काठमाडौँ । स्तन क्यान्सर समयमै पहिचान गरी उपचार सुरु गर्न सके निको हुने सम्भावना बढ्ने भएकाले यसबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने विज्ञहरूले बताएका छन्। महिलामा देखिने प्रमुख क्यान्सरमध्ये स्तन क्यान्सर पनि एक भएकाले सामान्य लक्षणलाई समेत बेवास्ता नगरी नियमित परीक्षण गर्न उनीहरूले सुझाव दिएका छन्।
अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान संस्था (आईएआरसी) को ग्लोबोक्यान २०२४ प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर २४ लाख ३४ हजार ८७ जनामा नयाँ स्तन क्यान्सर देखिएको अनुमान छ। सोही वर्ष स्तन क्यान्सरका कारण ६ लाख ९३ हजार ६६० जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।
नेपालमा पनि सन् २०२४ मा एक हजार ७४६ जनामा नयाँ स्तन क्यान्सर देखिएको र ७५० जनाको मृत्यु भएको अनुमान गरिएको छ।
क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार स्तनमा गाँठो आउनु, घाउ देखिनु, मुन्टोबाट रगत वा अन्य तरल पदार्थ निस्कनु तथा छालामा सुन्तलाको बोक्राजस्तो परिवर्तन देखिनु स्तन क्यान्सरका सम्भावित लक्षण हुन्। यस्ता लक्षण देखिएमा बेवास्ता नगरी स्वास्थ्य संस्थामा गएर परीक्षण गराउनुपर्ने उनको सुझाव छ।
महिलाले आफ्नो स्तनको सामान्य आकार र बनावटबारे जानकारी राख्नुपर्ने डा. शाही बताउँछन्। स्तनमा कुनै असामान्य परिवर्तन देखिएमा समयमै परीक्षण गराउनुपर्छ। उनका अनुसार स्वयं स्तन परीक्षण स्तनमा देखिने असामान्य परिवर्तन पहिचान गर्ने सहज विधि हो।
१९ वर्ष उमेर पुगेपछि महिलाले महिनावारी भएको सातदेखि १० दिनभित्र नियमित रूपमा आफ्नो स्तन परीक्षण गर्नुपर्ने उनले बताए। महिनावारी बन्द भएका तथा गर्भवती महिलाले पनि स्तनको आकार, स्वरूप र बनावटमा आएको परिवर्तनबारे नियमित सचेत रहनुपर्ने उनको भनाइ छ।

स्तन क्यान्सर पहिचानका लागि चिकित्सकीय स्तन परीक्षण, अल्ट्रासाउन्ड, म्यामोग्राफी तथा आवश्यकताअनुसार बायोप्सी गरिन्छ। स्तन क्यान्सर महिलामा मात्र नभई पुरुषमा पनि देखिन सक्ने भएकाले दुवै लिङ्गका व्यक्तिले यसका लक्षणबारे जानकारी राख्न आवश्यक रहेको विज्ञहरू बताउँछन्।
जीवनशैलीमा आएको परिवर्तन, मोटोपना, मद्यपान तथा धूमपान, शारीरिक निष्क्रियता र अस्वस्थ खानपान स्तन क्यान्सरका सम्भावित जोखिम कारक हुन्। त्यस्तै, स्तनपान नगराउनुलाई पनि स्तन क्यान्सरको जोखिमसँग जोडिएको छ।
स्तन वा काखीमुनि नदुख्ने गाँठो आउनु, स्तनको आकार परिवर्तन हुनु, मुन्टो भित्र धसिनु, मुन्टोबाट पीप, रगत वा पानीजस्तो तरल पदार्थ निस्कनु यसका प्रमुख लक्षण हुन्। त्यसैगरी स्तन दुख्नु वा सुन्निनु, छालामा निको नहुने घाउ देखिनु तथा सुन्तलाको बोक्राजस्तो परिवर्तन आउनुलाई पनि सामान्य रूपमा लिन नहुने डा. शाहीको सुझाव छ।
स्तन क्यान्सरको जोखिम कम गर्न धूमपान तथा मद्यपानबाट टाढा रहने, नियमित व्यायाम गर्ने, तौल सन्तुलित राख्ने, पोषणयुक्त खाना खाने र स्तनको नियमित परीक्षण गर्ने बानी विकास गर्नुपर्ने विज्ञहरूले बताएका छन्।








