

दाङ- वर्षायामसँगै सर्पदंशका घटना बढिरहेका बेला दाङका प्रमुख अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम अभाव भएको छ। औषधिको मौज्दात सकिन थालेपछि सर्पदंशका बिरामीको उपचार प्रभावित हुने चिन्ता अस्पतालहरूले व्यक्त गरेका छन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही र लमही अस्पतालअन्तर्गत गढवास्थित सर्पदंश उपचार केन्द्रमा एन्टिस्नेक भेनम सकिएको छ। यस्तै, राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा पनि मौज्दात न्यून रहेकाले केही बिरामीको मात्रै उपचार गर्न सकिने अवस्था रहेको अस्पतालले जनाएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा हाल दुई जना सर्पदंशका बिरामी उपचाररत छन्। तर आवश्यक भेनम अभाव भएपछि उपचारमा कठिनाइ भएको र मौज्दात सकिएपछि राप्ती प्रादेशिक अस्पतालसँग सहयोगका लागि भेनम माग गरिएको उनले बताए।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले पनि गढवास्थित सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको जानकारी दिँदै राप्ती प्रादेशिक अस्पतालमा रहेको मौज्दातबाट बढीमा एक वा दुई जना बिरामीको मात्रै उपचार सम्भव हुने अवस्था रहेको बताए।
अस्पतालहरूले लुम्बिनी प्रदेश आपूर्ति केन्द्रमा आवश्यक भेनम उपलब्ध गराइदिन माग गरे पनि पर्याप्त परिमाणमा औषधि प्राप्त हुन नसकेको जनाएका छन्। वर्षायाममा सर्पदंशका घटना बढ्ने भएकाले उपचारमा थप समस्या आउन नदिन तत्काल पर्याप्त मात्रामा एन्टिस्नेक भेनम उपलब्ध गराउन सम्बन्धित निकायसँग अस्पतालहरूले आग्रह गरेका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा दाङमा सर्पदंशका कारण सात जनाको मृत्यु भएको थियो भने ३९ जना उपचारपछि निको भएका थिए।



