काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा ७ जना चिकित्सक निर्वाचित भएका छन्। मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सक पेसामा आबद्ध उनीहरू सहमहामन्त्रीदेखि केन्द्रीय सदस्यसम्मका पदमा निर्वाचित भएका हुन्।
नतिजाअनुसार डा. फिरदोस आलम मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन्। यस्तै, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी पेसागत विषय विज्ञतर्फ केन्द्रीय सदस्यमा विजयी भएका छन्।

कैलालीका बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र पनि पेसागत विषय विज्ञतर्फबाट केन्द्रीय सदस्य बनेका छन्। स्त्रीरोग विशेषज्ञ प्रा.डा. सीता पोखरेल पनि सोही समूहबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
नेपाल चिकित्सक संघका अर्का पूर्वअध्यक्ष डा. मुक्तिराम श्रेष्ठ खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। त्यस्तै, क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनी झा मधेश प्रदेशबाट केन्द्रीय सदस्य बनेका छन्।
निर्वाचन समितिका अनुसार स्तन क्यान्सर शल्यचिकित्सक डा. योशिका भट्टराई कोशी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।









