काठमाडौं । जाडो मौसम सुरु भएसँगै तातो चिया र कफी पिउने बानी पनि बढ्न थालेको छ । बिहानको चिसो होस् वा साँझको सिरेटो, एक कप तातो चिया वा कफीले शरीरलाई न्यानो बनाउनुका साथै थकान र आलस्य कम भएको महसुस गराउँछ । कसैका लागि चिया दिनको सुरुवात गर्ने माध्यम बनेको छ भने कसैले काममा एकाग्रता र ऊर्जा बढाउन कफी रोज्ने गर्छन् । तर, स्वास्थ्यका हिसाबले चिया र कफीमध्ये कुन बढी लाभदायक छ भन्ने प्रश्न धेरैको मनमा हुन सक्छ ।
विज्ञहरूका अनुसार चिया र कफी दुवैका आ–आफ्नै स्वास्थ्य लाभ छन् । कुन पेय पदार्थ राम्रो भन्ने कुरा व्यक्तिको स्वास्थ्य अवस्था, क्याफिन सहन सक्ने क्षमता र सेवन गर्ने मात्रामा निर्भर गर्छ ।

कफीमा पाइने क्याफिनले मस्तिष्कलाई सक्रिय बनाउँदै निद्रा र थकानको अनुभूति कम गर्न सहयोग गर्छ । सीमित मात्रामा नियमित कफी सेवन गर्दा टाइप–२ मधुमेह, पार्किन्सन रोग तथा कलेजोसँग सम्बन्धित केही रोगको जोखिम कम हुन सक्ने विभिन्न अध्ययनले देखाएका छन् । कफीमा रहेका एन्टिअक्सिडेन्टले शरीरलाई अक्सिडेटिभ तनावबाट जोगाउन पनि भूमिका खेल्छन् । त्यसैले तत्काल सतर्कता र एकाग्रता बढाउन कफी प्रभावकारी मानिन्छ ।
अर्कोतर्फ, चियामा पनि स्वास्थ्यका लागि उपयोगी एन्टिअक्सिडेन्ट पाइन्छन् । विशेषगरी ग्रिन टीमा क्याटेचिन र ईजीसीजीजस्ता तत्व प्रशस्त हुन्छन् । यी तत्वले शरीरका कोषलाई क्षतिबाट जोगाउन सहयोग गर्छन् । केही अध्ययनले नियमित चिया सेवनले मुटुको स्वास्थ्य सुधार गर्न तथा कोलेस्ट्रोल र रक्तचाप नियन्त्रणमा सकारात्मक प्रभाव पार्न सक्ने देखाएका छन् । चियाले मस्तिष्कको स्वास्थ्यमा पार्न सक्ने प्रभावबारे पनि अनुसन्धान भइरहेको छ ।

क्याफिनको मात्राका हिसाबले भने कफी चियाभन्दा अगाडि छ । सामान्यतया एक कप कफीमा ८० देखि १०० मिलिग्राम क्याफिन पाइन्छ । त्यस्तै, एक कप कालो चियामा ३० देखि ५० मिलिग्राम र ग्रिन टीमा २० देखि ४५ मिलिग्रामसम्म क्याफिन हुन्छ । कफीमा क्याफिन बढी हुने भएकाले यसले छिटो सतर्कता बढाउन सक्छ । तर, अत्यधिक क्याफिन सेवन गर्दा मुटुको धड्कन बढ्ने, बेचैनी हुने र निद्रामा समस्या आउने जोखिम हुन्छ ।
अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) का अनुसार अधिकांश स्वस्थ वयस्कले दैनिक ४०० मिलिग्रामसम्म क्याफिन सेवन गर्न सक्छन् । गर्भवती महिलालाई भने दैनिक २०० मिलिग्रामभन्दा बढी क्याफिन सेवन नगर्न सुझाव दिइन्छ ।
चिया र कफी पिउँदा त्यसमा मिसाइने चिनी र क्रिमको मात्रामा पनि ध्यान दिन आवश्यक छ । धेरै चिनी र क्रिम प्रयोग गर्दा शरीरमा अनावश्यक क्यालोरी थपिन सक्छ । त्यस्तै, अत्यधिक तातो पेय पदार्थ सेवन गर्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान निकायका अनुसार ६५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमका पेय पदार्थ नियमित सेवन गर्दा अन्ननलीको क्यान्सरको जोखिम बढ्न सक्छ ।
समग्रमा, चिया वा कफीमध्ये एउटालाई सबैका लागि उत्तम मान्न सकिँदैन । कफीले सतर्कता र एकाग्रता बढाउन सहयोग गर्छ भने चियामा पाइने एन्टिअक्सिडेन्टले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छन् । त्यसैले आफ्नो स्वास्थ्य अवस्था र क्याफिन सहन सक्ने क्षमताअनुसार दुवै पेय पदार्थ सीमित मात्रामा सेवन गर्नु उपयुक्त हुन्छ । जाडोमा चिया वा कफीको स्वाद लिँदा कम चिनी प्रयोग गर्ने र अत्यधिक तातो अवस्थामा नपिउने कुरामा ध्यान दिनुपर्छ ।







