चितवन । भरतपुर अस्पतालले बिरामीको चाप व्यवस्थापन, स्वास्थ्य सेवाको गुणस्तर सुधार, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने तथा भौतिक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको छ । अस्पतालमा बढ्दो बिरामीको चापलाई व्यवस्थित गर्दै सर्वसाधारणलाई सहज, सुलभ र गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न सुधारका काम अघि बढाइएको हो ।
हाल गत चैत २६ गतेदेखि अस्पतालको ४९औँ प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) का रूपमा डा. विश्वबन्धु बगालेले जिम्मेवारी सम्हालिरहेका छन् । यो उनको दोस्रो कार्यकाल हो । अस्पतालको तथ्याङ्कअनुसार उनले यसअघि ३९औँ मेसुका रूपमा वि.सं. २०७६ जेठ २ गतेदेखि असार १८ गतेसम्म जिम्मेवारी निर्वाह गरेका थिए ।
अस्पतालका मेसु डा. बगालेका अनुसार बिरामीलाई अस्पतालबाट प्रदान गरिने सेवा सहज बनाउने र अनावश्यक झन्झट कम गर्ने उद्देश्यले विभिन्न प्रविधिमैत्री व्यवस्था लागू गरिएको छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउँदै लैजाने प्रयास भइरहेको उनले बताए ।
अनलाइन टिकटदेखि टोकन प्रणालीसम्म
बिरामीको सहजतालाई ध्यानमा राख्दै अस्पतालले स्वास्थ्य बिमा भएका तथा बिमा नभएका दुवै प्रकारका बिरामीका लागि अनलाइन ओपीडी टिकट काट्ने व्यवस्था गरेको छ । त्यसैगरी, भुक्तानी प्रक्रियालाई सहज बनाउन फोनपे सेवा पनि सञ्चालनमा ल्याइएको छ ।
ल्याब परीक्षणपछि रिपोर्ट लिन हुने भीड र प्रतीक्षाको झन्झट कम गर्न रिपोर्ट निकाल्ने मेसिनबाट सेवाग्राहीले आफैँ रिपोर्ट लिन सक्ने व्यवस्था गरिएको छ । टिकट काउन्टर, फार्मेसी र प्रयोगशाला (ल्याब) जस्ता बढी भीडभाड हुने स्थानमा टोकन प्रणाली लागू गरिएको छ । यसले सेवाग्राहीको लाइन व्यवस्थापन तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आकस्मिक कक्षदेखि आईसीयूसम्म क्षमता विस्तारको योजना
अस्पतालले आगामी दिनमा बिरामीको चाप व्यवस्थापन र सेवा गुणस्तर सुधारका लागि पूर्वाधार विस्तारका योजनासमेत अघि सारेको छ । मेसु डा. बगालेका अनुसार आकस्मिक कक्षमा हुने अत्यधिक भीड, बेड अभाव र बिरामीलाई तत्काल आवश्यक सेवा उपलब्ध गराउन देखिने कठिनाइ समाधान गर्न आकस्मिक कक्षसँगै अब्जर्भेसन वार्ड निर्माण गर्ने योजना छ ।

त्यसैगरी, अस्पतालमा क्याबिन नपाउने बिरामीको गुनासो सम्बोधन गर्न बी ब्लकको माथिल्लो तलामा थप क्याबिन निर्माण गर्ने योजना बनाइएको छ । बिरामीका कुरुवालाई हुने असहजता कम गर्न छुट्टै बेडको व्यवस्था गर्ने योजना पनि अस्पतालको प्राथमिकतामा रहेको उनले बताए ।
सघन उपचार कक्ष (आईसीयू) मा बेड अभावको समस्या समाधान गर्दै गम्भीर अवस्थाका बिरामीलाई थप सहज रूपमा उपचार उपलब्ध गराउने उद्देश्यले आईसीयूसँगै हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) का बेड थप्ने योजना रहेको छ । यसबाट सघन निगरानी तथा उपचार आवश्यक पर्ने बिरामीलाई सेवा उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ ।
भीडभाड हुने ओपीडीका लागि छुट्टै भवनको अवधारणा
अस्पतालमा दैनिक बिरामीको बढी चाप रहने बहिरङ्ग सेवा (ओपीडी) लाई व्यवस्थित गर्न पनि विशेष योजना अघि सारिएको छ । जनरल मेडिसिन तथा हाडजोर्नीसम्बन्धी ओपीडीमा बिरामीको चाप बढी हुने भएकाले यस्ता सेवालाई छुट्टै भवनबाट विशेषज्ञ चिकित्सकसहित सञ्चालन गर्ने योजना रहेको मेसु डा. बगालेले बताए ।
यस व्यवस्थाले ओपीडीमा हुने भीडभाड कम गर्न, बिरामीलाई सम्बन्धित विशेषज्ञसम्म सहज पहुँच पुर्याउन तथा उपचार प्रक्रियालाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
डिजिटल प्रविधिमार्फत सेवा प्रवाहमा सुधार
अस्पतालले सेवा प्रवाहलाई थप चुस्तदुरुस्त, पारदर्शी र प्रभावकारी बनाउन डिजिटल प्रणालीको विस्तारलाई पनि प्राथमिकता दिएको छ । अनलाइन टिकट, डिजिटल भुक्तानी तथा रिपोर्ट प्राप्त गर्ने व्यवस्थालाई थप व्यवस्थित गर्दै अस्पतालका विभिन्न सेवामा प्रविधिको प्रयोग बढाउने प्रयास भइरहेको छ ।

बढ्दो बिरामीको चाप, सीमित पूर्वाधार र बेड अभावजस्ता चुनौतीका बीच अस्पतालको सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउनु महत्त्वपूर्ण रहेको छ । आकस्मिक कक्ष, आईसीयू, एचडीयू, क्याबिन तथा ओपीडीको क्षमता विस्तार गर्ने योजनाले मूर्तरूप लिएमा बिरामीले सेवा प्राप्त गर्न भोग्नुपर्ने कठिनाइ कम हुने अपेक्षा गरिएको छ ।
अस्पतालको दीर्घकालीन विकास, भौतिक पूर्वाधार विस्तार, विशेषज्ञ सेवाको पहुँच र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै अघि बढ्ने योजना रहेको मेसु डा. बगालेले बताए ।
उत्कृष्ट अस्पताल
भरतपुर केन्द्रीय अस्पताल विशेषज्ञ स्वास्थ्य सेवासहित गुणस्तरीय उपचार प्रदान गर्दै आएको सरकारी स्वास्थ्य संस्था हो । देशका विभिन्न जिल्लाबाट उपचारका लागि बिरामी आउने यस अस्पतालले न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो सेवा प्रवाह र संस्थागत क्षमताको पहिचान स्थापित गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सञ्चालन गरेको न्यूनतम सेवा मापदण्ड कार्यक्रमअन्तर्गतको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पतालले यस वर्ष ८९ अङ्क प्राप्त गर्दै सङ्घीय अस्पतालहरूमध्ये उत्कृष्ट स्थान हासिल गरेको छ ।

यसअघि गत वर्ष पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूल्याङ्कनमा ८८ प्रतिशत अङ्कसहित भरतपुर अस्पताल सङ्घीय अस्पतालहरूमध्ये पहिलो बनेको थियो । ८५ प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने अस्पताललाई प्रदान गरिने ‘ग्रिनजोन’ स्टिकरसमेत यस अस्पतालले प्राप्त गरेको थियो । लगातार उत्कृष्ट नतिजा हासिल गर्न सफल हुनुले अस्पतालको सेवा व्यवस्थापन र गुणस्तर सुधारको प्रयासलाई प्रतिबिम्बित गरेको छ ।
सामान्य स्वास्थ्य केन्द्रदेखि केन्द्रीय अस्पतालसम्म
भरतपुर अस्पतालको इतिहास वि.सं. २०१३ सालदेखि सुरु भएको पाइन्छ । राप्ती दुन उपत्यका विकास समिति र अमेरिकी सरकारको संयुक्त प्रयासमा सामान्य स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको यस संस्थालाई पछि वि.सं. २०२० सालमा ‘महेन्द्र आदर्श चिकित्सालय’ नामकरण गरिएको थियो ।
वि.सं. २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनपछि यसको नाम परिवर्तन गरी ‘भरतपुर अस्पताल’ राखिएको हो । अस्पताल विकास समिति भने वि.सं. २०५९ सालमा स्थापना भएको थियो ।
१५ शय्याबाट सेवा सुरु गरेको यस अस्पतालको क्षमता वि.सं. २०६७ सालसम्म आइपुग्दा ४१५ शय्या पुगेको थियो । हाल अस्पताल नेपाल सरकार र अस्पताल विकास समितिअन्तर्गतका शय्याहरू गरी करिब ६०० शय्या क्षमतामा सञ्चालन भइरहेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को वि.सं. २०७५ चैत ३ गतेको निर्णयअनुसार विशिष्ट विशेषज्ञ अस्पतालका रूपमा स्तरोन्नति गरिएको भरतपुर अस्पताल अहिले सङ्घीय सरकारअन्तर्गतको केन्द्रीय अस्पतालका रूपमा सञ्चालनमा छ । यसले यस क्षेत्रका नागरिकलाई विशेषज्ञ तथा विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
मध्य नेपालको एक आशाको केन्द्र
नेपालको मध्यभागमा अवस्थित भरतपुर अस्पताल चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, बारा, तनहुँ, लमजुङ, रुपन्देहीलगायत १९ भन्दा बढी जिल्लाका बिरामीका लागि उपचारको महत्त्वपूर्ण गन्तव्य बनेको छ ।
विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न टाढाटाढाबाट बिरामी आउने भएकाले यस अस्पतालको सेवा प्रवाहले चितवनसहित आसपासका जिल्लाको स्वास्थ्य सेवामा महत्त्वपूर्ण भूमिका खेलेको छ । सरकारी अस्पतालमा गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ यसको क्षमता र पूर्वाधार विस्तार आवश्यक बन्दै गएको छ । अस्पतालमा दैनिक औसत २ हजार ५ सय हाराहारी बिरामीले ओपिडी सेवा लिने गरेका छन् । अस्पतालको तथ्याङ्क अनुसार दैनिक ३ हजार ३ सयसम्म बिरामीले ओपिडी सेवा लिएका छन् ।
३१ बिघा जमिनमा नमुना अस्पताल बनाउने सम्भावना
भरतपुर अस्पतालसँग रहेको करिब ३१ बिघा जमिनलाई व्यवस्थित रूपमा उपयोग गर्न सके यसलाई नेपालको नमुना केन्द्रीय अस्पतालका रूपमा विकास गर्ने सम्भावना छ । त्यसका लागि निर्माणाधीन भवनहरू समयमै सम्पन्न गर्ने, थप आवश्यक भवन निर्माण गर्ने, आधुनिक उपकरण तथा प्रविधिको व्यवस्थापन गर्ने र उपलब्ध भौतिक पूर्वाधारको प्रभावकारी उपयोग गर्नु आवश्यक छ ।
अस्पतालले गुरुयोजनाअनुसार पूर्वाधार विकासलाई अगाडि बढाउँदै सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । बढ्दो बिरामीको चाप, विशेषज्ञ सेवाको माग र आधुनिक स्वास्थ्य सेवाप्रतिको अपेक्षालाई सम्बोधन गर्न पूर्वाधार विकाससँगै जनशक्ति व्यवस्थापन र सेवा प्रणालीमा सुधार पनि उत्तिकै महत्त्वपूर्ण हुनेछन् ।
न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनमा प्राप्त उत्कृष्ट नतिजाले अस्पतालको सम्भावना र उपलब्धिलाई उजागर गरेको छ । अब यस उपलब्धिलाई दिगो बनाउँदै बिरामीले समयमै सहज, सुलभ र गुणस्तरीय उपचार पाउने वातावरण निर्माण गर्नु अस्पतालको प्रमुख प्राथमिकता हुनुपर्छ ।
भवन निर्माण गर्ने, आधुनिक उपकरण तथा प्रविधिको व्यवस्थापन गर्ने र उपलब्ध भौतिक पूर्वाधारको प्रभावकारी उपयोग गर्नु आवश्यक छ ।
न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनमा प्राप्त उत्कृष्ट नतिजाले अस्पतालको सम्भावना र उपलब्धिलाई उजागर गरेको छ । अब यस उपलब्धिलाई दिगो बनाउँदै बिरामीले समयमै सहज, सुलभ र गुणस्तरीय उपचार पाउने वातावरण निर्माण गर्नु अस्पतालको प्रमुख प्राथमिकता हुनुपर्छ ।









