

काठमाडौं – नेपाल औषधि उद्योगको विकास, प्राविधिक सुधार र व्यापार प्रवर्द्धनका लागि नेपाल र भारतका सम्बन्धित निकायबीच द्विपक्षीय सहयोगको सहमति भएको छ। यो सहमति नेपाल फर्मा एक्स्पो २०८२ को अवसरमा नेपाल औषधि उद्योग र भारत सरकारको इन्जिनियरिङ निर्यात प्रवर्द्धन परिषद् (ईईपिसी) बीच भएको हो।
सहमति अनुसार दुवै पक्षले नेपाली औषधि उद्योगलाई व्यावहारिक, सामाजिक र प्राविधिक रूपमा सबल बनाउन सहकार्य गर्नेछन्। साथै, औषधि उत्पादन क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र व्यावसायिक सीप आदानप्रदान गर्न दुवै देशका प्रतिनिधिहरूबीच नियमित सेमिनार र गोष्ठी सञ्चालन गरिनेछ।
सम्झौतामा औषधि उद्योगको विकासका लागि औद्योगिक भ्रमण र व्यापार व्यवसायलाई विस्तार गर्न एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता पनि उल्लेख छ। यस सहकार्यले नेपाली औषधि उत्पादकहरूलाई अन्तर्राष्ट्रियस्तरको प्रविधिमा पहुँच पुर्याउन र स्वदेशी उद्योगको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
भारत सरकारको ईईपिसीसँगको यो साझेदारीले नेपालको औषधि क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।



