काठमाडौं । १७ वर्षदेखि निःसन्तानताको समस्याबाट गुज्रिरहेको एक दम्पतीले ह्याम्स अस्पतालमा उपचारपछि एकैपटक तिम्ल्याहा सन्तान पाएका छन्। आमाले दुई छोरी र एक छोरालाई जन्म दिएका हुन्।
ह्याम्स अस्पतालकी आईभीएफ इन्चार्ज स्वेता अधिकारीले १७ वर्षदेखि निःसन्तानताको समस्याबाट पीडित दम्पतीले तिम्ल्याहा सन्तान पाएको जानकारी दिइन्।
स्त्रीरोग तथा प्रजनन विशेषज्ञ डा. करिस्मा पाण्डेले लामो समयदेखि सन्तानको प्रतीक्षामा रहेका दम्पतीलाई एकैपटक तीन सन्तान प्राप्त गराउन सफल हुँदा निकै खुसी लागेको बताइन्। उनले दुई छोरी र एक छोरालाई आमाबुबाको काखमा सुम्पिन पाउँदा आफूहरू हर्षित भएको बताइन्।

डा. भोला रिजालले पनि आफूले उपचार गरेको निःसन्तान दम्पतीले सन्तानसहित घर फर्किन पाएकोमा खुसी व्यक्त गरे। उनले गर्भावधि पूरा नहुँदै सुरक्षित रूपमा प्रसूति गराउन सफल भएको जानकारी दिए।
दाङको घोराहीका रञ्जन न्यौपानेले सन्तान पाउनका लागि आफूहरूले विभिन्न ठाउँमा उपचार गराएको बताए। उनीहरू दुई वर्षभन्दा बढी समय भारतमा बसेर पनि उपचार गराएका थिए। त्यहाँ उपचार सफल नभएपछि ह्याम्स अस्पताल आएको उनले बताए।
डा. भोला रिजालसँग भेट भएपछि उनको सल्लाहअनुसार उपचार अघि बढाएको र अहिले एकैपटक तीन सन्तान प्राप्त गरेको रञ्जनले बताए। चिकित्सकहरूको सल्लाह र सुझावअनुसार उपचार गराएपछि आफूहरूको सन्तान प्राप्त गर्ने चाहना पूरा भएको उनले बताए।

प्रसूति भएको १० दिनपछि अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिँदै उनले ह्याम्स अस्पतालको टोलीप्रति आभार व्यक्त गरे। एकैपटक तीन सन्तान प्राप्त गर्न पाउँदा आफूहरू अत्यन्तै खुसी भएको उनको भनाइ छ।
उनकी पत्नी करुणा न्यौपानेले पनि ह्याम्स अस्पतालमा उपचारपछि तीन सन्तान प्राप्त भएकोमा खुसी व्यक्त गर्दै डा. भोला रिजालसहित उपचारमा संलग्न टोलीलाई धन्यवाद दिइन्।









