

वीरगञ्ज – वीरगञ्जस्थित प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरमा भएको गम्भीर चिकित्सकीय लापरबाहीका कारण एक बिरामीको मृत्यु भएपछि नेपाल मेडिकल काउन्सिलले कडा कारबाही गरेको छ। काउन्सिलले अस्पतालका सञ्चालक तथा चिकित्सक डा. मनोजकुमार गुप्तालाई ६ महिनासम्म अन्य विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र काम गर्न पाउने (प्रोबेसन) निर्णय गरेको छ।
काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देव अनुसार फागुन ११ र १२ गते बसेको पूर्ण बैठकले घटनाको विस्तृत अध्ययन, शल्यक्रियामा संलग्न चिकित्सकहरूको बयान र विज्ञहरूको रायका आधारमा डा. गुप्तालाई कारबाही गर्ने निर्णय गरेको हो। काउन्सिलले यस निर्णयलाई बिरामीको जीवनमाथि खेलवाड गर्ने चिकित्सकीय त्रुटिविरुद्धको सन्देशका रूपमा पनि लिएको जनाएको छ।
२०८० कात्तिक १४ गते बाराका ३७ वर्षीय सुरेश साहलाई पेट दुख्ने समस्याका कारण प्रभु अस्पताल भर्ना गरिएकाे थियाे। प्रारम्भिक रूपमा उनलाई पित्तथैलीसम्बन्धी समस्या भएको बताइएको थियो, तर आवश्यक परीक्षण नगरी नै चिकित्सकले हतारमा शल्यक्रिया गरेको आरोप लागेको छ।
सुरेशको परिवारका अनुसार अस्पतालमा भर्ना भएको केही समयमै शल्यक्रिया गरिने जानकारी दिइएको थियो। तर आवश्यक जाँच र परीक्षण पर्याप्त रूपमा नभएको र रिपोर्टहरू परिवारलाई उपलब्ध नगराइएको थियो। शल्यक्रियापछि स्वास्थ्य सुधारको अपेक्षा गरिएको भए पनि उनको स्वास्थ्य क्रमशः जटिल बन्दै गयो। पेटमा पीडा, कमजोरी र अन्य समस्या देखिएपछि परिवारले उनलाई अर्को अस्पतालमा लैजानुपरेको थियो।
अन्य अस्पतालमा परीक्षण गर्दा सुरेशको शरीरमा क्यान्सर फैलिएको पुष्टि भएको थियो। स्वास्थ्य जटिल बन्दै गएपछि सुरेशले लामो समय उपचार गरे पनि अन्ततः २०८१ साउन ३२ गते निधन भयो। परिवारले प्रारम्भमै सही उपचार भएको भए ज्यान बच्ने सम्भावना रहेको बताउँछन्।
परिवारले २०८१ पुस २८ गते नेपाल मेडिकल काउन्सिलमा औपचारिक उजुरी दर्ता गरेका थिए। काउन्सिलले त्यसपछि विस्तृत छानबिन सुरु गरेको थियो। उपचार प्रक्रिया, शल्यक्रियाको विवरण, अस्पतालका कागजात र चिकित्सकहरूको बयान संकलन गरी अध्ययन गरिएको थियो। साथै विषयगत विज्ञहरूको रायसमेत लिइएको थियो।
छानबिनको निष्कर्षमा डा. मनोजकुमार गुप्ताबाट गम्भीर चिकित्सकीय लापरबाही भएको ठहर गरिएको र त्यस आधारमा उनलाई ६ महिनासम्म अन्य विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र काम गर्न पाउने गरी कारबाही गरिएको छ।


