काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थप गरेको छ । आयोगको २८औँ बैठकले एमबीबीएस, बीएस्सी नर्सिङ र बीएमएसलगायतका कार्यक्रममा गत वर्षको तुलनामा सिट संख्या बढाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको बैठकले ८४ वटा शिक्षण संस्थामा विभिन्न तह र विषयका गरी कुल ९ हजार ६९१ सिट निर्धारण गरेको आयोग स्रोतले जनाएको छ । यस वर्ष सिट थप गर्दा सरकारी शिक्षण संस्थाको क्षमता विस्तारलाई प्राथमिकता दिइएको छ । निजी मेडिकल कलेजको सिट संख्या भने यथावत् राखिएको स्रोतले बताएको छ ।
आयोगका अनुसार यस वर्ष एमबीबीएस कार्यक्रममा मात्रै ११० सिट थप गरिएको छ । कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पहिलोपटक एमबीबीएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ । यस निर्णयसँगै विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सिट सुनिश्चित भएको छ ।
त्यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेनाद्वारा सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसतर्फ ३०/३० सिट थप गरिएको छ । गेटास्थित विश्वविद्यालयमा निर्धारण गरिएका ५० तथा दुवै प्रतिष्ठानमा थप गरिएका ३०/३० सिट जोड्दा एमबीबीएसतर्फ कुल ११० सिट वृद्धि भएको हो ।
यसैगरी, बीएस्सी नर्सिङ कार्यक्रममा २१० र बीएमएस कार्यक्रममा ९८ सिट थप गरिएको आयोग स्रोतले जनाएको छ । यी तीन कार्यक्रममा थपिएका सिट जोड्दा कुल ४१८ पुग्छ ।
आयोगका अनुसार सिट निर्धारणका लागि यस वर्ष ९० वटा शिक्षण संस्थाले स्वमूल्यांकन फारम भरेर आवेदन दिएका थिए । ती संस्थाले माग गरेका सिटबारे सम्बन्धित निकायबाट अनुगमन गरिएको थियो । अनुगमनबाट प्राप्त प्रतिवेदनका आधारमा ८४ वटा शिक्षण संस्थाको सिट निर्धारण गरिएको हो ।
शिक्षण संस्थाले सिट माग गर्दैमा स्वीकृति नदिइने आयोग स्रोतले जनाएको छ । उपलब्ध भौतिक पूर्वाधार, शिक्षक तथा अन्य जनशक्तिको अवस्था र आवश्यक मापदण्डको अनुगमनपछि मात्रै सिट निर्धारण गरिने स्रोतको भनाइ छ ।
‘सरकारी शिक्षण संस्थामा उपलब्ध पूर्वाधार, जनशक्ति र अनुगमन प्रतिवेदनका आधारमा सिट थप गर्ने निर्णय भएको हो । निजी मेडिकल कलेजको सिट संख्या भने यथावत् राखिएको छ,’ आयोग स्रोतले भन्यो ।









