काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो चुनावी घोषणापत्रमार्फत देशभरका सबै विद्यालयमा अध्ययनरत किशोरीहरूलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। किशोरीहरूको स्वास्थ्य, सरसफाइ र विद्यालय उपस्थितिमा सुधार ल्याउने उद्देश्यसहित यो कार्यक्रम अघि सारिएको हो।
एमालेले घोषणापत्रमा किशोरीहरूले मासिक धर्मका कारण विद्यालय जान छोड्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य राख्दै स्यानिटरी प्याड सहज र नियमित रूपमा उपलब्ध गराइने उल्लेख गरेको छ। यसले किशोरीहरूको आत्मविश्वास बढाउने र विद्यालय शिक्षामा निरन्तरता कायम गर्न सहयोग पुग्ने पार्टीको विश्वास छ।
घोषणापत्रमा कक्षा १० सम्म अध्ययनरत सबै विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरिने प्रतिबद्धता पनि समेटिएको छ। दिवा खाजा कार्यक्रममार्फत विद्यार्थीको पोषण अवस्था सुधार गर्नुका साथै विद्यालयमा नियमित उपस्थितिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
एमालेले शिक्षा क्षेत्रमा स्वास्थ्य र पोषणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमले विद्यालय शिक्षा प्रणालीलाई थप समावेशी, सुरक्षित र विद्यार्थीमैत्री बनाउने दाबी गरेको छ। पार्टीका अनुसार विद्यालयमैत्री वातावरण निर्माण गरी बालबालिकाको शैक्षिक गुणस्तर र समग्र विकासमा टेवा पुर्याउने लक्ष्य लिइएको हो।







