

ललितपुर – नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर (एनसीएचआरसी) ले आफ्नो नवौं स्थापना दिवसका अवसरमा १ अर्ब रुपैयाँ लगानीमा विश्वस्तरीय सर्वाङ्गीण क्यान्सर उपचार केन्द्र निर्माण गर्ने घोषणा गरेको छ।
अस्पतालले आगामी वर्षहरूमा रोबोटिक शल्यचिकित्सा, न्यूक्लियर मेडिसिनअन्तर्गत पेट–सिटी सेवा, क्याथल्याबलगायत अत्याधुनिक सुविधा एकै छतमुनि उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो। यसबाट नेपाली बिरामीले क्यान्सर उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम हुने विश्वास अस्पतालको छ।
अस्पतालका संस्थापक अध्यक्ष डा. सुदिप श्रेष्ठले नौ वर्षको यात्रामा संस्थाले हजारौं क्यान्सर बिरामीलाई उपचार सेवा प्रदान गर्दै विश्वासको केन्द्रका रूपमा आफूलाई स्थापित गरेको बताए। अबको विस्तार योजनाले नेपाललाई क्यान्सर उपचारको क्षेत्रीय गन्तव्य बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
हाल अस्पतालमा ११० चिकित्सक, २९० नर्सिङ कर्मचारी, ९८ प्राविधिक, ११० हाउसकिपिङ तथा १३२ प्रशासनिक कर्मचारीसहित ६१० जनशक्ति कार्यरत छन्। अस्पतालले बहुविध विशेषज्ञताको अवधारणाअनुसार क्यान्सर उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ।
अस्पतालले चालु वर्षमा ओलम्पस एनपीएल प्रणाली, पीएफटी माइक्रोस्कोप, फ्लेक्सिबल सिस्टोस्कोपी, ट्राइनोकुलर मेसिन तथा ह्यान्डलेस अल्ट्रासाउन्ड मेसिन जडान गरेको छ। आकस्मिक कक्ष, मेडिकल वार्ड, शल्यचिकित्सा वार्ड तथा क्याबिनलाई पूर्ण रूपमा वातानुकूलित बनाइएको छ।
त्यसैगरी, एमआरआई सेवा छिट्टै सञ्चालनमा ल्याइने र डिजिटल अभिलेख प्रणाली पनि सुरु गरिने अस्पतालले जनाएको छ। साथै रोबोटिक शल्यचिकित्सा, हाइपेक (तातो पेटभित्रीय किमोथेरापी), पेट–सिटी, क्याथल्याब तथा अन्य अत्याधुनिक उपकरण जडान गर्ने तयारी गरिएको छ।
विस्तार योजनाअन्तर्गत अस्पतालको क्षमता २०० शय्यासम्म पुर्याइनेछ। थप शल्यकक्ष, सघन उपचार कक्ष, विशेष निदान केन्द्र, बोन म्यारो प्रत्यारोपण तथा कोषिकीय उपचार केन्द्र स्थापना गरिने अस्पतालले जनाएको छ।
अस्पतालले नेपालका विभिन्न प्रमुख सहरमा सेवा केन्द्र विस्तार गर्ने तथा भविष्यमा नेपाललाई स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्य बनाउने लक्ष्यसमेत राखेको छ।


