पाल्पा – जिल्लाको सरकारी अस्पतालमा उपचार सेवाको विस्तार, औषधि सहज उपलब्धता र चिकित्सकहरूको नियमित उपस्थितिसँगै बिरामीको चाप उल्लेख्य रूपमा बढ्न थालेको छ। तर बिरामी संख्या बढ्दै जाँदा पाल्पा अस्पतालमा भौतिक संरचना अपुग हुँदा मापदण्डअनुसार सेवा दिन कठिनाइ उत्पन्न भएको छ।
सेवाको गुणस्तर सुधार भएसँगै दैनिक करिब ६ सयसम्म बिरामी पाल्पा अस्पतालबाट सेवा लिन आउने गरेका छन्। तर अस्पताल अझै राणाकालीन समयदेखिकै पुरानो भवनमा सञ्चालन हुँदै आएको छ। पुरानै संरचनामा कोठा थप्ने र खाली ठाउँमा अस्थायी कोठा बनाएर सेवा दिइरहँदा अस्पताल व्यवस्थापनमा थप दबाब परेको छ। पटक–पटक नयाँ भवन निर्माणका लागि पहल भए पनि सरकारी मापदण्डका कारण प्रक्रिया अन्यौलमा परेको अस्पताल प्रशासन बताउँछ।
यसअघि अस्पतालको नयाँ भवन निर्माणका लागि कम्तीमा १२ रोपनी जग्गा चाहिने सरकारी मापदण्ड तोकिएकाले निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो। यही कारणले सेवा विस्तारसँगै भौतिक संरचना मुख्य चुनौती बनेको छ।
अस्पतालमा कोठाको अभावका कारण एउटै कोठामा २–३ जना चिकित्सक बसेर बिरामी जाँच गर्नुपर्ने अवस्था छ, जसले चिकित्सक र बिरामी दुवैलाई असहज बनाएको छ। हाडजोर्नी, स्त्रीरोग, फिजियोथेरापी, आँखा, दाँत तथा कल्चर ल्याबसहितका विशेषज्ञ सेवा सञ्चालनमा आए पनि सेवा प्रवाहका लागि आवश्यक पर्याप्त कोठा नहुनु अस्पतालको मुख्य समस्या रहेको छ।
अस्पताल सञ्चालनका लागि पहिलो प्राथमिकता भौतिक पूर्वाधार, दोस्रो जनशक्ति र तेस्रो उपकरण आवश्यक पर्ने पाल्पा अस्पतालका मेडिकल सुपरिटेण्डन डा. राजेन्द्र पौडेलले बताए। उनका अनुसार पाल्पा अस्पतालमा हाल सबैभन्दा ठूलो अभाव भौतिक पूर्वाधारकै रहेको छ।
विशेषज्ञ चिकित्सकमार्फत गुणस्तरीय उपचार सेवा दिइरहेकाले स्वास्थ्य बीमा भएका करिब ७० प्रतिशत बिरामीको उपचार पाल्पा अस्पतालमै हुने गरेको छ। लुम्बिनी प्रदेशका ११ जिल्ला अस्पतालमा अप्रेसन सेवा सञ्चालनमा आए पनि कोठा अभावकै कारण पाल्पा अस्पतालमा भने शल्यक्रिया सेवा सुरु हुन सकेको छैन। आधुनिक उपचार सेवा थप गर्न पनि संरचनागत कमजोरी बाधक बनेको छ।
पाल्पा अस्पताल विकास समितिले ५० शय्या अस्पताल सञ्चालन गर्न सकिने मापदण्डअनुसार भवन निर्माणको अनुमति दिन प्रदेश र संघीय सरकारसँग माग गरेको छ। अस्पतालसँग हाल ८ रोपनी जग्गा रहेकाले बहु–तले भवन निर्माण सम्भव हुने भन्दै हालको कानुनी जटिलता संशोधन गर्न संघीय सरकारले पहल गर्नुपर्ने समितिको माग छ।
कानुनी जटिलता हटाउन पहल भइरहेको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले बताए। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले ८ रोपनी जग्गामै अस्पताल भवन निर्माण गर्न सकिने व्यवस्था गरे पनि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अझै स्पष्ट निर्णय हुन बाँकी रहेको छ।
राणाकालीन भवनमै सञ्चालन हुँदै आएको पाल्पा अस्पतालमा नयाँ भवन निर्माणसम्बन्धी कानुनी बाधा हटेमात्रै सरकारी अस्पतालबाट पाल्पालीले पाउने गुणस्तरीय स्वास्थ्य सेवामा उल्लेख्य सुधार आउने देखिन्छ।







