
बुटवल, २२ बैशाख । लुम्बिनी प्रादेशिक अस्पतालले खाद्य पूरक सामाग्री सिफारिस गर्न रोक लगाएको छ ।
अस्पतालले सूचना जारी गर्दै औषधि व्यवस्था विभागमा दर्ता नभएका र औषधी उपचार प्रणाली भित्र नपर्ने तथा वैज्ञानिक प्रमाण र मापदण्ड स्पष्ट नभएका खाद्यपुरक सिफारिस गर्नलाइ रोक लगाएको हो । सेवा प्रवाह गर्ने क्रममा केहि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बिरामीहरुलाई खाद्य पूरक सामाग्री सिफारिस गर्ने गरेको गुनासो प्राप्त भएपछि अस्पतालले यस्तो कदम चालेको हो ।
पछिल्लो समय बिरामीलाई औषधि भन्दा ज्यादा खाद्यपुरक सिफारिस गर्ने प्रचलन विकृतिकै रुपमा देखापरेको छ । अस्पतालले यस्ता गतिविधिका कारण बिरामीलाई आर्थिक भार थपिएसँगै अप्रमाणिक खाद्यपुरकका कारणले बिरामीको उपचार प्रणालीमा नै असर गर्ने गरेको जनाएको छ ।
पछिल्ला वर्षहरुमा लुम्बिनीमा मात्र नभएर देशैभर यस्ता खाद्यपुरक (न्युट्रास्युटिकल्स) सिफारिस गर्ने क्रम बढेको छ । शरीरलाई आवश्यक नै नभएका भिटामिन र मिनिरल्सहरु चिकित्सकले नै सिफारिस गर्ने गर्दा सचेतना कम भएका बिरामीहरुले औषधिभन्दा महंगो मुल्य तिरेर खरिद गर्न विवश भइरहेका छन् ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरु खाद्यपुरक व्यवसायीहरुको प्रभाव र प्रलोभनमा परेर यस्तो विकृतिले बढावा पाइरहेको भन्दै औषधिकर्मी, फर्मासिस्ट र सरकारी अधिकारीहरुले आलोचना गर्ने गरेका छन् । लुम्बिनी अस्पतालले यस्ता प्रवृत्तिलाई रोक लगाएसँगै अन्य अस्पतालले पनि खाद्यपुरकको फोर्स सेलिङलाई रोक लगाउन सहज हुने अनुमान गरिएको छ ।
खाद्यपुरकलाई औषधि व्यवस्था विभागले नभई खाद्य विभागले स्वीकृति दिने हुँदा यो कुनै औषधीय वस्तु नभएको र चिकित्सकले सिफारिस गर्नु स्वार्थको खेलमात्र भएको औषधिविज्ञहरुले बताउने गरेका छन् ।


