
ओखलढुङ्गा- प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन्।
शहीद स्मृति आधारभूत विद्यालय सातसल्लेमा रहेको मतदान केन्द्रमा बिहान १० बजेसम्म एक जना पनि मतदाताले मतदान नगरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रान्तीका अनुसार बिहानदेखि मतदानका लागि सम्पूर्ण तयारी पूरा भए पनि मतदाता उपस्थित नभएका कारण केन्द्रमा एक मत पनि खसेको छैन।
मतदान अधिकृत पर्वासी राईका अनुसार मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी तथा आवश्यक व्यवस्थापन सबै तयारी अवस्थामा भए पनि मतदाता नआएका कारण बिहानको समय शून्य मतदानमै बितेको हो।
स्थानीयका अनुसार टोक्सेल क्षेत्रमा प्रादेशिक अस्पताल निर्माणका लागि १६६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराइएको थियो। सोही आधारमा अस्पताल निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार गरिएको भए पनि निर्माणका लागि आवश्यक बजेट विनियोजन नभएपछि स्थानीय असन्तुष्ट बनेका हुन्।
यस विषयमा स्थानीय माधव ढुङ्गानाको नेतृत्वमा संघर्ष समिति गठन गरिएको छ। समितिले अस्पताल निर्माणका लागि बजेट सुनिश्चित नभएसम्म निर्वाचनमा सहभागी नहुने निर्णय गरेको जनाएको छ।
स्थानीयले अस्पताल निर्माणको माग पूरा गर्नुपर्ने अन्यथा भोट नहाल्ने अडान राख्दै मतदान बहिष्कार गरेका हुन्।
उक्त निर्णयको प्रभाव मतदान केन्द्रमा स्पष्ट देखिएको स्थानीयहरूले बताएका छन्। हिजो चार राजनीतिक दलले पनि स्थानीयको माग र भावनाअनुसार मतदान कार्य बहिष्कार गर्ने बताएका थिए।
यद्यपि, मतदान गर्न चाहने मतदातालाई कसैले अवरोध नगर्ने सहमति गरिएको जनाइएको छ।
उक्त मतदान केन्द्रमा ७०१ जना मतदाता रहेका छन्। दिनभर मतदान प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयमा स्थानीय तथा प्रशासनको ध्यान केन्द्रित भएको छ।



