

ललितपुर- युरोपेली छाला हेरचाह तथा व्यक्तिगत सरसफाइसम्बन्धी उत्पादन उत्पादन गर्ने ब्रान्ड ‘प्योर डर्मा’ ले नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ। ललितपुरमा आयोजित विशेष समारोह तथा पत्रकार सम्मेलनमार्फत कम्पनीले आफ्ना १५ वटा उत्पादन सार्वजनिक गर्दै नेपालमा व्यावसायिक यात्रा सुरु गरेको हो।
कार्यक्रममा स्वास्थ्यकर्मी, व्यवसायिक साझेदार, वितरक, सञ्चारकर्मी, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कम्पनीले गुणस्तरीय, सुरक्षित तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गरिएका छाला हेरचाह र व्यक्तिगत सरसफाइसम्बन्धी सामग्री नेपाली उपभोक्तामाझ उपलब्ध गराउने उद्देश्यसहित बजारमा प्रवेश गरेको जनाएको छ।
कार्यक्रममा ‘प्योर डर्मा नेपाल’का प्रमुख कार्यकारी अधिकृत प्रकाश पाठकले नेपाललाई सम्भावनायुक्त तथा तीव्र रूपमा विस्तार भइरहेको छाला हेरचाह बजारका रूपमा छनोट गरिएको बताए। उनले वैज्ञानिक रूपमा परीक्षण गरिएका तथा अन्तर्राष्ट्रिय गुणस्तरका मापदण्ड पूरा गरेका उत्पादन नेपाली उपभोक्तासम्म पुर्याउने कम्पनीको लक्ष्य रहेको उल्लेख गरे।
समारोहकी प्रमुख अतिथि रेजिना उप्रेतीले ‘प्योर डर्मा’को सफलताको शुभकामना व्यक्त गर्दै गुणस्तरीय स्वास्थ्य तथा सौन्दर्यसम्बन्धी उत्पादनहरूले नेपाली उपभोक्तालाई नयाँ विकल्प प्रदान गर्ने विश्वास व्यक्त गरिन्।

त्यसैगरी विशिष्ट अतिथिहरू डा. सन्तोष भण्डारी, डा. रामकृष्ण श्रेष्ठ, डोनाल्ड चा लगायतले कम्पनीको सफल भविष्यको कामना गर्दै नेपाली बजारमा अन्तर्राष्ट्रियस्तरका उत्पादनको उपलब्धताले उपभोक्तालाई लाभ पुग्ने धारणा राखेका थिए।
कार्यक्रमका अवसरमा कम्पनीले क्ल्यारिडर्मा एक्ने स्प्रे, डर्मा बोटोक्स क्रिम, हाफो हात तथा खुट्टा क्रिम, नुस बालबालिका क्रिम एसपीएफ–२५ प्लस, न्युटिक कोलाजेन नाइट र्यापिङ मास्क, प्योर बेबी क्रिम लगायत १५ वटा उत्पादन सार्वजनिक गरेको थियो।
कम्पनीका अनुसार ती उत्पादन विभिन्न उमेर समूह तथा छालाका फरक–फरक आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएका हुन्। गुणस्तर, प्रभावकारिता, वैज्ञानिक परीक्षण तथा अन्तर्राष्ट्रिय मापदण्डका आधारमा आफ्ना उत्पादन बजारमा उपलब्ध अन्य ब्रान्डभन्दा फरक रहेको कम्पनीको दाबी छ।
कम्पनीले नेपाली उपभोक्ताको आवश्यकता र विश्वासलाई केन्द्रमा राखेर उत्पादन बजारमा ल्याइएको जनाएको छ। कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले उत्पादनको विशेषता, प्रयोग विधि तथा उपभोक्ताले प्राप्त गर्न सक्ने फाइदाबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।
समारोहमा सञ्चारकर्मी, स्वास्थ्य तथा सौन्दर्य क्षेत्रका विज्ञ, व्यवसायी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कम्पनीले नेपालमा आफ्नो उपस्थितिसँगै स्वास्थ्य तथा सौन्दर्य क्षेत्रका उपभोक्तालाई अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय उत्पादन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।



