

दाङ- घोराही उपमहानगरपालिका–१६ सर्रास्थित लामो समयदेखि अलपत्र अवस्थामा रहेको बाल अस्पताल भवनको संरक्षण र सञ्चालनका लागि पहल गर्न माग गर्दै ‘घोराही बनाऔँ अभियान’ले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाएको छ।
अभियानका संयोजक सविन प्रियाशनकको नेतृत्वमा गएको टोलीले निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि सञ्चालनमा आउन नसकेको बाल अस्पताललाई तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल गर्न आग्रह गरेको हो।
ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी पुनले बाल अस्पताल सञ्चालनको विषय अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यस सम्बन्धमा आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
२०६६ सालमा स्थापना गरिएको उक्त बाल अस्पताल केही समय सञ्चालनमा आए पनि पछिल्लो समय सेवा बन्द भएपछि भवन अलपत्र अवस्थामा पुगेको छ। अस्पताल सञ्चालन नहुँदा स्थानीय बासिन्दा विशेषगरी बालबालिकाको उपचारका लागि अन्यत्र जान बाध्य भएका छन्।
अस्पताल भवनको संरक्षण गर्दै प्रभावकारी रूपमा स्वास्थ्य सेवा सञ्चालन गर्न सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने माग ‘घोराही बनाऔँ अभियान’ले गरेको छ।



