काठमाडौं । जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा निम्त्याइरहेका चुनौती र दक्षिण एसियाली मुलुकबीच स्वास्थ्य सहकार्य विस्तार गर्ने विषयलाई प्राथमिकतामा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता दुई अन्तर्राष्ट्रिय बैठकमा सहभागी हुन लागेकी छन् ।
मन्त्री मेहता शनिबार टर्की प्रस्थान गर्ने कार्यक्रम छ । उनी टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुनेछिन् । तर, सम्मेलनको पूरा अवधि टर्कीमा नबसी नोभेम्बर १० मै श्रीलंकाको राजधानी कोलम्बो जाने उनको कार्यक्रम छ ।
कोलम्बोमा आयोजना हुने बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी श्रीलंका जान लागेकी हुन् । यससँगै मन्त्री मेहताको यसपटकको तिहार पनि विदेश भ्रमणकै क्रममा बित्ने देखिएको छ ।
टर्कीमा हुने सम्मेलनमा नेपालको मुख्य चासो जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारिरहेको असर र त्यसको सामना गर्न स्वास्थ्य प्रणालीलाई सक्षम बनाउने विषयमा रहनेछ । बढ्दो तापक्रम, वायु प्रदूषण, बाढीपहिरो, खडेरी तथा अन्य जलवायुजन्य विपद्ले स्वास्थ्य क्षेत्रमा थप चुनौती सिर्जना गरिरहेका बेला नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना समस्या र आवश्यकताबारे धारणा राख्ने तयारी गरेको छ ।
सम्मेलनअन्तर्गत नोभेम्बर ९ मा स्वास्थ्य क्षेत्र केन्द्रित विशेष छलफलसमेत हुँदैछ । उक्त छलफलमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, विभिन्न देशका सरकारी अधिकारी तथा स्वास्थ्य क्षेत्रका विज्ञ सहभागी हुनेछन् ।
जलवायु परिवर्तनका कारण अत्यधिक गर्मीबाट हुने स्वास्थ्य समस्या, श्वासप्रश्वाससम्बन्धी रोग, पानी तथा खाद्यजन्य संक्रमण, कुपोषण र मानसिक स्वास्थ्यमा देखिएका असरलाई यसपटकको छलफलमा प्राथमिकता दिइने बताइएको छ । त्यस्तै, जलवायुजन्य विपद् सामना गर्न सक्ने अस्पताल निर्माण, स्वास्थ्य संस्थाको पूर्वतयारी र प्रभावित समुदायमा स्वास्थ्य सेवा विस्तारका विषय पनि उठ्नेछन् ।

टर्की भ्रमणमा मन्त्री मेहतासँग प्रमुख स्वकीय सचिव सुस्मिता क्षेत्री र मन्त्रालयका डा. इन्द्र ढकाल रहनेछन् ।
टर्कीपछि श्रीलंकामा हुने बिमस्टेक बैठकमा भने नेपालको प्राथमिकता सदस्य राष्ट्रबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तार गर्नु हुनेछ । संक्रामक तथा नसर्ने रोग नियन्त्रण, महामारीको तयारी, स्वास्थ्य आपत्कालीन व्यवस्थापन, औषधिमा पहुँच र स्वास्थ्य प्रणालीको क्षमता अभिवृद्धिजस्ता विषय बैठकको छलफलमा समेटिनेछन् ।
नेपालसहित भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य रहेको बिमस्टेक सन् १९९७ मा स्थापना भएको क्षेत्रीय संगठन हो । बंगालको खाडी क्षेत्रका देशबीच आर्थिक तथा प्राविधिक सहकार्य विस्तार गर्ने उद्देश्यले स्थापना भएको यस संगठनले स्वास्थ्यलाई पनि साझा प्राथमिकताका रूपमा अघि बढाउँदै आएको छ ।
कोलम्बो बैठकमा सहभागी हुन स्वास्थ्य सचिव डा. विकास देवकोटा, प्रशासन महाशाखा प्रमुख हुमकला पाण्डेलगायतका अधिकारी जाने तयारी छ । मन्त्री मेहता टर्कीबाट कोलम्बो प्रस्थान गरेपछि उनीसँगै टर्की गएका क्षेत्री र डा. ढकाल भने नेपाल फर्कनेछन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दुवै बैठकमा नेपालको प्रभावकारी सहभागिता सुनिश्चित गर्न आवश्यक तयारी भइरहेको छ । कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यबीचको सम्बन्धलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तथा बिमस्टेक बैठकबाट क्षेत्रीय स्वास्थ्य सहकार्यलाई थप बलियो बनाउने नेपालको उद्देश्य रहेको उनले बताए ।








