काठमाडौं, २३ असोज। इन्टर्न चिकित्सकको निर्वाह भत्तालगायत माग राखेर अनशन बसेका डिल्ली हरिजनले सरकारसँग तीनबुँदे सहमति भएपछि पाँच दिनदेखिको अनशन अन्त्य गरेका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारी नेतृत्वको सरकारी वार्ता टोली र हरिजन पक्षबीच शुक्रबार सहमति भएको हो।
सहमतिअनुसार एमबीबीएस, बीडीएसलगायत एकवर्षे इन्टर्नसिप गर्ने चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने प्रस्ताव चिकित्सा शिक्षा आयोगको बैठकमा पेस गरिनेछ।
यसले भत्ताबारे निर्णय गर्ने विषय आयोगसमक्ष लैजाने बाटो खोलेको छ। भत्ता तत्काल लागू गर्ने निर्णय भने भएको छैन।
अन्य माग सम्बोधन गर्न आयोगले अघि बढाइरहेका कामलाई अगाडि बढाउने र अनशन अन्त्य गर्ने विषय पनि सहमतिमा समेटिएका छन्।
हरिजन यसअघि साउनमा पनि अनशन बसेका थिए। त्यसबेला सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धतासहित साउन २२ गते उनीसँग सम्झौता गरेको थियो।







