्यान्कोमाइसिन, कोलिस्टिन र लाइनजोलिड गरी छ प्रकारका एन्टिबायोटिक अस्पतालबाहेकका औषधी पसलबाट बिक्री गर्न रोक लगाइएको छ। गम्भीर सङ्क्रमणको उपचारमा प्रयोग हुने यी औषधीको अनावश्यक प्रयोग रोक्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनले बताए।
विभागले सन् २०२५ मा एन्टिमाइक्रोबियल औषधी खपत निगरानी कार्यविधिसमेत जारी गरेको थियो। यसमार्फत औषधी उत्पादक तथा आयातकर्ताबाट खपतको विवरण सङ्कलन र विश्लेषण गरी राष्ट्रिय तथ्यांक तयार गर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी सरकारले सन् २०२३ मा राष्ट्रिय एन्टिमाइक्रोबियल उपचार निर्देशिका जारी गरेको थियो। यसले स्वास्थ्यकर्मीलाई सङ्क्रमणको प्रकृतिअनुसार उपयुक्त औषधी, मात्रा र सेवन अवधि निर्धारण गर्न मार्गदर्शन गर्छ।
एन्टिमाइक्रोबियल प्रतिरोध नियन्त्रणका लागि सरकारले सन् २०२४ देखि २०२८ सम्मको राष्ट्रिय कार्ययोजनासमेत कार्यान्वयनमा ल्याएको छ। यसले मानव स्वास्थ्यसँगै पशुपन्छी, कृषि र वातावरण क्षेत्रमा समेत औषधीको विवेकपूर्ण प्रयोगलाई प्राथमिकता दिएको छ।








