

काठमाडौं, १८ जेठ । हालै चितवनमा सम्पन्न भएको नेपाल चिकित्सक संघको सम्मेलनमा भएको एक गैरजिम्मेवारपूर्ण घटनाले योग तथा प्राकृतिक चिकित्सा र एलोपेथिक चिकित्साकर्मीबीचको वैरभाव एवं शीतयुद्धलाई पुनः एकपटक सतहमा ल्याइदिएको छ । पछिल्ला वर्षहरुमा नसर्ने रोगको न्युनिकरण, पक्षघात, नशा एवं ढाड दुखाई सम्बन्धी समस्यामा योग तथा प्राकृतिक चिकित्सा प्रभावशाली देखिने भनेर कयौं वैज्ञानिक अध्ययनहरुले स्वीकार गरेका छन् । र त्यस्ता अनुसन्धानहरु अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलहरुमा प्रकाशित पनि भएका छन् । तर, नेपाल चिकित्सक संघले भने हालैमात्र एकजना प्राकृतिक चिकित्सकको यस्तै प्रकारको अनुसन्धानको प्रस्तुति गर्न अन्तिम समयमा रद्द गरेको हो ।

योग तथा प्राकृतिक चिकित्सामा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका डा. सुनिल पौडेलले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्वीकृति लिएरै एक अध्ययन गरेका थिए । हिँडडुल गर्नै गाह्रो हुने ढाडको दुखाई एवं कम्मरको डिस्क चिप्लिने समस्यामा प्राकृतिक चिकित्सा र योगको संयुक्त उपचार प्रभावकारी हुने भन्ने विषयको उनको अनुसन्धान प्रस्तुतिलाई सुरुमा नेपाल चिकित्सक संघले स्वीकृत गरेको थियो । सुरुमा उनलाई वैज्ञानिक समितिले पोष्टर प्रस्तुतिको स्वीकृति दिएपनि पछि मौखिक प्रस्तुतिकै निम्ति स्वीकृति दिएर सम्मेलनको दोश्रो दिन दिउसो १ः३० बजेको समय छुट्याइएको थियो । त्यसका लागि डा. पौडेल चितवन जाँदै गर्दा अन्तिममा उनलाई प्रस्तुति रद्द गरिएको सन्देश आएको हो ।

तर, सोही सम्मेलनमा अर्का मेडिकल काउन्सिलमा रजिष्ट्र नभएका प्राकृतिक चिकित्सकले भने प्रस्तुति दिएका छन् । मानसिक स्वास्थ्य र मुटुरोगमा योगको प्रभावकारिता विषयमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएका प्राकृतिक चिकित्सक डा. हेमराज कोइरालालाई चाहीँ सहभागी गराइएको थियो । डा. पौडेलले आफु मेडिकल काउन्सिलको चिकित्सकको रुपमा नभई एक अनुसन्धाताका रुपमा सम्मेलनमा सहभागी भएको र सुरुमा त्यसलाई स्वीकार गरिएपनि पछि हठात् रुपमा रोकिनु रहस्यमय भएको प्रतिक्रिया दिएका छन् । डा. पौडेलले यसैसम्बन्धी अनुसन्धानपत्र अमेरिकाको प्रसिद्ध सरकारी अनुसन्धान डेटाबेस पवमेड तथा क्युवान जर्नलमा समेत प्रकाशित भइसकेको छ । अमेरिकी राष्ट्रिय चिकित्सा पुस्तकालयद्वारा सञ्चालित पवमेड स्वास्थ्य तथा जैविक विज्ञानका अनुसन्धान प्रकाशनहरूको अन्तर्राष्ट्रिय खोज तथा सन्दर्भ प्रणाली हो। यसको अर्थ उनको अनुसन्धान चिकित्सक संघको सम्मेलनमा प्रस्तुत गर्न लायक नै थियो । तर, आधुनिक चिकित्सा र प्राकृतिक चिकित्साको जुंगाको लडाईं बाधक बनेको देखिन्छ ।
नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. अनिलविक्रम कार्कीले भने डा. पौडेलको अनुसन्धान भ्रमपूर्ण र बिना शल्यक्रिया कम्मरको डिस्क सरेको उपचार गर्ने भनेर मेडिकल साइन्सलाई नै चुनौति दिने खालको भएकाले वैज्ञानिक समितिले अस्वीकृत गरेको जवाफ दिएका छन् । तर, पौडेलको अनुसन्धान शीर्षकमा यस्तो उल्लेख छैन । हिँडडुल गर्नै गाह्रो हुने ढाडको दुखाई एवं कम्मरको डिस्क चिप्लिने समस्यामा प्राकृतिक चिकित्सा र योगको संयुक्त उपचार प्रभावकारी हुने भनिएको छ ।
सुरुमा स्वीकृति दिएपनि अन्तिममा वैज्ञानिक समितिले अनुचित ठानेर अस्वीकृत गर्नु अधिकारक्षेत्र भित्रकै कुरा हो । स्वास्थ्य डायरीसँग डा. कार्कीले भने । यद्यपी संघले पौडेललाई पठाएको इमेलमा भने अनुसन्धान भ्रमपूर्ण वा अपूर्ण भएको भनिएको छैन । त्यसमा मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले मात्र प्रस्तुतिमा सहभागी हुनपाउने भएकाले उनलाई अस्वीकृत गरिएको जवाफ पठाइएको छ । तर, संघको यो जवाफ संघले नै अर्का प्राकृतिक चिकित्सक डा. हेमराज कोइरालालाई प्रस्तुति दिन स्वीकृति दिनुसँग बाझिएको छ ।

डा. पौडेलले चिकित्सक संघको सम्मेलन (एनेमकोन) मा आफ्नो प्रस्तुति छनौट भएको विषय सामाजिक सञ्जाल फेसबूकमा लेखेका थिए । सोही कारणले उनको विषयमा विवाद सिर्जना भएको आंकलन गरिएको छ । तर, अर्का प्राकृतिक चिकित्सक डा. हेमराज कोइरालाले प्रस्तुति दिए र प्रमाण पत्र लिएर गए । उनको बारेमा मेडिकल काउन्सिलको दर्ता खोजिएन । यसलाई आधार मान्ने हो भने नेपाल चिकित्सक संघले एकजना अनुसन्धातामाथि अन्याय गरेको देखिन्छ । यद्यपी संघका अधिकारीहरु यसलाई मान्न तयार छैनन् ।
मेडिकल काउन्सिलाई स्वास्थ्य व्यवसायी परिषद्को काउन्टर
नेपाल मेडिकल काउन्सिलका अधिकारीहरुले प्राकृतिक चिकित्सकलाई डा. नलेख्न भनेर निर्देशन दिएसँगै प्राकृतिक चिकित्सक लगायत वैकल्पिक चिकित्सा र स्वास्थ्य व्यवसायीहरुको नियमनकारी निकाय नेपाल स्वास्थ्य व्यवसायी परिषदले आफ्नो धारणा बाहिर ल्याएको छ । गत जेठ १३ गते परिषदले एक सूचना जारी गर्दै सम्बन्धित परिषद्मा दर्ता भएका स्वास्थ्य जनशक्तिहरुलाई सम्बन्धित परिषदकै ऐन, कानुन अनुसार कार्वाही गरिने स्पष्ट पार्दै नेपाल मेडिकल काउन्सिलले अन्य विधाका विशेषज्ञमाथि दवाव सिर्जना गर्न नमिल्ने सन्देश दिएको छ ।
अझै विसं २०७८ सालमा परिषदले निकालेको एउटा जरुरी सूचनामा त विश्वविद्यालयले दिएको डाक्टर उपाधि लेख्न स्वास्थ्यकर्मीहरु स्वतन्त्र रहेको प्रष्ट पारेको छ । सूचनामा परिषदले भनेको छ, आधुनिक विकसित अवस्थामा विभिन्न विषय अन्तर्गत विभिन्न विश्व विद्यालयबाट प्रमाणपत्रमा डाक्टरको उपाधि सहितका स्वास्थ्यकर्मी पनि यस परिषदमा दर्ता भैरहेका छन् । जस्तै, डक्टर अफ अप्टोमेट्री, डक्टर अफ फिजियोथेरापी, डक्टर अफ होमियोप्याथी, डक्टर अफ न्याचुरोप्याथी एण्ड योगिक साइन्स इत्यादि ) यसरी विश्वविद्यालयले प्रमाणपत्रमा उल्लेख गरेको डाक्टर उपाधि बाहेककाले आफै उपाधि प्रयोग गर्न परिषद्को नियामानुसार मिल्दैन । यसको अर्थ राजिव गान्धी इन्स्टिच्युट अफ हेल्थ साइन्सले डा. सुनील पौडेललाई प्रमाणपत्रमै दिएको डाक्टर उपाधि लेख्न स्वास्थ्य व्यवसायी परिषद्को नियमानुसार मिल्ने देखिन्छ ।

२ सय वर्षअघि जस्तो वैज्ञानिकलाई फाँसी चढाउने दिन आयोः डा. पौडेल
भारतको प्रसिद्ध राजीव गान्धी इन्स्टिच्युट अफ हेल्थ साइन्सबाट अध्ययन गरेका पौडेलले आफुलाई विश्वविद्यालयले डाक्टरको उपाधि दिएको र सोही अनुसार नामको अगाडी डा. लेखेको बताए । एनेमकोनमा पनि आफुले चिकित्सकका रुपमा भन्दा पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित मापदण्ड अनुसार गरिएको अनुसन्धानको निश्कर्ष साझा गर्न खोजेको उनको भनाइ छ । अनुसन्धान र मेडिकल काउन्सिलको डा. उपाधिसँग कुने साइनो नभएको र आफ्नो मेडिकल काउन्सिलसँग कुनै सम्बन्ध नभएको पौडेलेको दावी छ । नेपाल मेडिकल काउन्सिल र आधुनिक चिकित्साका केही मानिस परम्परागत तथा प्राकृतिक चिकित्सकहरुको तेजोवध गर्न खुलेरै लागेकाले यस घटनलाई पनि आफुले त्यसको निरन्तरताको रुपमा बुझेको पौडेलले स्वास्थ्य डायरीसँग बताए । आफुले गरेको वैज्ञानिक शोधलाई काउन्सिलको दर्तासँग लगेर जोड्न खोजिनुले विज्ञान र आविष्कारलाई बन्धक बनाउने मध्यकालिन चरित्र आधुनिक मेडिकल चिकित्सा क्षेत्रले प्रदर्शन गरेको पौडेलको दावी छ ।
योग तथा न्याचुरोपेथी ढाड दुखाइको विकल्प हुनसक्ने भन्ने कस्ता अन्तर्राष्ट्रिय अनुसन्धान छन् ?
ढाड दुखाइ (Low Back Pain) विश्वव्यापी रूपमा अशक्तता निम्त्याउने प्रमुख कारणमध्ये एक मानिन्छ। यसको उपचारमा योगा तथा प्राकृतिक चिकित्सा (Naturopathy) को प्रभावकारिताबारे पछिल्ला वर्षहरूमा विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धान भएका छन्, जसमध्ये धेरै अध्ययनहरू अमेरिकाको सरकारी चिकित्सा अनुसन्धान डाटाबेस PubMed मा प्रकाशित छन्।
सन् २०१३ मा Clinical Journal of Pain मा प्रकाशित तथा PubMed मा सूचीकृत एक Systematic Review and Meta-analysis ले १० वटा र्यान्डमाइज्ड कन्ट्रोल्ड ट्रायल (RCT) र ९६७ बिरामीको अध्ययन विश्लेषण गरेको थियो। अध्ययनले योगाले दीर्घकालीन ढाड दुखाइ भएका बिरामीमा दुखाइको मात्रा घटाउन र दैनिक कार्यक्षमता सुधार गर्न सहयोग गर्ने निष्कर्ष निकालेको थियो।
PubMed लिंक: Effectiveness of Yoga for Chronic Low Back Pain: A Meta-Analysis
त्यसैगरी, सन् २०२२ मा प्रकाशित अर्को Systematic Review and Meta-analysis ले २७ वटा अध्ययन तथा २,७०२ सहभागीको तथ्यांक विश्लेषण गर्दै योगाले पुरानो ढाड दुखाइ भएका बिरामीमा मध्यम स्तरको लाभ पुर्याउन सक्ने जनाएको छ। अध्ययनले दुखाइ कम हुनुका साथै शारीरिक कार्यक्षमतामा पनि सुधार देखिएको उल्लेख गरेको छ।
PubMed लिंक: Yoga for Chronic Low Back Pain: Systematic Review and Meta-Analysis
अमेरिकाको National Center for Complementary and Integrative Health (NCCIH) ले समेत पुरानो ढाड दुखाइको व्यवस्थापनमा योगा, माइन्डफुलनेस तथा अन्य गैर–औषधीय विधिहरू उपयोगी हुन सक्ने जनाएको छ। NCCIH, अमेरिकी National Institutes of Health (NIH) अन्तर्गतको अनुसन्धान निकाय हो।
स्रोत: NCCIH: Yoga for Pain – What the Science Says
यद्यपि अनुसन्धानकर्ताहरूले योगा वा प्राकृतिक चिकित्सालाई आधुनिक चिकित्साको पूर्ण विकल्पका रूपमा नभई सहायक उपचार (Complementary Therapy) का रूपमा हेर्न सुझाव दिएका छन्। विशेषगरी डिस्क सरेको, नशा च्यापिएको वा स्नायुसम्बन्धी जटिल समस्या भएका बिरामीले चिकित्सकको परामर्शबिना उपचारको मुख्य विकल्पका रूपमा योगामा मात्र निर्भर हुनु उपयुक्त नहुने अध्ययनहरूले औंल्याएका छन्।
यसरी PubMed मा प्रकाशित अध्ययनहरूले योगा तथा केही प्राकृतिक उपचार पद्धतिले दीर्घकालीन ढाड दुखाइ व्यवस्थापनमा सकारात्मक भूमिका खेल्न सक्ने संकेत गरे पनि यसको प्रयोग चिकित्सकीय मूल्यांकन र मार्गदर्शनसँगै गर्नुपर्नेमा जोड दिएका छन्।


