काठमाडौं, २३ असोज। वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा आवासीय चिकित्सकको आन्दोलन र संसद्मा उठेका आरोपले विवाद चर्काइरहेका बेला त्यसको पृष्ठभूमिबारे नयाँ पक्ष फेला परेको छ। कलेज निकट स्रोतका अनुसार पछिल्ला घटनाक्रममा विद्यार्थीका मागसँगै सञ्चालक परिवारको सम्पत्ति विवाद र केही व्यक्तिबीचको पुरानो टकराव पनि जोडिएको छ।
कलेजका अध्यक्ष डा. जैनुद्दिन अन्सारी र उनका भाइ बसरुद्दिन अन्सारीबीचको स्वामित्व विवाद, संघीय सांसद रहबर अन्सारीसँगको असमझदारी र आन्दोलनमा सक्रिय केही चिकित्सकको पूर्वकार्यस्थलसँगको सम्बन्ध यस विवादको पृष्ठभूमिका रूपमा देखिएको कलेज स्रोतको दाबी छ।
सम्पत्ति विवादले बढाएको दाजुभाइको कलह
अन्सारी दाजुभाइबीच वीरगञ्जको नेसनल मेडिकल कलेज, अत्तरखेलस्थित नेपाल मेडिकल कलेज र काठमाडौंस्थित नेसनल मेडिकल कलेजको लगानी तथा स्वामित्वलाई लिएर लामो समयदेखि असमझदारी रहेको छ। यो विवाद मिलाउन डा। भोला रिजालले मध्यस्थता गरेको प्रसंग यसअघि पनि बाहिर आएको थियो।

विवाद मिलाउने क्रममा जैनुद्दिनले काठमाडौंस्थित नेसनल मेडिकल कलेज भाइ बसरुद्दिनलाई दिने सहमति गरेका थिए। उक्त सहमति कार्यान्वयन नभएपछि बसरुद्दिन अदालत पुगेका थिए। कम्पनीको स्वामित्व हस्तान्तरणलाई दुई व्यक्तिबीचको व्यक्तिगत सम्पत्ति बाँडफाँटसरह लिन नमिल्ने र उक्त सहमतिका आधारमा मात्र शेयर हस्तान्तरण हुन नसक्ने अदालतले बताएपछि उनीहरूबीचको मतभेद र मनमुटाव थप चुलिएको कलेज व्यवस्थापन निकट स्रोतको दाबी छ।
त्यसपछि बसरुद्दिनले जैनुद्दिनलाई अप्ठ्यारो पार्ने चेतावनी दिएको र पछिल्ला घटनाक्रममा त्यसको प्रभाव परेको पनि सोही पक्षको दाबी छ।
होटलको भवन प्रसंग र पुरानो असमझदारी
सांसद रहबर अन्सारी र उनका पिता डा. ए.ई. अन्सारीसँग जैनुद्दिनको सम्बन्ध बिग्रिनुमा बाबा होटलको भवनसम्बन्धी प्रस्ताव पनि जोडिएको कलेज पक्षको भनाइ छ।
जैनुद्दिनको स्वामित्वमा रहेको उक्त भवनमा नर्सिङ कलेज सञ्चालन गर्ने प्रस्ताव लिएर उनीहरू बसरुद्दिनसँगै पुगेका थिए। भवन उपलब्ध गराउन जैनुद्दिनले अस्वीकार गरेपछि दाजुभाइबीच चर्को भनाभन भएको थियो। त्यस क्रममा बसरुद्दिनले ए.ई. अन्सारी तथा रहबरलाई जैनुद्दिनले उनीहरूको योजना रोकिरहेको बताएका थिए। यही घटनापछि बढेको असमझदारीको प्रभाव अहिलेको विवादमा समेत परेको स्रोतको जिकिर छ।
परीक्षा उत्तीर्ण गराउने अनुरोधपछि दबाब आएको आरोप
सांसद रहबर अन्सारीले कलेजमा अध्ययनरत आफ्ना एक आफन्तलाई परीक्षामा उत्तीर्ण गराउन जिम्मेवार पदाधिकारीसँग अनुरोध गरेको कलेज पक्षको आरोप छ।
कलेजका पदाधिकारीले विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षाको नतिजा आफ्नो इच्छाअनुसार परिवर्तन गर्न नसक्ने जवाफ दिएका थिए। त्यसपछि रहबरले असन्तुष्टि व्यक्त गर्दै राजनीतिक हैसियतमार्फत कलेजलाई अप्ठ्यारो पार्ने चेतावनी दिएको र संसद्मा उठाइएका आरोपमा पनि यही टकरावको प्रभाव रहेको स्रोतको दाबी छ।
गण्डक अस्पतालसँगको सम्बन्धमा को प्रश्न
संघीय सांसद रहबर अन्सारी वीरगञ्जस्थित गण्डक अस्पतालका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन्। उनको पार्टीले सार्वजनिक गरेको परिचयमा सन् २०११ देखि २०१६ सम्म उक्त जिम्मेवारी सम्हालेको उल्लेख छ। सशस्त्र प्रहरी बलको अस्पतालसँगको सम्झौतासम्बन्धी अभिलेखमा गण्डक अस्पतालका प्रबन्ध निर्देशक डा. ए.ई. अन्सारीको नाम उल्लेख छ।

सांसद अन्सारीले २०७९ माघ २४ गते मधेश प्रदेश सरकारको उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीका रूपमा शपथ लिएका थिए। सीटीईभीटीले सार्वजनिक गरेको २०८१ सालको सम्बन्धन प्रक्रियामा रहेका संस्थाहरूको विवरणमा गण्डक अस्पतालसँग सम्बन्धित प्रस्तावहरूमा १०० शय्या उल्लेख गरिएको छ। यो विवरण शैक्षिक कार्यक्रमको सम्बन्धन प्रक्रियासँग सम्बन्धित हो।
कलेज पक्षले अन्सारीको अस्पतालसँगको व्यावसायिक सम्बन्धका आधारमा हित–सम्बन्धको प्रश्न उठाएको छ। प्रदेश सरकारको जिम्मेवारीमा रहँदा अस्पतालको वास्तविक पूर्वाधारभन्दा बढी बेड क्षमताको स्वीकृति लिने प्रक्रियामा प्रभाव प्रयोग गरिएको आरोपसमेत लगाएको छ।
आन्दोलनरत केही चिकित्सक बसिरुद्दिनसँग जोडिएको दावी
आन्दोलनमा सक्रिय डा. सद्दाम हुसेनसहित केही चिकित्सक पहिले काठमाडौंस्थित नेसनल मेडिकल कलेजसँग कार्यगत रूपमा जोडिएको कलेज स्रोतको दाबी छ।
उनीहरूमध्ये केहीले पीजी अध्ययनका लागि वीरगञ्जको कलेज रोज्ने प्रक्रियादेखि नै व्यवस्थापनलाई अप्ठ्यारो पार्ने योजना बनाएको आरोप लगाउँदै यी घटनाक्रम भाइ बसिरुद्दिनले दाई जैनुद्दिनलाई देखाइदिन गरेको षडयन्त्र भएको जैनुद्दिन पक्षको बुझाई रहेको उनी निकट स्रोतको दावी छ ।
विद्यार्थीका माग र कलेजको प्रतिवाद
आन्दोलनरत आवासीय चिकित्सकहरूले भने निर्वाह भत्ता, कार्य समय, लगातारको ड्युटीपछि विश्राम, कारबाही खारेजी र चिकित्सकविरुद्ध दायर मुद्दा फिर्तालगायत माग अघि सारेका छन्। उनीहरूले अध्ययन वातावरण र शैक्षिक सुरक्षाको प्रश्न उठाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

सांसद सांसद रहबर अन्सारीले कलेजमा वास्तविक रूपमा काम नगर्ने व्यक्तिलाई संकाय सदस्य देखाइएको र निरीक्षणमा नक्कली बिरामी प्रस्तुत गरिएको आरोप संसद्मा लगाएका थिए।
कलेज पक्षले ती आरोप अस्वीकार गर्दै नियामक निकायको निरीक्षण र अनुगमनमा आवश्यक सहयोग गर्दै आएको जनाएको छ। आवश्यक संकाय सदस्य तथा पूर्वाधार निरीक्षणमा देखिएकै आधारमा सिट पाउँदै आएको कलेजको भनाइ छ।
कलेजले निष्पक्ष र तथ्यमा आधारित छानबिनमा सहयोग गर्ने सार्वजनिक प्रतिबद्धता जनाएको छ। अध्यक्ष डा. जैनुद्दिन अन्सारीले बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममार्फत विद्यार्थीलाई अध्ययनमा फर्कन आग्रह गर्दै सम्बन्धित विश्वविद्यालयको व्यवस्थाअनुसार अघि बढ्ने बताएका छन्।







