

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, निःशुल्क उपचार तथा शव व्यवस्थापनको काम महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगायत अस्पतालहरुमा भइरहेको छ।
बाढीपछि अस्पताल प्रशासन, फोरेन्सिक विभाग तथा सुरक्षाकर्मीहरूको टोली २४सै घण्टा उद्धार तथा व्यवस्थापनको काममा खटिएको छ। बाढी प्रभावित क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल ल्याइएका घाइतेहरूको निःशुल्क उपचार भइरहेको अस्पतालले जनाएको छ।
बाढीबाट घाइते भएका तथा उद्धार गरिएका केही व्यक्तिहरूको काठमाडौंका विभिन्न अस्पतालमा समेत उपचार भइरहेको छ। सम्बन्धित अस्पतालहरूले घाइतेहरूको अवस्था हेरेर आवश्यक उपचार तथा व्यवस्थापन गरिरहेका छन्।

यता, बाढीपछि बेपत्ता भएका आफ्ना आफन्तको अवस्था बुझ्न अस्पताल परिसरमा ठूलो संख्यामा आफन्तहरू पुगेका छन्। अस्पतालका भित्ताहरूमा समेत बेपत्ता व्यक्तिहरूका तस्बिरहरू टाँसिएका छन्। आफन्तहरू ती तस्बिरमार्फत आफ्ना मानिसको खोजी गरिरहेका छन् भने कतिपय सहायता कक्षमा पुगेर जानकारी लिइरहेका छन्।



अस्पतालमा ल्याइएका शवमध्ये पहिचान खुलेका शव आफन्तलाई बुझाउने काम भइरहेको छ। पहिचान नखुलेका शवहरूको हुलिया, फोटो, औंठाछाप, दाँत तथा व्यक्तिगत सामग्रीका आधारमा पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ।
पहिचान खुल्न नसकेका शवहरूको डीएनए परीक्षणमार्फत पहिचान खुलाउने प्रक्रिया अघि बढाइने अस्पताल प्रशासनले जनाएको छ।
बाढीका कारण आफन्त गुमाएका तथा बेपत्ता भएकाहरूको खोजीमा रहेका परिवारहरू भने आफ्ना मानिस भेटिने आशामा अस्पताल परिसरमा घण्टौँदेखि पर्खिरहेका छन्।



