
काठमाडौँ- नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ले निःशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ।
साम्बाले घुँडाको पुनः शल्यक्रियाका लागि आर्थिक सहयोगको अपिल गरेलगत्तै ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रुद्र मरासिनी ले यस्तो प्रतिबद्धता जनाएका हुन्।
डा. मरासिनीले साम्बाको उपचारबारे डा. सुधा शर्मा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा सँग छलफल गरेपछि स्वदेशमै निःशुल्क उपचार सम्भव रहेको जानकारी दिएका छन्।
‘पैसा खोज्दै विदेश जानु पर्दैन,’ उनले सञ्चार माध्यमसँग भने, ‘घुँडाको लिगामेन्ट (एसीएल, पीसीएललगायत) को शल्यक्रिया राष्ट्रिय ट्रमा सेन्टरमा नियमित रूपमा र न्यून लागतमा हुँदै आएको छ। हामीले थुप्रै खेलाडीको सफल शल्यक्रिया गरिसकेका छौँ।’
डा. मरासिनीका अनुसार साम्बाले विश्वास गरेमा ट्रमा सेन्टर उत्कृष्ट परिणामसहित पूर्ण रूपमा निःशुल्क शल्यक्रिया गर्न तयार छ।
यसअघि सोमबार साम्बाले सार्वजनिक सूचना जारी गर्दै गम्भीर चोटका कारण सात हप्तादेखि मैदानबाहिर रहनु परेको र पुनः शल्यक्रिया गर्नुपर्ने अवस्था आएको जानकारी दिएकी थिइन्। उनका अनुसार अघिल्लो पटक गरिएको एसीएल शल्यक्रियाको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ।
अघिल्लो उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहयोग गरे पनि यसपटक प्रतिबद्धताअनुसार सहयोग नपाएको उनको गुनासो छ। उपचार खर्चिलो हुने देखिएपछि बाध्य भएर आर्थिक सहयोगका लागि अपिल गर्नुपरेको उनले उल्लेख गरेकी छन्।
यसअघि कतारस्थित अस्पतालमा उपचार गराएकी साम्बाले चोट गम्भीर रहेकाले पुनः सोही अस्पतालमा उपचार गराउने इच्छा व्यक्त गरेकी छन्। क्लबले बीमाबाट प्राप्त रकम उपलब्ध गराउने तयारी गरे पनि शल्यक्रिया र ७–८ महिनाको पुनर्स्थापनाका लागि आवश्यक करिब ८० हजार अमेरिकी डलर खर्च अपुग हुने देखिएको छ।
हाल न्युजिल्यान्ड र अष्ट्रेलियामा क्लब फुटबल खेल्दै आएकी भण्डारीले देशका लागि सधैं शतप्रतिशत दिएको र आगामी दिनमा पनि नेपालको जर्सी लगाएर फर्कने दृढता व्यक्त गरेकी छन्। उनले नेपाल तथा विदेशमा रहेका समर्थकलाई बैंक, क्यूआर कोड तथा अनलाइन लिंकमार्फत सहयोग गर्न आग्रह गरेकी छन्।


