नेपालगन्ज- बाँकेका सीमावर्ती बजारमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय कुखुराको अण्डा फेला परेको छ।
नेपालगन्जको जमुनाह क्षेत्रमा खटिएको संयुक्त बजार अनुगमन टोलीले विभिन्न पसलहरूबाट अवैध रूपमा भित्र्याइएको भारतीय सेतो अण्डा बरामद गरेको हो। पशु क्वारेन्टाइन कार्यालय बाँकेका अनुसार पन्छी तथा पन्छीजन्य पदार्थ आयातमा प्रतिबन्ध लागिरहेको अवस्थामा ती अण्डा पसलहरूमा बिक्रीका लागि राखिएको पाइएको हो।
अनुगमनका क्रममा बरामद अण्डा कारबाहीस्वरूप जफत गरी नष्ट गरिएको कार्यालयले जनाएको छ। पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डा हरेराम यादवले अवैध आयात नियन्त्रण र जनचेतना फैलाउने उद्देश्यले बजार अनुगमन तीव्र बनाइएको बताए। उनका अनुसार विगत करिब १० वर्षदेखि भारतबाट पन्छी तथा पन्छीजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाइएको छ।
संयुक्त अनुगमन टोलीले १७ भन्दा बढी मासु पसल, होटल तथा खुद्रा पसलमा अनुगमन गर्दा १५ क्यारेटभन्दा बढी अण्डा बरामद गरी नष्ट गरेको जनाएको छ। अनुगमन टोली अचानक बजारमा पुगेपछि केही पसल सञ्चालकले पूर्वसूचना नदिई अनुगमन गरेको भन्दै असन्तुष्टि जनाउँदै केहीबेर विवादसमेत गरेका थिए।
यस विषयमा पशु सेवा विज्ञ केन्द्र बाँकेका वरिष्ठ पशु चिकित्सक डा गणेश पुनले अनुगमनको पूर्वसूचना दिँदा कमजोरी लुकाउने प्रयास हुने भएकाले आकस्मिक अनुगमन आवश्यक रहेको बताए।
पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख यादवको नेतृत्वमा भएको अनुगमनका क्रममा केही मासु पसल दर्ता बिना सञ्चालन भएको, सरसफाइमा लापरबाही गरिएको, नवीकरण नगरिएको तथा बिलबिजकसमेत व्यवस्थित नराखिएको पाइएको छ।
अनुगमन टोलीले व्यावसायिक कुखुरा फार्महरूको पनि निरीक्षण गरेको थियो। सो टोलीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्ज, घरेलु तथा साना उद्योग महासङ्घ, नेपालगन्ज उपमहानगरपालिकाको पशु सेवा शाखा, सीमा सुरक्षा गुल्म जमुनाह, बोर्डर आउट पोस्ट जयसपुर, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा इलाका प्रहरी कार्यालय जमुनाहका प्रतिनिधिहरू सहभागी थिए।







