

काठमाडौं, ३ असार । नेपालको पुँजिबजारमा सूचिकृत पहिलो औषधि कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल्स फर्मास्युटिकल्स प्रालिलाई अधिग्रहण गर्ने निर्णय गरेको छ ।
कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले रोयलको सम्पूर्ण सम्पत्ति र दायित्व प्राप्ति गर्ने निर्णय गरेको ओम मेगाश्री फर्मास्युटिकल्सक लिमिटेडका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले स्वास्थ्य डायरीलाई जानकारी दिए ।
२०७३ सालमा स्थापना भएको रोयल्स फर्मास्युटिकल्सले करिब १ सय औषधिको उत्पादन अनुमति पाएको छ भने करिब ८० थरिका औषधि बजारमा रहेको कम्पनीका निर्देशक अविरल नेपालले बताए । ५४ करोड चुक्ता पुँजि रहेको उक्त कम्पनीले जनरल र क्रोनिक डिभिजनका औषधि बनाउँदै आएको थियो । कम्पनीका संस्थापकहरु प्रेम थापा, केशव लामिछाने लगायतसँग कम्पनीको शेयर खरिद गरेको नयाँ लगानीकर्ताको समूहले ६ महिना सञ्चालन गरेसँगै ओम मेगाश्रीलाई स्वामित्व हस्तान्तरण गर्ने निर्णय गरेको हो । ओम मेगाश्री भने ६० करोड पुँजिको कम्पनी हो । जसमा ४२ करोड प्रोमोटरको शेयर रहेको छ भने १८ करोड पब्लिक शेयर रहेको छ ।
निर्देशक नेपालका अनुसार शेयर बजारमा सूचिकृत ओम मेगाश्रीसँग एमओयु भएपनि सबै प्रकृया सकिन करिब ३ महिना लाग्नसक्ने बताए । दुवै कम्पनीको कारखना चितवनमै रहेको र दुवै कम्पनीले समान प्रकृतिका औषधि निर्माण गर्दै आएका छन् ।
आठ वर्षको इतिहास भएको ओम मेगाश्रीले पनि मूलतः जनरल, कार्डियाक र एन्टिडाइवेटिककै औषधि निर्माण गरिरहेको छ । ओम मेगाश्रीले ७० भन्दा धेरै औषधिको उत्पादन अनुमतिपत्र प्राप्त गरेर औषधि उत्पादन गरिरहेको छ ।


