
चितवन- चितवनस्थित भरतपुर अस्पतालले चिकित्सकहरूलाई महँगा तथा दर्ता नभएका न्यूट्रास्युटिकल्स औषधि प्रेस्क्राइब नगर्न निर्देशन दिएको छ । बिरामी तथा उनका आफन्तहरूबाट आएको गुनासोका आधारमा अस्पताल प्रशासनले यस्तो निर्णय लिएको हो ।
अस्पतालद्वारा जारी सूचनामा केही चिकित्सकहरूले उपचारका क्रममा अत्यधिक महँगा न्यूट्रास्युटिकल्स लेख्ने गरेको पाइएको उल्लेख गरिएको छ । यस्ता औषधिहरू औषधि व्यवस्था विभागमा दर्ता नभएको र यसले सर्वसुलभ तथा सस्तो उपचार उपलब्ध गराउने सरकारी नीतिविपरीत काम गरेको अस्पतालको भनाइ छ । अस्पताल प्रशासनले अबदेखि दर्ता नभएका कुनै पनि न्यूट्रास्युटिकल्स प्रेस्क्राइब नगर्न चिकित्सकहरूलाई सचेत गराएको छ ।
साथै, उक्त निर्देशन उल्लङ्घन गरेको पाइएमा प्रेस्क्रिप्सन अडिट गरी आवश्यक कारबाही अघि बढाइने चेतावनी पनि दिइएको छ । अस्पतालले गुणस्तरीय र किफायती स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै यस्ता गतिविधि नियन्त्रण गर्न कडाइ गर्ने जनाएको छ । अस्पतालले यसअघि पनि पटक-पटक सूचना नै जारी गर्दै चिकित्सकहरूलाई महँगा तथा दर्ता नभएका न्यूट्रास्युटिकल्स औषधि प्रेस्क्राइब नगर्न अनुरोध गर्दै आएको छ । यसले केही हतसम्म नियन्त्रण गरेपनि पूर्ण रूपमा अझै रोकिएको छैन ।
नेपालको मध्यभागमा अवस्थित यस भरतपुर केन्द्रीय अस्पतालमा चितवन जिल्लासहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, बारा, तनहुँ, लमजुङ, रुपन्देहीसहितका विभिन्न जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।



