
काठमाडौं- तिलगंगा आँखा प्रतिष्ठानले विश्व जलविन्दु सप्ताह तथा विश्व जलविन्दु दिवस २०२६ विभिन्न कार्यक्रमका साथ मनाएको छ।
प्रतिष्ठानले मार्च ७ देखि १४ तारिखसम्म जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै बिरामीको अवस्था अनुसार निःशुल्क आँखा उपचार, परामर्श सेवा तथा सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत जानकारीमूलक सामग्री प्रसारण गरिरहेको जनाएको छ।
प्रत्येक वर्ष मार्च १२ तारिखलाई विश्वभर विश्व जलविन्दु दिवसका रूपमा मनाइन्छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार जलविन्दु विश्वव्यापी रूपमा अन्धोपनको प्रमुख कारणहरूमध्ये एक हो। यो आँखासम्बन्धी यस्तो रोग हो जसले क्रमशः दृष्टि नसालाई क्षति पुर्याउँदै जान्छ। समयमै पहिचान र उपचार नभएमा यसले स्थायी अन्धोपनसमेत गराउन सक्छ।
जलविन्दु रोगको सुरुआती चरणमा स्पष्ट लक्षण नदेखिने भएकाले नियमित आँखा परीक्षण अत्यन्त आवश्यक मानिन्छ।
तिलगंगा आँखा प्रतिष्ठानले सार्वजनिक गरेको सन् २०२५ को तथ्यांकअनुसार प्रतिष्ठानमा जलविन्दु सम्बन्धी सेवा लिन आउने बिरामीको संख्या १५ हजार २९४ रहेको थियो।
उमेर समूहका आधारमा हेर्दा ० देखि १४ वर्ष उमेर समूहका ८४० जना, १५ देखि ५९ वर्ष उमेर समूहका ८ हजार ३२० जना तथा ६० वर्ष वा सोभन्दा माथिका ६ हजार १२४ जनाले जलविन्दु सम्बन्धी सेवा लिएका छन्।
प्रतिष्ठानका अनुसार जलविन्दु देखिएका तथा उपचार गराएका बिरामीहरूलाई लिङ्गका आधारमा हेर्दा महिला र पुरुषको संख्या करिब उस्तै देखिएको छ।
यस तथ्यांकले जलविन्दु सबै उमेर समूहका व्यक्तिमा देखिन सक्ने भए पनि विशेषगरी युवा तथा वृद्ध उमेर समूहमा यसको जोखिम बढी रहने तथ्यलाई उजागर गरेको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानले विशेष गरी ४० वर्षभन्दा माथिका व्यक्तिहरू, परिवारमा जलविन्दुको इतिहास भएका व्यक्तिहरू, मधुमेह तथा उच्च रक्तचाप भएका व्यक्तिहरूलाई नियमित आँखा परीक्षण गराउन आग्रह गरेको छ।
समयमै रोग पहिचान गरी उपचार गर्न सके जलविन्दुबाट हुने दृष्टि क्षति रोक्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले सबैलाई सचेत रहन प्रतिष्ठानले सुझाव दिएको छ।




