

-डा. सुदीप श्रेष्ठ
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ
काठमाडौं – फोक्सोको क्यान्सर विश्वभर सबैभन्दा बढी देखिने र सबैभन्दा बढी ज्यान लिने क्यान्सरमध्ये एक हो। नेपाल पनि यस समस्याबाट अछुतो छैन। धुम्रपान, सुर्तीजन्य पदार्थको सेवन तथा वायु प्रदूषणका कारण नेपालमा समेत फोक्सोको क्यान्सरका बिरामी बढ्दै गइरहेका छन्।
नेपाल क्यान्सर अस्पतालका एमडी, संस्थापक तथा कार्यकारी अध्यक्ष एवं वरिष्ठ मेडिकल अन्कोलोजिस्ट डा. सुदीप श्रेष्ठका अनुसार फोक्सोको क्यान्सरको सबैभन्दा ठूलो कारण धुम्रपान हो। धुम्रपान गर्ने व्यक्तिमात्र नभई धुम्रपान गर्नेको नजिक बस्ने व्यक्तिहरू पनि जोखिममा पर्ने गर्छन्।
“धुम्रपान फोक्सोको क्यान्सरको प्रमुख कारण हो। त्यसबाहेक प्रदूषण पनि ठूलो चुनौती बनेको छ। तर सबैभन्दा बढी असर चुरोट तथा सुर्तीजन्य पदार्थले नै गर्छ,” उनले भने। फोक्सोको क्यान्सरलाई केवल धुम्रपानसँग मात्र जोडेर हेर्न नहुने उनी बताउँछन्। पछिल्ला वर्षहरूमा वायु प्रदूषण, औद्योगिक धुलो, डिजेल धुवाँ तथा घरभित्रको धुवाँसमेत जोखिम कारकका रूपमा चिनिएका छन्। केही अध्ययनले धुम्रपान नगर्ने व्यक्तिमा समेत प्रदूषणका कारण फोक्सोको क्यान्सर बढ्न थालेको देखाएका छन्।
यसैले धुम्रपान त्याग्नु, प्रदूषणबाट जोगिनु र जोखिम समूहमा परेकाले नियमित स्क्रिनिङ गर्नु नै फोक्सोको क्यान्सरबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय मानिएको छ।
किन ढिलो पत्ता लाग्छ फोक्सोको क्यान्सर ?
फोक्सोको क्यान्सरको सबैभन्दा ठूलो समस्या यसको सुरुवाती चरणमा लक्षण नदेखिनु हो। यही कारण अधिकांश बिरामी तेस्रो वा चौथो चरणमा पुगेपछि मात्र अस्पताल पुग्ने गरेको डा. श्रेष्ठ बताउँछन्।
उनका अनुसार सुरुवाती चरणमा रोग पत्ता लागे उपचार सफल हुने सम्भावना निकै उच्च हुन्छ। तर धेरैजसो बिरामीमा खोकी, सास फेर्न गाह्रो हुने, रगत आउने वा तौल घट्ने जस्ता लक्षण देखिँदासम्म रोग फैलिसकेको हुन्छ।
विश्व स्वास्थ्य क्षेत्रका विभिन्न अध्ययनले पनि फोक्सोको क्यान्सरबाट हुने मृत्यु कम गर्न नियमित स्क्रिनिङ प्रभावकारी रहेको देखाएका छन्। विशेषगरी लामो समयदेखि धुम्रपान गर्ने ५० वर्षभन्दा माथिका व्यक्तिमा नियमित लो-डोज सीटी स्क्यानबाट स्क्रिनिङ गर्दा रोग प्रारम्भिक चरणमै पत्ता लगाउन सकिने तथ्य स्थापित भएको छ। छातीको साधारण एक्स-रेभन्दा लो-डोज सीटी स्क्यान बढी प्रभावकारी मानिन्छ।
एक्स-रे होइन, लो-डोज सीटी स्क्यान आवश्यक
डा. श्रेष्ठका अनुसार धेरैले एक्स-रेलाई नै पर्याप्त जाँच ठान्ने गर्छन्। तर फोक्सोको क्यान्सरको स्क्रिनिङका लागि एक्स-रेभन्दा लो-डोज सीटी स्क्यान आवश्यक हुन्छ।

“विशेषगरी धुम्रपान गर्ने र ५० वर्षभन्दा माथिका व्यक्तिले नियमित स्क्रिनिङ गर्नुपर्छ। जहाँ सीटी स्क्यानको सुविधा छ, त्यहाँ यो परीक्षण गर्न सकिन्छ,” उनले बताए।
अन्तर्राष्ट्रिय क्यान्सर सम्बन्धी संस्थाहरूले पनि ५० वर्षमाथिका उच्च जोखिम समूहका व्यक्तिलाई वार्षिक लो-डोज सीटी स्क्यान गर्न सिफारिस गरेका छन्।
एक दिनको कार्यक्रमले हुँदैन सचेतना
फोक्सोको क्यान्सरबारे जनचेतना फैलाउने काम कुनै एक दिन वा एक कार्यक्रममा सीमित हुन नहुने डा. श्रेष्ठको भनाइ छ।
“अगस्ट महिना फोक्सोको क्यान्सर सचेतना महिनाका रूपमा मनाइन्छ। तर एक दिन कार्यक्रम गरेर मात्र हुँदैन। यसलाई अभियानकै रूपमा निरन्तर लैजानुपर्छ। जनता र सरकार दुवैले साथ दिनुपर्छ,” उनले भने।
उनका अनुसार सुरुवाती चरणमा पत्ता लागे फोक्सोको क्यान्सर निको पार्न सकिने भएकाले जनचेतना नै सबैभन्दा ठूलो औषधि हो।


