
काठमाडौं, २० बैशाख । नेपाल चिकित्सक संघको कार्यकारिणी समितिका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
संघको कार्यालय प्रदर्शनी मार्गमा जारी मतगणनामा अध्यक्षका प्रत्याशी डा. मंगल रावलले अग्रता कायम राख्दै नयाँ इतिहास लेख्ने संकेत देखाएका छन् । विसं २००७ सालमा स्थापना भएको नेपालकै पुरानो पेशागत संगठनमध्येको एक नेपाल चिकित्सक संघको मुल नेतृत्वमा हालसम्म काँग्रेस निकट मानिने ‘प्रजातान्त्रिक’ प्यानलले जित निकाल्दै आएको थियो । प्रजातान्त्रिकहरुको एकछत्र जस्तै रहेको संघमा यसपटकको प्रारम्भिक मत रुझानलाई हेर्दा ‘बामपन्थी’ कित्ताले मूल नेतृत्व हत्याउने सम्भावना देखिएको छ ।
शनिवार रातिबाट सुरु भएको मतगणनाको १ हजार मत गणनामा रावलले ४ सय ६५ मत ल्याएर अग्रता कायम राखेका छन् । सदर मत मध्ये उनलाई ४६ दशमलव ७३ प्रतिशत मत प्राप्त भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी डा. बद्रि रिजालले ४ सय ९ मत पाएका छन् । उनले सदर मतको ४१ दशमलव ११ प्रतिशत मत प्राप्त गरेका छन् । टिम रिफर्म नाम दिइएको तेश्रो प्यानलका अध्यक्षका उम्मेदवार डा. नारायणप्रसाद भुषालले हालसम्म १ सय २१ मत प्राप्त गरेका छन् । उनले कुल सदर मतको १२ दशमल १६ मत प्राप्त गरेका छन् । अध्यक्षको मतगणनाका क्रममा ६ मत रद्द भएको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रारम्भिक मतगणनामा पछि परेका टिम मंगल समुहका डा. कीर्तिपाल सुवेदीले टिम बद्रिका उम्मेदवार निवर्तमान महासचिव डा. संजीव उप्रेतीलाई २० मतले पछि पार्दै अग्रता बनाएका छन् । डा. सुवेदीले ३ सय ९८ मत प्राप्त गर्दा डा. तिवारीको मत ३ सय ७८ छ । त्यस्तै तेश्रो समुहका डा. अजय कुमार मिश्राले १ सय ७५ मत प्राप्त गरेका छन् ।
महासचिवमा डा. कालुले विश्वराजलाई उछिने
त्यस्तै महासचिवमा पनि टिम मंगलकै उम्मेदवार डा. कालुसिंह खत्रीले अग्रता बनाएका छन् । प्रारम्भिक मतगणनामा पछि परेका खत्रीले १ हजार मत गणना गर्दा टिम बद्रीका उम्मेदवार डा. विश्वराज दवाडीलाई ३६ मतले पछि पारेका छन् । डा. खत्रीले ३ सय ७३ मत प्राप्त गर्दा डा. दवाडीले ३ सय ४७ मत प्राप्त गरेका छन् । भने टिम रिफर्मका उम्मेदवार डा. अमृत भुषालले २ सय ३७ मत प्राप्त गरेका छन् । उनीहरुले क्रमशः ३८ दशमलव ९८, ३६ दशमलव २६ र २४ दशमलव ७६ मत प्राप्त गरेका छन् ।
प्रदेश उपाध्यक्षहरुमा टिम बद्रिको बाहुल्यता
संघमा प्रदेश अनुसार अध्यक्ष चयन हुने व्यवस्था रहेको छ । सो अनुरुप ७ वटा प्रदेशमध्ये ४ वटामा बद्रि रिजाल पक्षधर उम्मेदवारले अग्रता लिएका छन् भने ३ वटा मंगल समुहका उम्मेदवार अगाडी छन् । बद्रि समुहबाट कोशी प्रदेश उपाध्यक्षमा डा. बद्रि समुहका डा. रोशन खड्का, मधेशमा डा. अमित रञ्जन मिश्रा, बागमतीमा डा. सुवास भट्टराई र सुदूरपश्चिममा डा. प्रमोद जोशीले अग्रता बनाएका छन् । त्यस्तै टिम मंगलबाट गण्डकीमा डा. यज्ञराज सिग्देल, लुम्बिनीमा डा. सन्तोष पोखरेल र कर्णालीमा डा. रवीन खड्काले अग्रता लिएका छन् ।
त्यस्तै कोषाध्यक्षमा समुहबाट डा. संयुक्त आचार्य, सहसचिवमा डा. हुलास अग्रवालले र सहकोषाध्यक्षमा डा. तेजसुसिंह मल्लले अग्रता कायम राखेका छन् । तिनैजना डा. बद्रि समुहका हुन् ।
६ जना सदस्य पदमा को को छन् अगाडी ?
प्रारम्भिक मतगणनामा सदस्य तर्फ अग्रस्थानमा रहेका मंगल समुहका उम्मेदवार डा. अरुण उप्रेतीलाई उछिन्दै बद्रि समुहका डा. हिमलाल भण्डारीले अग्रता बनाएका छन् । सदस्य तर्फ सर्वाधिक ५ सय ४ मत प्राप्त गर्दै भण्डारी अग्रस्थानमा छन् । दोश्रो स्थानमा ४ सय ४२ मतका साथ डा. उप्रेती, तेश्रोमा ४ सय १७ मत प्राप्त गर्दै टिम रिफर्मका शेषराज भण्डारी छन् । त्यस्तै चौथोमा डा. बद्रि समुहका डा. अमित झाले ३ सय ८३ मत पाएका छन् । पाँचौमा बद्रि समुहका डा. सुश्मित काफ्लेले ३ सय ६४ मत पाएका छन् भने छैठौंमा मंगल समुहकी डा. पल्पसा श्रेष्ठ रहेकी छिन् ।
हालसम्मको मतगणनालाई हेर्दा कुनैपनि प्यालन नै आउने सम्भावना छैन । पदाधिकारी र सदस्य सबै पदमा मिश्रित परिणाम आउने देखिन्छ । यसले के पनि देखाएका छ भने चिकित्सकहरुले प्यानल नहेरि व्यक्ति छानेर मत हालेका छन् । त्यस्तै नेपाल चिकित्सक संघ दलीय छायाँबाट मुक्त हुँदै गएको संकेत पनि यसपटकको निर्वाचन मतको प्रारम्भिक रुझानले देखाएको छ ।



